विशेष गरी नेपालको हिमाली क्षेत्रअन्तर्गत सोलुखुम्बु, ओखलढुंगा, संखुवासभा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, भोजपुर, ताप्लेजुङ, पाँचथर र इलाम जिल्लाहरूमा शेर्पा समुदायको परम्परागत बसोबास रहेको छ। समयको परिवर्तनसँगै रोजगारी, शिक्षा तथा जीवनस्तर उकास्ने उद्देश्यले शेर्पाहरू आफ्नो थातथलो छाडेर देशका विभिन्न भागहरूमा बसोबास गर्न थालेका छन्। यसैक्रममा पछिल्ला वर्षहरूमा अमेरिका, क्यानडा, अष्ट्रेलिया, जापान, कोरिया तथा युरोपेली देशहरूमा रोजगारीको सिलसिलामा बसोबास गर्ने शेर्पाहरूको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ। विदेशमा रहे पनि आफ्नो मौलिक पहिचान जोगाइराख्ने उद्देश्यले शेर्पा समुदायले धर्म, भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि विभिन्न देशहरूमा शेर्पा किदुग (संस्था) स्थापना गरी सक्रिय रूपमा काम गरिरहेको देखिन्छ। यस्ता संस्थामार्फत ल्होसार, पूजापाठ, सांस्कृतिक कार्यक्रम तथा सामुदायिक सहयोगका गतिविधिहरू निरन्तर सञ्चालन हुँदै आएका छन्।

२१५३ औँ “मे फो त लो” (घोडा वर्ष) को ग्याल्पो ल्होसारको अवसरमा विश्वका विभिन्न देशहरूमा बसोबास गर्ने शेर्पा समुदायले विभिन्न कार्यक्रमहरू आयोजना गरी ल्होसार मनाइरहेका छन्। यो वर्ष शेर्पा ल्होसार आउँदो २०८२ साल फागुन ६ गते बुधबार, तदनुसार फेब्रुअरी १८, २०२६ का दिन परेको छ। देश तथा विदेशमा बसोबास गर्ने शेर्पा संघ–संस्था तथा किदुगहरूले यही मितिको वरिपरि सबैलाई उपयुक्त हुने मिति र स्थान तय गरी ल्होसारका कार्यक्रमहरू आयोजना गर्ने प्रचलन रहेको छ। यही सन्दर्भमा विभिन्न देशमा रहेका शेर्पा समुदायले कसरी ग्याल्पो ल्होसार मनाउँदै आएका छन् भन्ने विषयमा केन्द्रित यो विशेष रिपोर्ट तयार गरिएको हो।

शेर्पा सेवा केन्द्र, बौद्ध–टुसाल, काठमाडौँमा प्रत्येक वर्षझैँ यस वर्ष पनि फाल्गुण ८ गते (शुक्रबार) का दिन ल्होसारको अवसरमा ल्हप्सो कार्यक्रम भव्यताका साथ आयोजना गरिँदैछ। यसै अवसरमा हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको आयोजनामा ल्हप्सोको दिन बिहान –याली निकालिने कार्यक्रम रहेको छ। कार्यक्रममा धर्मगुरुहरूको उपस्थितिमा धार्मिक नृत्यहरू तथा परम्परागत शेर्पा नृत्यहरू प्रस्तुत गरिनेछ। यसरी ल्होसार पर्वलाई भव्य, सांस्कृतिक र धार्मिक महत्वका साथ मनाइनेछ । उक्त अवसरमा काठमाडौँमा बसोबास गर्नुहुने सम्पूर्ण शेर्पा समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूको गरिमामय उपस्थितिको हुने गर्दछ ।

नेपाल शेर्पा संघले प्रत्येक वर्षझैँ यस वर्ष पनि ग्याल्पो लोसारको शुभ अवसरमा संघीय कार्यालय, नारायणटारमा २०८२ साल माघ २४ गते (शनिबार) शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्न लागेको छ। उक्त कार्यक्रममा शेर्पा समाजका विशिष्ट व्यक्तित्वहरू, विभिन्न संघ–संस्था तथा किदुकका प्रतिनिधिहरू, कर्मचारीहरू, कलाकारहरू, व्यवसायीहरू तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहनेछ। विगत केही वर्षदेखि नेपाल शेर्पा संघले ग्याल्पो लोसारको अवसरमा यस प्रकारका शुभकामना आदान–प्रदान कार्यक्रमहरू निरन्तर रूपमा आयोजना गर्दै आइरहेको छ।

हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले हिमाली समुदायको महान् राष्ट्रिय पर्व (नयाँ वर्ष) ग्याल्पो ल्होसारको पावन अवसरमा विगत लामो समयदेखि निरन्तर रूपमा ल्होसार गुथुक साँझ, साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार वितरण, साम्दे शेर्पा स्मृति वक्तृत्वकला प्रतियोगिता (शेर्पा भाषामा) तथा बृहत् स्याब्रु नृत्य प्रतियोगिता कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ।

तर यस वर्ष विभिन्न कारणवश ल्होसार गुथुक साँझ कार्यक्रम स्थगित गरिएको जानकारी हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले सबैमा अवगत गराएको छ।

यस वर्ष मे फो ता ल्हो’ (२१५३ औँ) राष्ट्रिय ग्याल्पो ल्होसारको अवसरमा आयोजना हुने शुभकामना आदान–प्रदान कार्यक्रम, साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार वितरण कार्यक्रम तथा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुति भने २०८२ साल फागुन गते, काठमाडौँ महानगरपालिका–, सिफल चौरमा भव्य रूपमा आयोजना हुन गइरहेको जानकारी पनि केन्द्रले दिएको छ।

हाम्रो शेर्पा सञ्चार समूह नेपालले २१५३ औँमे फो लोग्याल्पो लोसारको अवसरमा शेर्पा समुदायको धर्म, भाषा, कला तथा संस्कृतिको संरक्षण, अधिकार र पहिचानमा मिडियाको भूमिकाबारे केन्द्रित शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।

आयोजकका अनुसार उक्त कार्यक्रम २०८२ साल फाल्गुण गते शनिबारका दिन नेपाल शेर्पा संघको केन्द्रीय कार्यालयस्थित सभाहलमा सम्पन्न हुनेछ। कार्यक्रममा सञ्चारकर्मी, बौद्धिक व्यक्तित्व, शेर्पा समाजका अगुवा,विभिन्न क्षेत्रका प्रतिनिधिहरू तथा संघ संस्था किदुकका प्रतिनिधिहरुको सहभागिता रहने अपेक्षा गरिएको छ। ग्याल्पो लोसारको अवसरमा आयोजना गरिने यस कार्यक्रमले शेर्पा समुदायको पहिचान, सांस्कृतिक संरक्षण तथा अधिकारका विषयमा छलफल र विमर्शलाई थप सशक्त बनाउने विश्वास आयोजकले व्यक्त गरेको छ।

शेर्पा किदुक अमेरिकाले मे फो ता ल्हो’ (२१५३ औँ) राष्ट्रिय ग्याल्पो लोसारको अवसरमा अमेरिकामा विभिन्न सांस्कृतिक तथा धार्मिक कार्यक्रमहरू आयोजना गर्ने भएको छ। आयोजकका अनुसार फेब्रुअरी २० का दिन न्युयोर्कस्थित शेर्पा किदुक अमेरिकाको गुम्बामा ल्हप्सो कार्यक्रम आयोजना गरिनेछ। त्यस्तै, मार्च , २०२६ मा टिबेटन कम्युनिटी हलमा वार्षिक लोसार पार्टी आयोजना गरिने भएको छ।

यसै अवसरमा शेर्पा किदुक अमेरिकाले फेब्रुअरी देखि सम्म न्युयोर्कस्थित आफ्नै हलमा स्याब्रु नृत्य प्रतियोगिता पनि आयोजना गर्ने जानकारी दिएको छ। अमेरिकामा सबैभन्दा बढी शेर्पा समुदायको बसोबास रहेको शहरका रूपमा चिनिएको न्युयोर्कमा आयोजना हुने यी कार्यक्रमहरूले शेर्पा समुदायको धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

क्यालिफोर्निया शेर्पा एसोसिएशनले हाम्रो नयाँ वर्ष अर्थात् २१५३ औँ ग्याल्पो लोसारको शुभ अवसरमा मार्च १५, २०२६ का दिन विशेष लोसार कार्यक्रम आयोजना गर्ने भएको छ। आयोजकका अनुसार उक्त कार्यक्रम NANC Community Center, 369 Chesley Ave, Richmond, CA 94801 मा आयोजना गरिनेछ। कार्यक्रममा लोसारको सांस्कृतिक, धार्मिक तथा सामाजिक महत्वलाई उजागर गर्ने उद्देश्यका साथ विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने जनाइएको छ। कार्यक्रममा शेर्पा समुदायका अगुवा, बौद्धिक व्यक्तित्व, कलाकार तथा स्थानीय समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। ग्याल्पो लोसारको अवसरमा आयोजना गरिने यस कार्यक्रमले क्यालिफोर्नियामा बसोबास गर्ने शेर्पा समुदायबीच आपसी एकता, सहकार्य र सांस्कृतिक पहिचानलाई थप सुदृढ बनाउने विश्वास आयोजकले व्यक्त गरेको छ।

शेर्पा समुदायको महान् राष्ट्रिय पर्व २१५३ औँमे फो ता ल्होग्याल्पो लोसारको अवसरमा शेर्पा एसोसिएशन बेलायतले प्रत्येक वर्षझैँ यस वर्ष पनि विशेष ल्हप्सो पुजा कार्यक्रम आयोजना गर्ने भएको छ। आयोजकका अनुसार उक्त कार्यक्रम फेब्रुअरी २०, २०२६ का दिन लन्डनस्थित बिबिसि गुम्बामा सम्पन्न हुनेछ। कार्यक्रमले शेर्पा धर्म र परम्परागत संस्कृतिको महत्त्वलाई उजागर गर्ने उद्देश्य राखेको छ।

शेर्पा एसोसिएशन बेलायतले लोसार पार्टी फेब्रुअरी २८, २०२६ मा लन्डनस्थित Asian Community Centre, White Hart Lane, Plumstead, SE18 1DG मा सञ्चालन हुने छ। फेसबुकमार्फत सार्वजनिक गरिएको जानकारीअनुसार, कार्यक्रममा शेर्पा समुदायका सदस्यहरूलाई सहभागी गराउँदै सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिनेछ। यस प्रकारको उत्सवले लन्डनमा बसोबास गर्ने शेर्पा समुदायबीच आपसी एकता, संस्कृति र परम्परागत मूल्यहरूको संरक्षणमा योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेको छ। शेर्पा एसोसियेशन यूकेले सम्पूर्ण समुदायका सदस्यहरूलाई कार्यक्रममा उपस्थित भई नयाँ वर्ष लोसारलाई सामूहिक रूपमा हर्षोल्लासका साथ मनाउन आमन्त्रित गरेको छ।

प्रवासमा भाषा, धर्म, कला र संस्कृतिको संरक्षणलाई मूल उद्देश्य मानेर कार्यरत शेर्पा संघ जापानले हिमाली बौद्ध धर्मावलम्बीहरूको महान् चाड र नयाँ वर्ष २१५३ औँमे फो ता ल्होग्याल्पो लोसारको शुभ अवसरमा शुभकामना आदानप्रदान तथा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। आयोजकका अनुसार कार्यक्रम २०२६ मार्च (आईतवार) मा टोक्यो, हामामाचोस्थित मन्दिर रेस्टुरेन्टमा भव्यरूपमा सञ्चालन हुने छ। प्रत्येक वर्षझैं यस वर्ष पनि कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति तथा परम्परागत कार्यक्रमहरू समावेश गरिने जानकारी दिइएको छ।

नेपालबाट कलाकारहरूको उपस्थितिमा कार्यक्रमलाई थप रंगीन बनाइनेछ। यस क्रममा सोनम कोशिस शेर्पा, डिजे छेवाङ, सोनाम शेर्पा, दावा के शेर्पा कलाकारका रूपमा र फुर्किमा शेर्पा कार्यक्रम संचालकका रूपमा जापान पुग्नेछन्। शेर्पा संघ जापानले फेसबुक पेजमार्फत यस वर्षको कार्यक्रमबारे जानकारी सार्वजनिक गर्दै सबै समुदायका सदस्यहरूलाई कार्यक्रममा सहभागी भई ग्याल्पो लोसारलाई हर्षोल्लासका साथ मनाउन आमन्त्रित गरेको छ।

आयोजकको भनाइ अनुसार, प्रवासमा बसेर पनि भाषा, धर्म र सांस्कृतिक पहिचानको संरक्षण गर्ने कार्यक्रमले युवा पुस्तालाई आफ्ना मौलिक मूल्य र परम्परासँग जोड्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

त्यसै गरि शेर्पा संघ कान्साई जापानले हिमाली बौद्ध धर्मावलम्बीहरूको नयाँ वर्ष अर्थात् २१५३ औँ ग्याल्पो लोसारको अवसरमा विशेष लोसार सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। आयोजकले फेसबुकमार्फत जानकारी दिएको अनुसार, उक्त कार्यक्रम फेब्रुअरी २१, २०२६ मा Kobe Harbor Studio, Hatobacho 6-3, Harborland, Kobe-shi, Chuo-ku मा भव्य रूपमा सञ्चालन हुने छ।

कार्यक्रममा नेपालबाट आएका चर्चित कलाकारहरूको उपस्थितिमा सांगीतिक र सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिने छ। यस क्रममा दावा के. शेर्पा, सोनाम शेर्पा लामा (कोसिस), डिजे छेवाङ शेर्पा कलाकारका रूपमा सहभागी हुनेछन् भने फुर्किमा शेर्पा पासाङ शेर्पा कार्यक्रम संचालकको रूपमा उपस्थित रहने जानकारी पनि आयोजकले दिएको छ।

शेर्पा संघ कान्साई जापानले यस कार्यक्रममार्फत प्रवासमा बसोबास गर्ने शेर्पा समुदायबीच आफ्नो सांस्कृतिक र धार्मिक पहिचानलाई जगेर्ना गर्दै परम्परागत कला, संगीत र संस्कृतिको प्रवर्धन गर्ने उद्देश्य राखेको छ। आयोजकले सम्पूर्ण शेर्पा समुदायका सदस्यहरूलाई कार्यक्रममा उपस्थित भई ग्याल्पो लोसारको शुभ अवसर हर्षोल्लासका साथ मनाउन आमन्त्रित गरेको छ।

यस वर्ष शेर्पा संघ मलेसियानेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाले संयुक्त रुपमा हिमाली बौद्ध धर्मावलम्बीहरूको नयाँ वर्ष तथा ग्याल्पो लोसार/ल्होछारको अवसरमा भव्य कार्यक्रम आयोजना गर्ने भएको छ। आयोजकका अनुसार उक्त कार्यक्रम फेब्रुअरी १७, २०२६ मा HOTEL GRAND CONTINENTAL, KL क्वालालम्पुर मा सञ्चालन हुनेछ। कार्यक्रममा नेपालबाट आएका ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरूको उपस्थितिमा बेजोड सांगीतिक सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिने छ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा लामा गुरु खेन्पो रिग्जीनको पुजापाठ रहनेछ भने सांगीतिक प्रस्तुति अन्तर्गत सेलो गायक Bishwo Dong, DJ Tenzing Sherpa, गायिका Babina Kirati गायिका Palmu Sherpa प्रदर्शन गर्नेछन्। कार्यक्रम उद्घोषिका Sunita Lungba कार्यक्रमको सञ्चालन गर्ने जानकारी आयोजकले सार्वजनिक गरेको छ। आयोजकले यस कार्यक्रममार्फत प्रवासमा रहेका शेर्पा समुदायका सदस्यहरूलाई आफ्नो सांस्कृतिक र धार्मिक पहिचान जगेर्ना गर्ने, एक आपसमा एकता र सहकार्य प्रवर्द्धन गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेको छ। साथै, कार्यक्रममा सहभागी सबैले लोसारको पवित्र अवसर हर्षोल्लासका साथ मनाउने अपेक्षा गरिएको छ।

शेर्पा समाज बेल्जियमले प्रत्येक वर्ष आयोजना गर्दै आएको वार्षिक ग्याल्पो लोसार ल्हप्सु पूजा यस वर्ष पनि भव्य रूपमा सञ्चालन गर्ने भएको छ। आयोजकले फेसबुकमार्फत जानकारी दिएको अनुसार, पूजा फेब्रुअरी २२, २०२६ (आइतबार) का दिन पुनहुई स्थित बौद्ध गुम्बामा आयोजना हुन गइरहेको छ। उक्त ल्हप्सु पूजामा सहभागिता बढाउन आयोजकले एन्थोर्पेन ल्युभेनबाट लोसारप्रेमी सम्पूर्ण नेपाली समुदायका महानुभावहरूलाई जान–आउन सशुल्क बसको व्यवस्था समेत गरेको जानकारी सार्वजनिक गरेको छ।

बिगतका वर्षहरूमा झैँ यस वर्ष पनि शेर्पा किदुक साईप्रसले हिमाली समुदायको महान् पर्व २१५३ औँमे फो ता ल्होग्याल्पो लोसारको शुभ अवसरमा शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। आयोजकले जानकारी दिएको अनुसार उक्त कार्यक्रम २०२६ मार्च , आइतबार का दिन Nio Fiesta Hall, Katopolomedia, Limassol मा सञ्चालन हुनेछ। कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सफल बनाउन समुदायका सबै सदस्यहरूलाई हार्दिक अनुरोध गरिएको छ।

कार्यक्रममा गायक ल्हाक्पा शेर्पा अमोद, डिजे तेन्जिङ शेर्पा लगायत स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ। यसैगरी, स्याब्रु नृत्य, धार्मिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरू पनि समावेश गरिने आयोजकले जानकारी दिएको छ। शेर्पा किदुक साईप्रसले प्रवासमा बसोबास गर्ने शेर्पा समुदायका सदस्यहरूलाई आफ्नो धर्म, संस्कृति परम्परागत पहिचानको संरक्षण गर्दै लोसार पर्वलाई सामूहिक रूपमा हर्षोल्लासका साथ मनाउने अवसर प्रदान गर्न यस कार्यक्रम आयोजना गरेको बताएको छ।

शेर्पा किदुग पोर्तुगलले विगत वर्षहरूको परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि विशेष लोसार ल्हाप्सो पूजा कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम सान्ता सुसाना स्थित थुप्तेन गेफेल लिङ स्तुपा, टासि गोमाङ गुम्बामा सम्पन्न हुनेछ। आयोजकका अनुसार यस वर्षको कार्यक्रममा विश्व शान्ति, ग्रह शान्ति आयु अभिषेक, साथै १२ वर्षको ग्याप्जि पूजा लगायत अन्य परम्परागत धार्मिक पूजाहरू समेत समावेश गरिनेछ।

पोर्तुगलमा बसोबास गर्ने सबै शेर्पा समुदायका सदस्यहरूलाई कार्यक्रममा सहभागी भई आत्मिक तथा सांस्कृतिक अनुभव लिन फेसबुक पेजमार्फत हार्दिक निमन्त्रणा गरिएको छ। उक्त ल्हाप्सो पूजा कार्यक्रम २०२६ फेब्रुअरी २२, आइतबार का दिन आयोजना हुने जानकारी आयोजकले दिएको छ। शेर्पा किदुग पोर्तुगलले प्रवासमा रहेर पनि धर्म, संस्कृति र परम्परागत पहिचान जगेर्ना गर्ने महत्वपूर्ण अवसरका रूपमा यस कार्यक्रमलाई मानिएको जनाएको छ।

नया वर्ष अर्थात् २१५३ औँ ग्याल्पो लोसारको अवसरमा शेर्पा किदुग क्यानडा (युनाइटेड शेर्पा एसोसिएसनक्यानडा) ले भव्य लोसार सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ। आयोजकले फेसबुक मार्फत जानकारी दिएको अनुसार, उक्त कार्यक्रम फेब्रुअरी २१, २०२६ मा UTAQ Banquet Hall, 5835 Kennedy Rd., Mississauga मा सम्पन्न हुनेछ।

कार्यक्रममा प्रवासमा बसोबास गर्ने शेर्पा समुदायका सदस्यहरूलाई सहभागी गराउँदै लोसार पर्वको धार्मिक, सांस्कृतिक र मनोरञ्जनात्मक पक्षलाई प्रस्तुत गर्ने तयारी गरिएको छ। सांगीतिक, नृत्यात्मक र विविध सांस्कृतिक प्रस्तुति मार्फत शेर्पा धर्म, कला, भाषा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको छ।

शेर्पा कम्युनिटी न्यूजील्याण्डले नया वर्ष अर्थात् २१५३ औँ ग्याल्पो लोसारको अवसरमा भव्य लोसार कार्यक्रम आयोजना गरेको छ। आयोजकका अनुसार, उक्त कार्यक्रम फेब्रुअरी २१ २२, २०२६ मा Twizel Community Hall, Southland मा सम्पन्न हुनेछ। कार्यक्रममा शेर्पा धर्म, भाषा, कला र सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिने छ। यस अवसरमा संगीत, नृत्य र अन्य मनोरञ्जनात्मक कार्यक्रमहरू पनि हुने जानकारी आयोजकले सार्वजनिक गरेका छन्।

शेर्पा कम्युनिटी न्यूजील्याण्डले प्रवासमा बसोबास गर्ने सम्पूर्ण शेर्पा समुदायलाई कार्यक्रममा उपस्थित भई नयाँ वर्षको पर्वलाई हर्षोल्लासका साथ मनाउन आमन्त्रण गरेको छ। यस प्रकारको कार्यक्रमले प्रवासमा रहेर पनि सांस्कृतिक पहिचान, धर्म परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

शेर्पा कम्युनिटी अफ सिड्नीले नया वर्ष अर्थात् २१५३ औँ ग्याल्पो लोसारको अवसरमा भव्य लोसार कार्यक्रम आयोजना गरेको छ। आयोजकले जानकारी दिएका अनुसार, उक्त कार्यक्रम फेब्रुअरी २८, २०२६ मा Orion Function Centre, Campsie मा सम्पन्न हुनेछ। कार्यक्रममा शेर्पा धर्म, भाषा, कला र सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिनेछ।सो अवसरमा विशेष सांस्कृतिक कार्यक्रमहरू पनि रहने छन् जसमा संगीत, नृत्य र मनोरञ्जनात्मक प्रस्तुति समावेश गरिनेछ। आयोजकले प्रवासमा बसोबास गर्ने सम्पूर्ण शेर्पा समुदायका सदस्यहरूलाई उपस्थित भई नयाँ वर्ष लोसारको शुभ अवसरलाई हर्षोल्लासका साथ मनाउन आमन्त्रण गरेका छन्।

यस समाचारमा शेर्पा समुदायका  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूले आयोजना गर्ने नयाँ वर्ष अर्थात् २१५३ औँ ग्याल्पो लोसारका कार्यक्रमहरू संकलन गरी प्रस्तुत गरिएको छ। तर, केही देशमा आयोजना हुने लोसार कार्यक्रमहरूको पूर्ण विवरण हाल उपलब्ध नभएकाले ती कार्यक्रमहरू यस समाचारमा समावेश गर्न नसकेको जानकारी गराउन चाहन्छौं।

अन्य देशका शेर्पा समुदायबाट लोसार कार्यक्रमको विवरण प्राप्त भएपछि यस समाचारलाई अपडेट गरेर प्रकाशन गरिनेछ। यसरी शेर्पा समुदायका ग्याल्पो लोसारका कार्यक्रमहरू तपाईहरु सामु पुर्‍याउने प्रयास निरन्तर जारी रहनेछ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729