सोलुखुम्बु : आसान्न मंसिर ४ गते हुने आम निर्वाचनमा सोलुखुम्बुमा ३ पदका लागी २० जना चुनावी मैदानमा उत्रिएका छन । प्रतिनिधिसभा सदस्यका लागि ८ जना, प्रदेशसभा ’क’ का लागि ६ र ’ख’ का लागि ६ जना गरि २० जना चुनावी मैदानमा उत्रिएका हुन । बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको अन्तिम नामवली अनुसार जिल्लामा २० जना उम्मेद्वारहरु कायम रहेका हुन् । प्रदेश सभा ’क’ मा ७ जनाको उम्मेदवारी परेकोमा नेकपा एकिकृत समाजवादीका भिम कुमार शर्मालेले उम्मेदवारी फिर्ता लिएसँगै २० जना उम्मेदवारको संख्या कायम भएको साहायक निर्वाचन अधिकृत नगेन्द्रकुमार कालाखेतीले जानकारी दिनुभयो ।
संघीय संसद प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका मानबीर राई र पांचदलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका बलबहादुर केसीले उम्मेदवारी दर्ता गराएका छन्। एमाले केन्द्रीय सदस्य समेत रहेका राई पूर्बजिल्ला कमिटी अध्यक्ष समेत हुन्। केसी पूर्बमन्त्री र कांग्रेस केन्द्रीय सदस्य हुनुहुन्छ । केसी यसअघि ४ पटक प्रतिनिधिसभा सदस्यमा निर्बाचित र दुई पटक जिल्लाबाट पराजित हुनुभएको थियो ।यसैगरी, नेपाल मजदुर किसान पार्टीका तारानाथ जमरकट्टेल, जनता समाजबादी पार्टीका लाक्पा शेर्पा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका लह्मु शेर्पा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञानेन्द्रबहादुर बस्नेत,नेकपा मालेका बिष्णु बास्तोला र नेशनल मंगोल अर्गनाइजेसनका सौबी राईले पनि प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशसभा सदस्यका लागि नेकपा एमालेका तर्फबाट निर्बाचन क्षेत्र ’क’ मा उत्तमकुमार बस्नेत र ’ख’ मा बुद्धिकुमार राजभण्डारीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उहाँहरू दुबै निबर्तमान प्रदेश १ सांसद समेत हुनुहुन्छ । ०७४ सालको निर्बाचनमा कांग्रेस उम्मेदवारहरुलाई पराजित गर्दै प्रदेश सभामा निर्बाचित भएपछि राजभण्डारी नेकपा एमाले प्रदेश नं १ संसदीय दलका प्रमुख सचेतक र बस्नेतले राज्यमन्त्रीको जिम्मेवारी पाउनुभएको थियो । यसैगरी जिल्लाको प्रदेश निर्बाचन क्षेत्र ’क’ मा नेकपा माओवादी केन्द्रले गोम्बु शेर्पा ’कर्ज्याङ’, राप्रपा बाट प्रदेश ’क’ मा नरबहादुर बस्नेत,नेमकिपाले कमलबहादुर मगर, नेमकिपाले चेतनाथ खनाल, जसपाले भक्तबहादुर राई र ’मंगोल नेशनल अर्गनाइजेसनले खेमकुमार राईलाई उम्मेदवार बनाएको छ भने प्रदेश निर्बाचन क्षेत्र ’ख’ बाट माओवादी केन्द्रले शिबकुमार बस्नेत ’राजेन्द्र’ राप्रपाले प्रेमहरी दाहाल, नेमकिपाले कमल बहादुर मगर ,जसपाले महेश कुमार रानामगर र मंगोल नेशनल अर्गनाइजेसनले शान्तिमाया रानामगरलाई उम्मेदवार बनाएको छ ।




