सोलुखुम्बु : सगरमाथा हिमपहिरोमा परि मुत्यु भएहरुको शव निकाल्ने प्रयास आज पनि असफल भएको छ । आरोहीहरूको सामान लिएर सगरमाथाको आधार शिविरबाट पहिलो शिविर जाँदै गरेका उनीहरू खुम्बु आइसफल भन्दा माथि र पहिलो शिविरभन्दा केही तल बुधबार हिमपहिरोमा परेर मुत्यु भएकाहरुको शव निकाल्ने प्रयास असफल भएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसी) का अध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो । मौसम खराब हुँदा सगरमाथा आधार शिबिरमा हेलीकप्टर जान नसकेको उहाँले बताउँनुभयो ।
हिजो देखि उद्धारका लागी सिम्रिक एयरको हेलीकप्टर परिचालन भए पनि मौसम खराब हुँदा समस्या भएको उहाँको भनाई छ । मुत्यु हुने तीनै जना खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का थेसुका शेर्पाहरू रहेका छन ।
पाँच हजार सात सय मिटरको उचाइमा भएको दुर्घटनामा ३२ वर्षीय तेन्जिङ शेर्पा, २१ वर्षीय लाक्पा रिता शेर्पा र ४५ वर्षीय बादुरे शेर्पा रहेका छन् । उनीहरू इम्याजिन ट्रेक प्रालिबाट सगरमाथा आरोहणमा गाइडको भूमिकामा रहेका थिए । शव निकाल्न एसपीसीसीको टोली घटनास्थलमा गए पनि शवहरु खोंचमा भएका कारण उद्धार प्रयास असफल भएको छ ।वसन्त ऋतुको आरोहण सिजनको सुरुवातमै सगरमाथामा मानवीय क्षति भएको हो
: soluFM




