0Shares

विश्व शेर्पा संघको अध्यक्ष श्री थेण्डुप शेर्पाको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ। उक्त बैठकमा संस्थापक तथा निवर्तमान अध्यक्ष श्री आङ दोर्जी लामा शेर्पा सहित अन्य पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

बैठकले संघका दुई सदस्यहरूको पारिवारिक शोकप्रति समवेदना प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको छ। कार्यसमिति सदस्य पोर्चुगल निवासी श्री धना शेर्पाका पिता श्री पास्नुरी शेर्पाको ९० वर्षको उमेरमा डिसेम्बर १६, २०२५ मा नेपालमा निधन भएको तथा बेल्जियम निवासी अर्का सदस्य श्री आङ दोर्जी सोनाम शेर्पाका पिता धर्मगुरु श्री नुर्वु फिन्जो शेर्पाको ९३ वर्षको उमेरमा मार्च ३०, २०२६ मा नेपालमा स्वर्गारोहण भएकोमा बैठकले श्रद्धाञ्जली अर्पण गरेको छ।

यसैगरी, शेर्पा किदुग बेल्जियमको जनवरी २६ मा सम्पन्न अधिवेशनबाट श्री दावा फिन्जो शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएकोमा बधाई तथा शुभकामना प्रस्ताव पारित गरिएको छ। बैठकमा संघअन्तर्गत सञ्चालनमा रहेका विभिन्न समितिहरूको गतिविधिबारे जानकारी समेत प्रस्तुत गरिएको थियो।

बैठकले आगामी विश्व शेर्पा सम्मेलन तथा महाधिवेशन अक्टोबर ८ मा भारतको दार्जिलिङमा आयोजना गर्ने निर्णय गरेको छ। हरेक तीन वर्षमा आयोजना हुने उक्त सम्मेलनलाई भव्य र सफल बनाउन आवश्यक तयारी अघि बढाइने जनाइएको छ।

त्यस्तै, शेर्पा किदुग न्यूयोर्कले लोसार पर्व निर्धारित तिथिभन्दा करिब दुई महिना पछि “लोसार ल्हप्सो” नाममा कार्यक्रम आयोजना गरेकोप्रति बैठकले गम्भीर ध्यानाकर्षण जनाएको छ। यसले शेर्पा समुदायमा अन्योल तथा विभाजन सिर्जना गर्न सक्ने भन्दै वास्तविक तिथिमितिअनुसार चाडपर्व मनाउने संघको नीतिविपरीत रहेको उल्लेख गर्दै सम्बन्धित संस्थालाई सच्याउन पत्राचार गर्ने निर्णय गरिएको छ।

बैठकले प्रत्येक तीन वर्षमा आयोजना हुने सम्मेलनका अवसरमा एक जनालाई “शेर्पा रत्न” र तीन जनालाई “शेर्पा तारा” उपाधिबाट सम्मानित गर्ने निर्णय पनि गरेको छ। सम्मानका लागि छनोट प्रक्रिया तय गर्न अध्यक्ष, सचिव तथा प्रवक्तालाई जिम्मेवारी दिइएको छ भने आगामी बैठकमा छनोट समिति गठन गरिने जनाइएको छ।

यसका साथै, सन् २०२६ मा संघको नेतृत्व अमेरिका लैजाने प्रस्तावका सन्दर्भमा समेत छलफल भएको छ। अमेरिकामा अध्यागमन नीति कडा तथा भिसा प्रक्रिया जटिल रहेको कारण अन्तर्राष्ट्रिय सहभागितामा असर पर्न सक्ने भन्दै यसपटक नेतृत्व यूरोपलाई दिने र आगामी तीन वर्षपछि परिस्थितिअनुसार अमेरिका नेतृत्व लिन सक्ने प्रस्तावमाथि थप छलफल गर्ने निर्णय गरिएको छ।
उक्त निर्णयहरू महासचिव आङ जाङ्बु शेर्पाद्वारा सार्वजनिक गरिएको हो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729