नेपाल शेर्पा विद्यार्थी संघद्वारा आयोजित “शेर्पा लोसार साँझ–२१५३ मे फो ता लो ग्याल्पो लोसार” सम्पन्न भएको छ । शनिबार काठमाडौंको अत्तरखेलस्थित कुण्डली पार्टी प्यालेसमा सम्पन्न भएको हो ।
संघका अध्यक्ष आङ निमा शेर्पा (डेभिट) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा धर्मगुरु पल्युल ल्हट्रुल रिन्पोछे प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि धर्मगुरु पल्युल ल्हट्रुल रिन्पोछेले विद्यार्थीहरू भविष्यमा देशको नेतृत्व गर्ने शक्ति भएकाले शैक्षिक ज्ञानसँगै नैतिकता, अनुशासन र नेतृत्व क्षमता विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

लोसारको शुभकामना व्यक्त गर्दै राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष ङिमी शेर्पा ले शेर्पा समुदायको भाषा, धर्म, संस्कृति र परम्परा जोगाउने जिम्मेवारी नयाँ पुस्ताको काँधमा रहेको उल्लेख गर्नुभयो । उहाँले शिक्षा, सीप र पहिचानको संरक्षणलाई सँगसँगै अघि बढाउँदा मात्र समुदाय सशक्त बन्ने धारणा राख्नुभयो ।
नेपाल शेर्पा विद्यार्थी संघ एक गैरराजनीतिक, विशुद्ध सामाजिक संस्था हो । स्थापनाकालदेखि नै संघले शेर्पा विद्यार्थी तथा समुदायको शैक्षिक उन्नति, समयानुकूल रूपान्तरण र अधिकार सुनिश्चितताका लागि विभिन्न रचनात्मक कार्यक्रम, छात्रवृत्ति वितरण, खेलकुद तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष डेभिट शेर्पाले बताउनुभयो । साथै भाषा, धर्म, संस्कृति र परम्पराको संरक्षण तथा संवद्र्धनमा संघले निरन्तर भूमिका खेल्दै आएको समेत जानकारी दिनुभयो ।
कार्यक्रममा ग्लोबल शेर्पा संघकी उपाध्यक्ष आङ गेल्मु शेर्पा, नेपाल शेर्पा संघका अध्यक्ष लाक्पा ठिन्ले शेर्पा, पर्यटनविद् आङछिरिङ शेर्पा तथा धर्मगुरु खेन्पो आचार्यहरूले समेत लोसारको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमअघि “ग्याल्पो लोसार र शेर्पा समुदायको भाषा, धर्म, संस्कृति तथा पहिचान संरक्षणमा यसको भूमिका” विषयमा प्यानल छलफल आयोजना गरिएको थियो । छलफलमा नेपाल शेर्पा संघका उपाध्यक्ष दावा शेर्पा, धर्मगुरु खेन्पो फुर्पा शेर्पा, सिद्धार्थ बैंकका शाखा प्रमुख निमा ग्याल्जेन शेर्पा र शेर्पा सञ्चार समूह नेपालकी कार्यवाहक अध्यक्ष डोल्मा शेर्पा सहभागी हुनुहुन्थ्यो । उक्त छलफलको सहजीकरण पासाङ माया शेर्पा ले गर्नुभएको थियो ।
प्यानलमा वक्ताहरूले ग्याल्पो लोसार केवल धार्मिक चाड मात्र नभई समुदायको सामाजिक एकता, सांस्कृतिक निरन्तरता र पहिचान संरक्षणको महत्वपूर्ण आधार भएको धारणा राख्नुभयो ।
सोही अवसरमा शेर्पा समुदायबाट प्राविधिक क्षेत्रमा डिग्री हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो ।
नेपाल शेर्पा विद्यार्थी संघका महासचिव पेमा दोर्जी शेर्पाले लोसार साँझ सांस्कृतिक प्रस्तुति, शुभकामना आदान–प्रदान तथा सामुदायिक भेटघाटका कार्यक्रमसहित सम्पन्न भएको बताउनुभयो ।





