Spread the love

पेम्बा गेलु शेर्पा/५ मे २०२५ – नेपाल आदिवासी जनजाति महासङ्घ पोर्तुगलको आयोजनामा आगामी १२ मे २०२५, सोमबार का दिन २५६९ औँ बुद्ध जयन्ती पोर्तुगलको राजधानी लिस्बनमा भव्य रूपमा मनाइने भएको छ। “बुद्ध नेपालमा जन्मिएका हुन्” भन्ने मूल सन्देशका साथ आयोजना गरिने यस विशेष कार्यक्रममा शोभायात्रा तथा र्‍याली समेत समावेश गरिनेछ।

कार्यक्रम प्रासा दि कमर्सियो बाट दिउँसो ३ बजे सुरु हुनेछ। शेर्पा किदुक पोर्तुगलका अध्यक्ष राजेन्द्र शेर्पा का अनुसार, प्रत्येक वर्षझैँ यस वर्ष पनि बुद्ध जयन्तीको अवसरमा विशेष पूजा–पाठ सहित बौद्ध सभ्यता र शान्तिको सन्देश फैलाउने उद्देश्यले शोभायात्रा आयोजना गरिँदैछ।

बुद्धको दर्शनले मानव समाजमा शान्ति, करुणा र अहिंसा को मार्ग देखाउँदै सामाजिक सद्भाव र आत्मचिन्तनको प्रेरणा दिएको उल्लेख गर्दै, आयोजकहरूले यो उत्सवले सबैलाई नैतिक मूल्य र मानवता प्रति सजग बनाउने विश्वास व्यक्त गरेका छन्।

नेपाल आदिवासी जनजाति महासङ्घ पोर्तुगल कार्यक्रमका मुख्य आयोजक हुन् भने सह–आयोजकका रूपमा NRNA NCC पोर्तुगल, महिला एशिसियशन पोर्तुगल, विभिन्न राजनीतिक दलका भातृ संगठनहरू, जातीय तथा क्षेत्रीय संघ–संस्थाहरू रहेका छन। कार्यक्रममा पूजा व्यवस्थापनको जिम्मेवारी शेर्पा किदुक पोर्तुगल सहित अन्य जातीय संस्थाहरूले लिएका छन्।

कार्यक्रमको अवसरमा नेपाल र पोर्तुगलका झण्डा, साथै बुद्धको झन्डा तथा उपदेश अंकित प्लेकार्डहरू सहित शोभायात्रा निकालिनेछ। यस आयोजनाको मुख्य उद्देश्य बुद्धको शान्तिको सन्देशलाई विश्वभर फैलाउने रहेको आयोजक समितिले जनाएको छ।

आयोजक समितिले सम्पूर्ण पोर्तुगलवासी नेपाली समुदायलाई सो पवित्र अवसरमा सहभागी भई बुद्धका शिक्षालाई आत्मसात् गर्न हार्दिक आमन्त्रण गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729