
बेलायतमा बसोबास गर्दै आएका शेर्पा समुदायले २१५३औँ ग्याल्पो ल्होसार (मे फो त ल्हो—अग्नि पुरुष घोडा वर्ष) विशेष उत्साहका साथ मनाउने भएका छन् ।
शेर्पा संघ बेलायतको आयोजनामा कार्यक्रम आगामी शनिबार, २८ फेब्रुअरी २०२६ मा लन्डनस्थित एशियन कम्युनिटी सेन्टर, ह्वाइट हार्ट लेन, प्लमस्टेड, SE18 1DG मा दिउँसो १:०० बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।

शेर्पा समुदायमा ग्याल्पो ल्होसारलाई नयाँ वर्षको प्रारम्भका रूपमा मनाइन्छ । यो पर्व परम्परागत संस्कृति, भाषा, भेषभूषा, नृत्य–संगीत तथा सामुदायिक एकताको उत्सवका रूपमा विशेष महत्व राख्छ। प्रवासमा रहेका शेर्पाहरूका लागि यो आफ्नो मौलिक पहिचानलाई संरक्षण र प्रवर्द्धन गर्ने महत्वपूर्ण अवसर मानिन्छ ।
आयोजकका अनुसार कार्यक्रममा यूकेभर बसोबास गर्ने शेर्पा तथा हिमाली समुदायका सदस्य, परिवारजन र शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहनेछ । कार्यक्रममा परम्परागत शेर्पा तथा नेपाली सांस्कृतिक प्रस्तुति, मौलिक पोशाक प्रदर्शन, जीवन्त नृत्य–संगीत, स्वादिष्ट खानपान तथा सामुदायिक मेलमिलापका विविध कार्यक्रम समावेश गरिनेछन ।
कार्यक्रममा सहभागी हुन इच्छुक सबैलाई अनलाइनमार्फत समयमै टिकट खरिद गर्न आग्रह गरिएको छ। अनलाइन टिकट खरिदको अन्तिम समय २६ फेब्रुअरी २०२६, राति ११:५९ बजे सम्म तोकिएको छ । त्यसपछि स्थलमै टिकट उपलब्ध हुने भए पनि प्रत्येक श्रेणीमा £५ अतिरिक्त शुल्क लाग्नेछ ।
अनलाइन टिकट खरिदका लागि संघको आधिकारिक वेबसाइट वा उपलब्ध क्यूआर (QR) कोड प्रयोग गर्न सकिने जनाइएको छ। समयमै टिकट सुरक्षित गर्दा राम्रो सिट व्यवस्थापन तथा कार्यक्रम सञ्चालनमा सहजता हुने आयोजकको भनाइ छ ।
संघले सम्पूर्ण शेर्पा तथा शुभेच्छुकहरूलाई यस ऐतिहासिक समारोहमा सक्रिय सहभागिता जनाई कार्यक्रमलाई अझ भव्य र स्मरणीय बनाउन अपिल गरेको छ ।




