शेर्पा किदुग अमेरिकाको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । जनवरी १० तारिखका दिन अमेरिकास्थित न्यूयोर्कमा शेर्पा किदुगको हलमा सम्पन्न भएको हो । सभाका प्रमुख अतिथि धर्मगुरु डा. युला शेर्पा रहनुभएको थियो ।
शेर्पा किदुग अमेरिकाका अध्यक्ष इन्जिनियर तेम्बा शेर्पाको अध्यक्षतामा सम्पन्न सभामा उपाध्यक्ष पासाङ शेर्पाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विश्व शेर्पा संघका महासचिव आङ जाङबु शेर्पा, शेर्पा किदुग ट्रष्टी चियर ल्हाक्पा रिन्जी शेर्पा, शेर्पा संघ अमेरिकाका अध्यक्ष एपी लामा शेर्पा, लुम्बिनी विकास कोषका पूर्व सदस्य–सचिव आङ दावा शेर्पा, फुरी शेर्पा, पेम्बा ग्याल्जे शेर्पा लगायत विशिष्ट व्यक्तित्वहरूले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
वक्ताहरूले शेर्पा समुदायको एकता, पहिचान संरक्षण तथा भावी योजनाहरूको आवश्यकता र चुनौतीबारे आ–आफ्ना धारणा राखेका थिए। समुदायलाई संगठित गर्दै सांस्कृतिक, सामाजिक तथा संस्थागत सुदृढीकरणमा जोड दिनुपर्नेमा उहाँहरूको साझा धारणा रहेको थियो ।
कार्यक्रमको सञ्चालन शेर्पा किदुग अमेरिकाका महासचिव ल्हाक्पा तेन्जी शेर्पाले गर्नुभएको थियो । सभामा संस्थाको वार्षिक गतिविधि प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिनुका साथै आगामी कार्यदिशा र योजनाबारे समेत विस्तृत छलफल गरिएको थियो ।




