0Shares

ग्लोबल शेर्पा एसोसिएसनले २०२६ फेब्रुअरी १८ मा मनाइने ग्याल्पो लोसारको अवसरमा विश्वभर रहेका सम्पूर्ण शेर्पा समुदायमा हार्दिक शुभकामना व्यक्त गरेको छ।

एसोसिएसनको कार्यसमितिको तर्फबाट जारी गरिएको शुभकामना सन्देशमा ग्याल्पो लोसारलाई शेर्पा समुदायको ऐतिहासिक, आध्यात्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्वका रूपमा उल्लेख गरिएको छ। चन्द्र पात्रो अनुसार नयाँ वर्षको सुरुवातको प्रतीक मानिने यस पर्वले आत्मचिन्तन, नविकरण र सामूहिक एकताको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको छ।

सन्देशमा ग्याल्पो लोसारको उत्पत्ति प्राचीनकालमा हिमालका देवदेवीलाई प्रसन्न पार्न गरिने धूप–धुवाँ (पूजा) परम्पराबाट भएको उल्लेख गरिएको छ। समयक्रमसँगै विकसित हुँदै आएको यो पर्व आज शेर्पा समुदायको पुर्ख्यौली विरासत, धार्मिक आस्था र सांस्कृतिक पहिचानको सशक्त प्रतीकका रूपमा स्थापित भएको जनाइएको छ।

ग्याल्पो लोसार तीन प्रमुख दिनमा विशेष रूपमा मनाइने गरिन्छ। पहिलो दिन लामा गुरुहरूको सम्मानमा गुम्बामा पूजा–आराधना गरी आशीर्वाद लिने परम्परा रहेको छ। दोस्रो दिन “ग्याल्पो” अर्थात् “राजा” को नामबाट चिनिने दिनमा सार्वजनिक कार्यक्रम तथा सामुदायिक उत्सवहरू आयोजना गरिन्छ। तेस्रो दिन “ल्हाप्सो” का अवसरमा पर्वतका रक्षक देवताहरूको सम्मान गर्दै डाँडाकाँडा तथा घरआँगनमा प्रार्थना झण्डा (लुङ्ता) फहराइन्छ।

त्यसैगरी, फेब्रुअरी १८ देखि मार्च ४, २०२६ सम्म पन्ध्र दिन मनाइने छोत्रुल दुछेनको पनि विशेष महत्व रहेको उल्लेख गरिएको छ। यस अवधिमा भगवान् शाक्यमुनि बुद्धले चमत्कार प्रदर्शन गर्नुभएको धार्मिक विश्वास रहेको सन्देशमा जनाइएको छ।

उक्त प्रेस नोट ग्लोबल शेर्पा एसोसिएसनका महासचिव आङ जाङ्बु शेर्पा र अध्यक्ष थेन्दुप शेर्पाद्वारा हस्ताक्षरित भई प्रकाशित गरिएको हो।

एसोसिएसनले ग्याल्पो लोसारलाई शेर्पा पहिचान, एकता र आध्यात्मिक शक्तिको जीवन्त अभिव्यक्तिका रूपमा व्याख्या गर्दै यस पर्वले सम्पूर्ण समुदायमा शान्ति, समृद्धि, सुस्वास्थ्य र खुशी ल्याओस् भन्ने कामना गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729