
सोनाम याङजी शेर्पा
काठमाडौं, असार १ — नेपाल शेर्पा संघको सातौँ महाधिवेशन यही असार १ र २ गते हुने पक्का भएसँगै संघको नयाँ नेतृत्व चयनको तयारीका लागि बहस सुरु भएको छ । स्थापना कालदेखि शेर्पा समुदायको पहिचान, जातीय अधिकार, र सामाजिक उत्थानको सवालमा क्रियाशील रहँदै आएको संघ अहिले नेतृत्वको निर्णायक मोडमा उभिएको छ ।

यसपटक अध्यक्ष पदका लागि तीन जना उम्मेदवारको प्रतिस्पर्धा देखिएको छ । स्वतन्त्र उम्मेदवार तेन्जी शेर्पा, नेकपा एमाले समर्थित ङवाङ सोनाम शेर्पा, र नेपाली कांग्रेस समर्थित लाक्पा ठिलेन शेर्पा । तीनै उम्मेदवार आ–आफ्नो राजनीतिक, सामाजिक र संस्थागत पृष्ठभूमि बोकेर महाधिवेशनमा प्रस्तुत हुँदै गर्दा शेर्पा समुदायभित्र गम्भीर बहस सुरु भएको छ ।
हाल उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका स्वतन्त्र उम्मेदवार तेन्जी शेर्पाले १६ बुँदे घोषणापत्रसहित उम्मेदवारी घोषणा गरेका छन् । उनी संघको हालको नेतृत्व टोलीमा रहेर भवन संरचना, हल व्यवस्थापन, र सहयोगी दाताको नाम संलग्न सिला लेखमा नेतृत्वदायी भूमिका निभाएका छन् । शेर्पाको घोषणापत्रमा संघीय संरचनाअनुसार शेर्पा स्वायत्त प्रदेशको स्थापना, भाषा, धर्म, संस्कृति संरक्षण, युवा, महिला तथा सञ्चार क्षेत्रको सशक्तीकरण, जलवायु परिवर्तन, सरकारी संयन्त्रमा शेर्पा सहभागिता, र राजनीतिक प्रशिक्षणका विषयलाई प्राथमिकतामा राखिएको छ ।
तेन्जी शेर्पाको अभियानले समुदायभित्र स्पष्ट राजनीतिक हस्तक्षेपको आलोचना गर्दै संघलाई स्वतन्त्र र मूलधारको आवाजको संस्थागत केन्द्रका रूपमा परिभाषित गर्न खोजेको देखिन्छ । उनले सार्वजनिक रूपमा संघ कुनै पनि पार्टीको शाखा बन्नु हुँदैन भन्ने अठोट दोहोर्याउँदै आएका छन् ।
दोस्रोतर्फ, एमालेको समर्थनमा रहेका ङवाङ सोनाम शेर्पा संघको महासचिवको भूमिका निर्वाह गरिसकेका वरिष्ठ उपाध्यक्ष हुन् । उनी विगतमा सहमतिको आधारमा अध्यक्ष पदबाट पछि हटेर वरिष्ठ उपाध्यक्ष बनेका थिए । अहिले उनी राजनीतिक पहुँच र संस्थागत क्षमताको समन्वयमार्फत संघलाई सशक्त बनाउने दृष्टिकोणमा छन् ।
उनले जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय स्तरमा शेर्पा समुदायको उपस्थिति विस्तारलाई पनि आफ्नो प्रमुख एजेन्डा बनाएका छन् । तर, उनको कार्यकालमा भएको छैठौँ संशोधित विधानमा पर्याप्त योगदान नदिएको भन्दै आलोचना हुने गरेको छ । यदि विधानमा आवश्यक प्रावधान समावेश भएको भए वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था हुन सक्ने र यसले नेतृत्वको निरन्तरता सहित अनुभव सँगाल्ने अवसर मिल्ने थियो भन्ने तर्कले अहिले सामाजिक सञ्जालदेखि समुदायका चिया–चौतारोमा चर्चा पाएको छ । तथापि, संघ र स्थानीय सरकारबीच सहकार्य गरेर परियोजना सञ्चालन गर्ने उनको दृष्टिकोण भने सकारात्मक रूपमा लिइएको देखिन्छ ।
अर्को उम्मेदवार, नेपाली कांग्रेस समर्थित लाक्पा ठिलेन शेर्पा, संघको संघीय सल्लाहकारको रुपमा रहेर लामो समयदेखि समुदायको सेवा गर्दै आएका छन् । पाँचौँ महाधिवेशनमा अध्यक्षका प्रत्यासी रहिसकेका लाक्पा ठिलेले यो पटक ‘संघको संस्थागत क्षमता विस्तार’लाई आफ्नो अभियानको केन्द्रमा राखेका छन् ।
उनी हिमाली भूगोल र भाषाको संरक्षण, सुनिश्चित गर्ने नीति, तथा संघीय संरचनामा शेर्पाहरूको व्यापक उपस्थिति सुनिश्चित गर्न चाहन्छन् । समाजसेवीको रुपमा चिनिने उनको उम्मेदवारीलाई केहीले आफुलाई अविभावकको रुपमा रहेर युवालाई मौका दिनुपर्ने भन्दै आलोचना गरे पनि, अर्कोतर्फ उनले संस्थामा पु¥याएको योगदानको कदर गर्दै अध्यक्षका रूपमा देख्नुपर्ने आवाज पनि उठेको छ ।
महाधिवेशन नजिकिँदै गर्दा तीन उम्मेदवारका घोषणापत्र, अनुभव, संस्थामा पुर्याएको योगदान, तथा राजनीतिक पृष्ठभूमिका विषयमा गहन बहस भइरहेको छ । खासगरी, यो नेतृत्व चयन राजनीतिक हस्तक्षेपबाट निर्देशित हुनेछ कि स्वतन्त्र सोच र समुदायको आवाजबाट यही प्रश्नले अहिले संघको भविष्य निर्धारण गर्नेछ ।
युवावर्ग विशेषगरी उम्मेदवारहरूको एजेन्डा अध्ययन गरेर मात्र नेतृत्व चयन गर्नुपर्ने पक्षमा छन् । तेन्जी शेर्पाका समर्थकले चुनावको माध्यमबाट नेतृत्व चयन हुनुपर्ने माग गरिरहेका छन् भने ङवाङ सोनाम शेर्पालाई समर्थन गर्ने एमाले पक्षले विगतको भद्र सहमतिलाई कार्यान्वयन गर्नु पर्ने जोड दिइरहेका छन् । उता लाक्पा ठिले शेर्पाको पक्ष भने सहमति वा चुनाव भन्ने विषयमा सार्वजनिक रूपमा स्पष्ट धारणा दिएको पाईन्दैन ।
यसरी हेर्दा, सातौँ महाधिवेशन एक निर्णायक मोडमा पुगेको छ । उम्मेदवारको एजेन्डा, कार्यशैली, अनुभव र संस्थामा पुर्याएको योगदानका आधारमा निर्णय हुने हो भने यो महाधिवेशन केवल नेतृत्व परिवर्तनको प्रक्रिया मात्र होइन, शेर्पा समुदायको भावी राजनीतिक, सामाजिक र संस्थागत यात्राको दिशानिर्देशक बन्ने देखिन्छ ।
महाधिवेशनको यो बहस, प्रतिस्पर्धा र सम्भावनाले नेपाल शेर्पा संघभित्र लोकतान्त्रिक अभ्यासको परिपक्वता र समुदायको राजनीतिक चेतनाको विकासलाई संकेत गरिरहेको छ । परिणाम जे भए पनि, यसले शेर्पा समुदायमा व्यापक छलफल र साझा दृष्टिकोण निर्माणको थालनी गरेको छ, जुन आफूभित्रको बहस होस् वा भविष्यप्रतिको अपेक्षा, दुबैलाई सकारात्मक रूपले परिभाषित गर्ने चरणमा संघ प्रवेश गर्दैछ ।