0Shares

सियोल, दक्षिण कोरिया । हिमाली बौद्ध समुदायको महत्वपूर्ण पर्व नयाँ वर्ष २१५३ औँ (मे फो त ल्हो) ग्याल्पो लोसार यस वर्ष पनि दक्षिण कोरियामा बसोबास गर्दै आएका शेर्पा तथा नेपाली समुदायले भव्य रूपमा मनाउने भएका छन्।

फेब्रुअरी १६ तारिख शेर्पा संघ दक्षिण कोरिया को आयोजनामा राजधानी सियोल मा कार्यक्रम आयोजना गरिँदैछ। ख्याङ्गि–दो प्रान्त तथा आसपास क्षेत्रमा बसोबास गर्दै आएका नेपालीहरू उक्त कार्यक्रममा सहभागी हुने जनाइएको छ।

यसैगरी, फेब्रुअरी १५ तारिख बुसान शेर्पा सोसाइटी को आयोजनामा दक्षिण ग्याङ्ग्साङ प्रान्त आसपास बसोबास गरिरहेका नेपाली समुदायले पर्यटकीय शहर बुसान मा उत्सवमय वातावरणमा ग्याल्पो लोसार मनाउने तयारी गरेका छन्।

कार्यक्रममा लामा गुरुहरूद्वारा विशेष पूजाआजा तथा मङ्गल पाठ गरिनेछ। साथै, दक्षिण कोरियास्थित शेर्पा समुदाय र विभिन्न नेपाली संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूबीच सामूहिक रूपमा “कि कि सो सो ल्हा ग्यलो” उच्चारण गर्दै कुलदेवताका नाममा पवित्र जौको पिठो अर्पण गरिनेछ।

लोसारको अवसरमा शुभकामना आदान–प्रदानसँगै छ्योङ्ग्युलपान गरिनेछ भने परम्परागत शेर्पा खानाका परिकारहरू छ्योङ्ग्युल, सुचिया, खाप्से, गुथुक आदिको स्वाद लिँदै समुदायबीच आत्मीयता साटासाट गरिनेछ। परम्परागत शेर्पा पोशाकमा सजिएर सांस्कृतिक श्याब्रु नृत्य समेत प्रस्तुत गरिने प्रचार–प्रसार संयोजक गेल्छिरी शेर्पाले जानकारी दिनुभयो।

रोजगारी तथा अध्ययनका सिलसिलामा दक्षिण कोरिया पुगेका नेपाली युवाहरूका लागि यस्ता पर्वहरूले मौलिक पहिचान जोगाइराख्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले शेर्पा संघ दक्षिण कोरियाले हरेक वर्ष लोसार आयोजना गर्दै आएको छ। विदेशमा बसेर पनि भाषा, धर्म, कला र संस्कृतिको संरक्षण गर्ने अभियानमा समुदायको निरन्तर साथ र सहयोग रहँदै आएको संयोजक शेर्पाले बताउनुभयो।

थेगु, गिमे तथा बुसान आसपासका शेर्पा समुदायलाई बुसानमा हुने कार्यक्रममा तथा राजधानी आसपास बसोबास गर्ने शेर्पा समुदायलाई सियोलमा उपस्थित भई कार्यक्रम सफल बनाउन आयोजकले हार्दिक अनुरोध गरेका छन्।

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मात्र मनाइने ग्याल्पो लोसार हाल २२ जिल्लामा विस्तार भएको छ। शेर्पा समुदायको बसाइँसराइसँगै यो पर्व विश्वका विभिन्न सहरहरूमा पनि उत्सवमय वातावरणमा मनाइँदै आएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729