श्री बौद्धनाथ क्षेत्र विकास समितिको आयोजनामा “पर्यटन प्रवद्र्धनात्मक बृहत अन्तरक्रिया २०८२” कार्यक्रम सम्पन्न भएको छ । सोमबार बौद्धमा आयोजित कार्यक्रममा बौद्ध धर्म, संस्कृति, पर्यटन प्रवद्र्धन तथा नीतिनिर्माणका विषयमा सरोकारवालाबीच छलफल गरिएको हो ।
कार्यक्रम श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पाले गर्नुभएको थियो ।
कार्यक्रममा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मोहन कुमार तामाङले बौद्धनाथ क्षेत्र विकास समितिले हालसम्म गरेका गतिविधि र आगामी योजनाबारे जानकारी दिनुहुँदै धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमार्फत पर्यटन क्षेत्रलाई थप मजबुत बनाउन सकिने बताउनुभयो ।
उद्घाटन सत्रमा समितिले तयार पारेको बृत्तचित्रमार्फत विश्व सम्पदा बौद्धनाथलाई पर्यटनमैत्री बनाउने मास्टर प्लानसमेत प्रस्तुत गरिएको थियो । सो मास्टर प्लानमा महत्वकाँक्षी पुर्वधार विकासका विषयहरु समेटिएका थिए । टुशाल चोकबाट बोद्ध पिपलबोटसम्म अण्डरग्राउण्ड सडक विस्तार गर्न, बौद्धनाथ क्षेत्रमा एकै किसिमका नेवारी शैलीका घरहरु निमार्ण गर्ने रहेका छन ।
दुई चरणमा सम्पन्न कार्यक्रमको दोस्रो सत्रमा प्यानल छलफल आयोजना गरिएको थियो । बौद्ध धर्म, संस्कृति, पर्यटन प्रवद्र्धन तथा नीति निर्माणसम्बन्धी भएको प्यानल छलफलमा राष्ट्रिय सभा सदस्य माननीय सोनाम ग्याल्जेन शेर्पा, नेपाल पर्यटन बोर्ड जनसम्पर्क तथा प्रचार विभागका कार्यवाहक निर्देशक सुनिल शर्मा, नेपाल एसोसिएसन अफ टुर्र एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमार मणी थपलिया, होटल एसोसिएसन नेपाल (हान)का अध्यक्ष विनायक शाह, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डे प्यानलिस्टका रूपमा सहभागी रहनुभएको थियो ।
छलफलमा बौद्ध धर्म–संस्कृतिको संरक्षण, बौद्धनाथ क्षेत्रको दिगो पर्यटन विकास, नीतिगत सुधार तथा निजी–सरकारी सहकार्यका सम्बन्धमा विशेष वहस भएको थियो
सो अवसरमा बोल्दै समितिका अध्यक्ष राजकुमार लामाले बौद्धनाथ बौद्ध धर्मावलम्बीहरूको प्रमुख आस्थाको केन्द्र भएकाले यसको प्रभावकारी प्रवद्र्धन गर्न सके पर्यटन भित्र्याउन र स्थानीय अर्थतन्त्र मजबुत बनाउन सकिने बताउनुभयो । उहाँले सरकारी बजेट र नीतिगत सहयोग पाएमा समितिको मास्टर प्लान कार्यान्वयन गर्न सकिने उल्लेख गर्नुभयो ।
राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पाले सरकारका नीति तथा नियम पर्यटनमैत्री नहुँदा पर्यटन क्षेत्रले अपेक्षित गति लिन नसकेको बताउनुभयो । विमानस्थलदेखि नै कमजोर पूर्वाधारका कारण पर्यटक र पर्यटन व्यवसायी समस्यामा परेको उहाँको भनाइ थियो ।
नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले पर्यटनलाई भाषणमा मात्र सीमित राखेर राज्यको प्राथमिकतामा नपार्दा यस क्षेत्रको विकास अवरुद्ध भएको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रको विकासका लागि प्रविधिको प्रयोग र व्यापक प्रचार–प्रसार हुनुपर्नेमा जोड दिनुभयो ।
हानका अध्यक्ष विनायक शाहले अन्तर्राष्ट्रिय लगानीकर्ताको नेपालप्रतिको चासो बढ्दै गएको बताउँदै काठमाडौँ केन्द्रित तारे होटलहरू हाल सातै प्रदेशमा विस्तार भएको जानकारी दिनुभयो ।
टानका अध्यक्ष सागर पाण्डेले व्यवस्थापन र नेतृत्वको कमजोरीका कारण पर्यटन क्षेत्रमा दीर्घकालीन योजना प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताउनुभयो ।
कार्यक्रममा धर्मगुरु खेन्पो सर्वजीत गोङ्बा तामाङले बौद्ध धर्मको प्रवद्र्धनमार्फत ठूलो संख्यामा पर्यटक भित्र्याउन सकिने भए पनि राज्यको दृष्टिकोण पर्याप्त समावेशी नहुँदा बौद्ध धर्म ओझेलमा परेको टिप्पणी गर्नुभयो ।
यसअघि कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले पर्यटन क्षेत्रको विकास सरकार मात्रको जिम्मेवारी नभई सबै सरोकारवालाको साझा प्रयास आवश्यक रहेको बताउनुभयो। उहाँले आगामी आर्थिक वर्षदेखि पर्यटन क्षेत्रका कार्यक्रमहरू अघि बढाइने आश्वासन दिनुभयो ।
नेपाल पर्यटन बोर्ड जनसम्पर्क तथा प्रचार विभागका कार्यवाहक निर्देशक सुनिल शर्माले पर्यटन बोर्डले आफ्नो नीति नियम भित्र रहेर काम गरिरहेकोले पर्यटन क्षेत्रको उत्थानका लागि पर्यटन बोर्डले सबै व्यवसायिहरुसंग सकरात्मक सहकार्य गरि कार्य गरिरहेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष ङिमी शेर्पा, नेपाल शेर्पा संघका अध्यक्ष ल्हाक्पा ठिलेन शेर्पा, टानका पुर्व महासचिव सरिता तामाङ, लगायत पर्यटन व्यवसायि र बौद्धधर्मका अध्येताहरुले बौल्नुभएको थियो ।




