महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराकको आयोजनामा १५औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगिता शनिबारदेखि ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन राष्ट्रिय सभाका सदस्य सोनाम ग्याल्जेन शेर्पाले गर्नुभएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले खेलकुद प्रतिस्पर्धामा मात्र सीमित नरही आपसी सद्भाव, भाइचारा र सामाजिक एकता अभिवृद्धि गर्ने माध्यम भएको बताउनुभयो।
आयोजक मञ्चका अध्यक्ष फुर गेल्जे शेर्पाले प्रतियोगिता सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्नुभयो।
त्यसैगरी, मञ्चका महासचिव पेम्बा छिरी शेर्पाले प्रतियोगिताले शेर्पा समुदाय हिमाल आरोहणमा मात्र होइन, खेलकुद क्षेत्रमा पनि अब्बल रहेको सन्देश प्रवाह गर्न सफल भएको उल्लेख गर्नुभयो।
प्रतियोगिताको पहिलो दिन एक खेल मात्र सम्पन्न भयो। समूह ‘ए’ अन्तर्गतको लिग खेलमा आयोजक मञ्च र खुन्डे कम्युनिटी क्लबबीच १–१ गोलको बराबरी भयो। आयोजक मञ्चका पासाङ ग्याल्जेन शेर्पा ‘प्लेयर अफ द म्याच’ घोषित हुनुभयो। बराबरी गोल पनि उहाँले नै गर्नुभएको थियो।
लिग कम नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा आयोजकसहित आठ टोली सहभागी छन्। नयाँ वर्ष ग्याल्पो ल्होसार (मे तो लो) २१५३ को पावन अवसरमा आयोजित प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्ने टोलीले क्रमशः १ लाख ५० हजार, ८० हजार र ४० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगिताको मुख्य प्रायोजक १४ पिक्स एक्सपेडिसन प्रा।लि। रहेको छ भने सह–प्रायोजकमा हेली एभरेष्ट प्रा.लि. र खुम्बु पासाङ ल्हामु गाउँपालिका रहेका छन्।
सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका विभिन्न गाउँमा जन्मिएर हाल काठमाडौंमा बसोबास गरिरहेका शेर्पा युवाहरूले जाडोयामको फुर्सदिलो समयको सदुपयोग गर्ने उद्देश्यले सन् २००९ देखि ल्होसारको अवसर पारेर फुटबल प्रतियोगिता आयोजना गर्दै आएका छन्।
प्रतियोगिताको दोस्रो दिन आइतबार तीन खेल हुनेछन्। खुम्जुङ युथ क्लब र खुम्बु याङबु शेर्पा समाज, ठमिछेवा फुटबल टिम र नाम्चे युथ क्लब तथा अमादब्लाम युथ क्लब र खुम्बु युनाइटेड क्लबबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको फाइनल खेल फागुन ३ गते आयोजना हुने आयोजकले जनाएको छ।




