सोलुखुम्बु : विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित खुम्बु क्षेत्रमा पर्यटकको चहलपहल सुरु भएको छ । चिसो सिजनमा सुनसान बनेको खुम्बु क्षेत्रमा फागुन लागेसँगै चहलपहल बढ्न थालेको स्थानीयले बताएका छन् । जाडो छल्न काठमाण्डौँ लगायत अन्य क्षेत्रमा गएका स्थानीयवासीहरु पनि फागुन लागेसँगै धमाधम फर्किन थालेका छन ।
अहिले खुम्बुमा विदेशी पर्यटकहरु समेत फाट्टफुट्ट देखिन थालेको उहाँले बताउँनुभयो । खुम्बु भित्रिनेको संख्या बढेसँगै केही दिनयता तेन्जीङ हिल्लारी विमानस्थल लुक्लामा उडान तथा अवतरणको संख्यामा बृद्धि भएको छ ।
चिसो क्रमश घट्दै गएसँगै पर्यटक तथा स्थानीयवासी फर्किन थालेकाले विमानस्थलमा यात्रुको चाप वृद्धि भएको नागरिक उड्यायन प्राधिकरण लुक्लाका कर्मचारी सागर कडेलले बताउँनुभयो ।
उहाँका अनुसार लुक्लामा सोमबार आज ६ वटा उडान भएको छ । विमान मार्फत् दैनिक १०० जनाको हाराहारीमा यात्रु भित्रिने गरेका छन् । लुक्लाबाट फर्किने यात्रु शुन्य भएपनि भित्रिने यात्रुको संख्या बढिरहेको नागरिक उड्यान प्राधिकरण लुक्लाले जनाएको छ ।
सोमवार तारा एयरलाईन्सको ३ वटा र सिता एयरको ३ वटा उडान मार्फत् करिब ९० जना यात्रु खुम्बु भित्रिएको प्राधिकरणले जनाएको छ । भित्रिने यात्रुमा स्थानीयवासी र विदेशी तथा स्वदेशी पर्यटकहरु रहेको उहाँले बताउनुभयो । खुम्बुमा वर्षमा दुई सिजन असोज, कात्तिक मंसिर र चैत्त, बैशाख, जेठलाई मुख्य पर्यटकिय सिजन मानिन्छ ।
:SoluFM




