0Shares

यो वर्षको वसन्त याममा सगरमाथा आरोहण गर्न गएकामध्ये १२ जनाको मृत्यु भएको पुष्टि भएको छ । पाँच जना हराइरहेको अधिकारीहरूले बताएका छन्। हराएका व्यक्तिको अवस्था अझै अज्ञात छ । वैशाख ३० गते यो याममा पहिलो पटक सर्वोच्च शिखरमा पर्वतारोहीहरू पुगेका थिए। त्यसपछि जेठ १२ सम्म विभिन्न दिनमा पर्वतारोहीहरू सफलतापूर्वक सगरमाथाको चुचुरोमा पुगेको पर्यटन विभागले जनाएको छ ।

यस पटक चुचुरोतिर जान अनुकूल मौसम भएको समयावधि अर्थात् ‘समिट विन्डो’ तुलनात्मक रूपमा लामो थियो। तर मृत्यु र बेपत्ता भएका १७ घटनामध्ये आधाभन्दा बढी ८,००० मिटरमाथिको ’डेथ जोन’ मा भएको उल्लेख गरिएको छ ।   सगरमाथा आरोहण अनुगमन समितिका संयोजक खिमलाल गौतमले यस पटक हिउँदमा पर्याप्त हिमपात नभएको र ढिलो परेको हिउँ छिटै पग्लिएको हुँदा आरोहणका बेला निकै चिसो अनुभव गरिएको बताउँनुभयो ।  यस पटक सगरमाथा आरोहणका लागि नेपाल सरकारले ४७८ वटा अनुमतिपत्र जारी गरेको थियो।  सगरमाथा आरोहणमा ४४ देशका पर्वतारोही र तिनलाई सघाउन नेपाली शेर्पाहरू संलग्न थिए। पर्वातारोहीको सङ्ख्या धेरै भए पनि यस पटक सगरमाथामा “घातक ट्राफिक जाम“को अवस्था भने नदेखिएको दाबी पर्यटन विभागका अधिकारीहरूले गरेका छन्।

सगरमाथामा मृत्यु पुष्टि भएकामध्ये आठ जना चुचुरोसम्म नपुगी मुत्यु भएको  छ । अरू चार जनाको मृत्यु सर्वोच्च शिखरबाट फर्किने क्रममा भएको सरकारी विवरणले देखाउँछ ।पर्यटन विभागको उक्त विवरणअनुसार सबैभन्दा तल झन्डै ६,४०० मिटरको उचाइमा पर्ने ’क्याम्प–टू’ देखि सबैभन्दा माथि झन्डै ८,८०० मिटरको उचाइमा अवस्थित ’हिलरी स्टेप’सम्ममा पर्वतारोहीको ज्यान गएको देखिन्छ ।त्यसैगरी आरोहणका लागि तयारी गरिरहेकै बेला एक महिला पर्वतारोही आधार शिविरमा बिरामी भएपछि उहाँलाई हेलिकप्टरबाट उद्धार गरेर लुक्ला लगिएको थियो। तर उहाँको पनि मृत्यु भयो।  जेठ ५ मा आरोहण गरेर फर्कँदा साउथ समिट, साउथ कोलमा एक–एक जनाले ज्यान गुमाए भने त्यसै दिन क्याम्प–फोरमा एक जनाको शिखरमा नपुगी मृत्यु भएको पर्यटन विभागको विवरणले देखाउँछ ।

चिसो धेरै हुँदा कतिपय आरोहीहरूले आफ्नो शरीरलाई न्यानो बनाइराख्न उच्च मात्रामा अक्सिजन खपत गर्ने र त्यसले छिट्टै त्यो सकिने जोखिम रहने बताइन्छ । उच्च हिमाली क्षेत्रयमा प्रायः देखिने त्यस्तो अवस्थालाई इङ्गित गर्दै पर्यटन विभागका पर्वतारोहण हेर्ने निर्देशक युवराज खतिवडाले समेत “प्रतिकूल मौसम हुँदा आरोहीहरूमा शारीरिक दुर्बलता“ हुने सम्भावना धेरै देखिएको विवरण आएको बताउँनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729