सिक्किममा कार्यरत शेर्पा कर्मचारीहरूको पहिलो ऐतिहासिक अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
डेन्जोङ शेर्पा एम्प्लोइज वेलफेयर सोसाइटीको आयोजनामा अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा विभिन्न तह र सेवामा कार्यरत शेर्पा कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले एकता, आपसी सद्भाव र समुदायको उन्नतिप्रतिको प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रमले पेशागत सम्बन्ध सुदृढ बनाउनुका साथै शेर्पा समुदायको प्रगति र कल्याणका लागि साझा जिम्मेवारीलाई थप मजबुत बनाएको आयोजकले बताएको छ ।
कार्यक्रममा सिक्किम राज्य विधानसभाका सभामुख एम.एन. शेर्पा प्रमुख अतिथिको रहनुभएको थियो भने डेन्जोङ शेर्पा एसोसिएसनका अध्यक्ष सङ्गे शेर्पा विशेष अतिथिको रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा उपस्थित अतिथिहरूले यस्तो पहलले समुदायमा सकारात्मक ऊर्जा र सहकार्यको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका थिए।

डेन्जोङ शेर्पा एसोसिएसनले कार्यक्रमको सफल आयोजनाका लागि आयोजक संस्था तथा योगदान पुर्याउने सम्पूर्ण व्यक्तिहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ।
यस कार्यक्रमलाई शेर्पा पेशाकर्मीहरूबीच सशक्त संस्थागत सञ्जाल निर्माणतर्फको महत्वपूर्ण सुरुवातको रूपमा हेरिएको छ। आयोजक संस्थाले आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।





