विश्व शान्तिको सन्देश फैलाउने उद्देश्यले सञ्चालन गरिएको १०८ दिन लामो “Walk for Peace” अभियान सफलतापूर्वक सम्पन्न भएको छ ।
करिब २,३०० माइलभन्दा बढी दूरी पार गर्दै वाशिङ्टन डिसिमा समापन गरिएको उक्त शान्ति यात्राले शान्ति, करुणा र एकताको सशक्त सन्देश प्रवाह गरेको आयोजकहरूले बताउनु भएको छ ।
अभियानमा सहभागिता जनाउनु भएका पूज्य भिक्षुहरू तथा अलोका समूहलाई शेर्पा किदुक अमेरिकाका अध्यक्ष तेम्बा शेर्पाको अध्यक्षतामा आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।
कार्यक्रममा संस्थाका सल्लाहकार तथा धर्मगुरु टुल्कु उर्गेन खम्बाचे, धर्मगुरु डा. युला शेर्पा, लामा तेन्जी शेर्पा तथा आङ बाबु शेर्पा ज्यूहरूको विशेष उपस्थिति रहनुभएको थियो ।
सो अवसरमा शेर्पा किदुक अमेरिका, Buddha Education Inc, New York का तर्फबाट सहभागिहरूलाई Certificate of Honor and Merit प्रदान गरिएको थियो । वक्ताहरूले विश्व शान्तिका लागि गरिएको त्याग, अनुशासन र समर्पणप्रति उच्च सम्मान व्यक्त गर्दै यस्ता आध्यात्मिक तथा सामाजिक अभियानले समुदायलाई सकारात्मक दिशातर्फ अग्रसर गराउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष तेम्बा शेर्पाले शान्ति यात्रा केवल भौतिक दूरीको यात्रा नभई आध्यात्मिक रूपान्तरणको यात्रा भएको उल्लेख गर्नुभयो । उहाँले करुणा, सहिष्णुता र मानवताका मूल्यलाई व्यवहारमा उतार्नु नै सच्चा शान्तिको आधार भएको धारणा व्यक्त गर्नुभयो ।
अभियानले विभिन्न राज्यहरू हुँदै हजारौँ व्यक्तिसँग प्रत्यक्ष सम्पर्क स्थापित गरेको थियो। सहभागीहरूले मार्गभरि प्रार्थना, ध्यान तथा सचेतना कार्यक्रममार्फत विश्व शान्तिको सन्देश फैलाएका थिए।




