
–निनाम लोवात्ती, केही समयअघि विभिन्न दैनिक पत्रिका तथा अनलाइनमा प्रकाशित समाचारमा जनाई अनुसार सन् २०२२ मा मुस्ताङ जिल्लामा मात्रै ६५ हजार ९४० जना विदेशी पर्यटक भित्रिए । यो संख्या सन् २०२२ मा समग्रमा मुस्ताङ जिल्लामा पुगेका विभिन्न देशका पर्यटकको संख्या हो । जेजसो भए तापनि मुस्ताङ भ्रमणमा आएका ६५ हजार नौ सय ४० विदेशी पर्यटकमध्ये कोही लमजुङको वेशीसहर हुँदै थोरोङ पास गर्ने रहेका छन् । कोही लमजुङकै वेशीसहर हुँदै विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल हुँदै मेसोकान्त पास गरेर मुस्ताङ निक्लने पर्यटक रहेका छन् । कोही डोल्पाको ध्हो–तराप, साल्दाङ, छार्का भोट हुँदै मुस्ताङ आएका पर्यटक रहेका छन् । कोही चाहिँ धार्मिक पर्यटकहरु रहेका छन् । हुन पनि जस्तै हिन्दु तथा बौद्ध धर्मालम्बीहरु जसले एकपटक आफ्नो जीवन कालमा पुग्नैपर्ने महत्वपूर्ण तीर्थस्थलमध्ये एक पवित्र तीर्थस्थल मान्ने गरेको ‘मुक्तिनाथ धाम’को दर्शन गर्न आएका विदेशी (धार्मिक पर्यटक) पनि रहेका छन् । हो, यही मुक्तिनाथ धामकै कारणले हिन्दु धर्मालम्बीहरुका लागि धार्मिक हिसावले ‘स्वर्ग’ रहेको छ भने भूगोल र प्रकृतिबारे वृहत् ज्ञान भएका र बुझेकाहरुका लागि भगौलिक र प्राकृतिक हिसावले माथिल्लो मुस्ताङ ‘स्वर्ग’ झैँ लाग्ने गरेको छ ।
हो, मुुस्ताङ जिल्लालाई पनि तल्लो र माथिल्लो गरेर दुई भागमा विभाजन गरेर हेर्ने गरिन्छ । जस्तो कि, घासादेखि माथि कागबेनी र मुक्तिनाथ क्षेत्रसम्मका क्षेत्रलाई तल्लो मुस्ताङ भनी चिन्ने गरिन्छ भने कागबेनी र मुक्तिनाथ क्षेत्रमाथि चीनको स्वशासित क्षेत्र तिब्बतको सीमासम्मका क्षेत्रलाई ‘माथिल्लो मुस्ताङ’ भनी चिनिन्छ । खासमा ‘तल्लो मुस्ताङ’को त तल्लो मुस्ताङ भनेपछि नाम सकिजान्छ, अर्को नाम खासै छैन । तर ‘माथिल्लो मुस्ताङ’को नाम भने अनेक रहेका छन् । जस्तै ‘ल्हो मन्थाङ, लो मन्थाङ, फोरबिड्डन किङ्डोम, हिडेन किङ्डोम, मड सिटी, लस्ट किङ्डोम, अप्पर मुस्ताङ, प्याराडाईज मुस्ताङ’ आदि नामले चिनिन्छ, ‘माथिल्लो मुस्ताङ’लाई ।
खासमा भन्नु ‘मुस्ताङ’ जिल्लाको माथिल्लो भेग विसं २०४६ राजनैतिक परिवर्तन अघिसम्म विदेशी पर्यटकका लागि खुल्ला गरिएको थिएन । त्यो वेला मुस्ताङ जिल्लाको माथिल्लो भेगमा विदेशी पर्यटक जान नपाउने भनी निषेध गरिएको भए तापनि अमेरिकी नागरिक तथा पर्यटनकर्मी स्टान आर्मिङटनले लेखेको र, ‘लन्ली प्लानेट’द्घारा प्रकाशित भएको ‘द हिमालय किङ्डोम’ नामक किताबमा जनाईएअनुसार विसं २०४६ सालअघि पनि मुस्ताङ जिल्लाको माथिल्लो भेगमा राजदरबारका शाही पाहुनाहरु भने सुटुक्कै जाने गरेका थिए । त्यस्तै ‘गुगल सर्च’मा सर्च गरेर हेर्दा सन् १९५२ मै स्वीस नागरिक टोनी हागनले पहिलो विदेशी नागरिकको रुपमा मुस्ताङ जिल्लाको माथिल्लो भेग अर्थात् ‘ल्हो मन्थाङ’ भ्रमण गरेका थिए । हुनत उनी संयुक्त राष्ट्र संघ मातहत रहेर नेपालका विकासविदका रुपमा नियुक्त भएर आएका हुनाले तत्कालीन श्री ५ को सरकारले भित्रभित्रै अनुमति दिएको हुनु पर्छ । उनले सो कुरो आपूmले लेखेको एक किताबमा उल्लेख गरेका पनि छन् । त्यस्तै मुस्ताङ जिल्लाको माथिल्लो भेग अर्थात् ‘ल्हो मन्थाङ’ भ्रमण गर्ने दोस्रो व्यक्तिको रुपमा फ्रान्स भन्ने देशका नागरिक ‘माइकल पिसेल’ रहेको देखिन्छन् । उनले सन् १९६४ ताका मुस्ताङ जिल्लाको माथिल्लो भेग अर्थात् ‘ल्हो मन्थाङ’ भ्रमण गरेको देखिन्छ ।
पछिल्लो समय विसं २०४७ मा तत्कालीन श्री ५ को सरकारले निश्चित सर्तहरु सहित मुस्ताङ जिल्लाको माथिल्लो भेगमा विदेशी नागरिकले पर्यटकीय उदेश्यले भ्रमण गर्न पाउने गरी खुल्ला गर्यो । निश्चित सर्त भन्नाले ‘मुस्ताङ जिल्लाको माथिल्लो भेगको भ्रमणमा जान चाहने कुनै पनि विदेशी पर्यटक कम्तिमा २ जना हुनैपर्ने, नेपाल सरकारमा दर्ता भएको ट्रेकिङ एजेन्सीमार्फत मात्रै जान पाउने, एकजना सरकारी सम्पर्क अधिकृत अनिवार्य रुपमा लानैपर्ने । सो सर्त हाल खारेज भैसकेको छ । त्यस्तै १० दिनमा ट्रेकिङ गरी सक्नुपर्ने । तर, आधार खुलाएर थप २ दिन थप्न सकिने । एकजना विदेशी पर्यटक बराबर ७० अमेरिकी डलर सरकारलाई राजस्व तिर्नुपर्ने, एक वर्षमा एक हजारभन्दा बढी विदेशी पर्यटक जान नपाउने, कुनै पनि विदेशी पर्यटकले स्थानीय समुदायलाई सीधै आर्थिक सहयोग तथा चन्दा रकम दिन नपाउने, विदेशी पर्यटकले स्थानीय समुदायलाई आर्थिक सहयोग तथा चन्दा दिनै परे प्रमुख जिल्ला अधिकारीको स्वीकृति अनिवार्य रुपमा लिनैपर्ने’ आदि ईत्यादि सर्तसहित विदेशी पर्यटकलाई मुस्ताङको माथिल्लो भेग भ्रमण गर्नका लागि खुल्ला गरिएको थियो ।
नेपालका अन्य केही हिमाली क्षेत्रमाझैं निषेध गरिएको मुस्ताङ जिल्लाको माथिल्लो भेग अर्थात् ‘ल्हो मन्थाङ’ विदेशी पर्यटकका लागि खुल्ला भएपछि पहिलो वर्ष (सन् १९९२ मा) चारसय ८३ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको माथिल्लो भेगको भ्रमण गरेका थिए । त्यसपछि मुस्ताङको माथिल्लो भेगको भ्रमण गर्न जाने विदेशी पर्यटकको संख्या वर्षैपिच्छे बढ्दै गएर सन् १९९८ मा चार अंक पुग्यो । उक्त वर्ष एक हजार ६६ जना विदेशी पर्यटकले मुस्ताङको ‘ल्हो मन्थाङ’ क्षेत्रको भ्रमण गरेका थिए । तर, दूर्भाग्यवश सो क्रम लामो समयसम्म जारी रहन सकेन । कारण देशमा सरकार–तत्कालीन विद्रोही माओवादीबीच हिंसा–प्रतिहिंसा सुरु भयो । त्यसको असर सँगसँगै मुस्ताङको माथिल्लो भेगमा भ्रमण गर्न जाने विदेशी पर्यटककोे संख्या पनि क्रमश: घट्न थाल्यो । फलस्वरुप सन् २००० देखि पुन: मुस्ताङको माथिल्लो भेगमा भ्रमण गर्न जाने विदेशी पर्यटकको संख्या तीन अंकमा झर्यो । यो क्रम सन् २००६ सम्मै जारी रह्यो । फेरि२०६२/२०६३ मा भएको राजनैतिक परिवर्तनपछि आएको शान्तिसँगै मुस्ताङको माथिल्लो भेगमा जाने विदेशी पर्यटकको संख्या पनि बढेर सन् २००७ देखि पुन: चार अंकमा चढ्यो । सन् २००७ मा एक हजार १५७ जना विदेशी पर्यटकले मुस्ताङको माथिल्लो भेगमा भ्रमण गरेका थिए । त्यस्तै सन् २००८ मा त स्थानीयवासीहरु नै आश्चार्य चकित हुने गरी विदेशी पर्यटकको ठूलो संख्याले मुस्ताङको माथिल्लो भेग भ्रमण गरेका थिए । सो वर्ष विगतका सबै कीर्तिमान तोड्दै दुई हजार १९४ जना विदेशी पर्यटकले मुस्ताङको माथिल्लो भेग भ्रमण गरे ।
सुरुमा मुस्ताङको ‘ल्हो मन्थाङ’ क्षेत्रमा जान चाहने विदेशी पर्यटकका लागि उनीहरुले तिर्नुपर्ने सलामी दस्तुर सात सय अमेरिकी डलर तोकेको थियो । तर सो रकम साह्रै महँगो भएको भनी आवाज उठी रहेपछि र, त्यसको तुलनामा सरकारले केही छुट वा सुविधा चाहिँ नदिएको हुनाले सरकारले सलामी दस्तुर घटाएर पाँच सय अमेरिकी डलरमा झारेको छ । सन् २०२२ मा समग्र मुस्ताङ जिल्ला भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या समग्रमा ६५ हजार ९ सय ४० जना पुग्यो । त्यसमध्ये माथिल्लो मुस्ताङ क्षेत्रमा मात्रै तीन हजार २ सय १२ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् । जुन संख्यालाई धेरै राम्रो संख्या मान्न सकिन्छ ।