विश्व शेर्पा संघको आइतबार सम्पन्न कार्यसमिति बैठकले संगठनका विभिन्न रणनीतिक तथा सांस्कृतिक कार्यक्रमहरूबारे महत्वपूर्ण निर्णयहरू गरेको छ। जुम भर्च्युअलमार्फत अध्यक्ष थेन्डुप शेर्पाको अध्यक्षतामा बसेको बैठकमा संस्थापक तथा पूर्वअध्यक्ष आङ दोर्जी लामा शेर्पासहित पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

बैठकले गत अक्टोबर ८ मा विश्वभर मनाइएको विश्व शेर्पा दिवस कार्यक्रमको समग्र मूल्यांकन गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ। साथै, संघका मूल उद्देश्यहरू प्रभावकारी रूपमा पूरा गर्न पदाधिकारी तथा सदस्यहरूबाट लेभी सहयोग शुल्क उठाउने कार्यलाई सुदृढ बनाउने निर्णय गरिएको छ।

अघिल्लो कार्यकालमा भएका निर्णयहरूको कार्यान्वयनमा अपेक्षित प्रगति नदेखिएको भन्दै बाँकी कामहरूलाई प्राथमिकताका साथ अघि बढाउन बैठकले निर्देशन दिएको छ।

त्यसैगरी शेर्पा भाषा, धर्म, संस्कृति तथा इतिहास सम्बन्धी सामग्रीलाई व्यवस्थित रूपमा संकलन र प्रकाशन गर्ने उद्देश्यले महासचिव आङ जाङ्बु शेर्पाको संयोजकत्वमा विभिन्न देशबाट प्रतिनिधित्व गर्दै निम्न सदस्यहरू रहने गरिएको समिति गठन गरेको छ । बेल्जियमबाट आङ दोर्जी सोनाम शेर्पा,बेलायतबाट रिन्जी लामा शेर्पा, भारतको सिक्किमबाट टी.टी. शेर्पा, भारतको डेनजोङबाट, दोर्जी पिनासा शेर्पा, डेनमार्कबाट वाङ्गेल लामा, कोरिया दोर्ची शेर्पा र नेपालबाट आङ डोमा शेर्पा रहनुभएको छ ।

बैठकले अमेरिकास्थित शेर्पा संघ अमेरिकाका अध्यक्ष पासाङ दोर्जी (एपी लामा) ले शेर्पा संघ अमेरिकाको भवन खरिद प्रक्रिया अघि बढिरहेको जानकारी दिँदै विश्वभरका शेर्पा संघ तथा किदुङहरूसँग आर्थिक सहयोग जुटाउन अपिल गर्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए। बैठकले उक्त प्रस्तावलाई समर्थन गर्दै सहयोग अभियानलाई सहज बनाउन संघले आवश्यक समन्वय गर्ने निर्णय गरेको छ।

सो बैठकले नेपाल शेर्पा विद्यार्थी संघ, शेर्पा संचार समूह र शेर्पा कलाकार संघले संयुक्त रुपमा सञ्चालन गर्न लागेको शेर्पा भाषा कक्षालाई आर्थिक सहयोग गर्ने निर्णय पनि बैठकले गरेको छ। सोहीअनुसार, दुई महिनाका लागि शिक्षक तलब स्वरूप ५०,००० रुपैयाँ विश्व शेर्पा संघले उपलब्ध गराउने तथा योग्य शेर्पा खेन्पो वा आचार्यमार्फत शिक्षक चयन गर्न पनि सुझाव प्रदान गरिएको छ।

बैठकमा भएका सबै निर्णयहरू विश्व शेर्पा संघका महासचिव आङ जाङ्बु शेर्पाले सार्वजनिक गर्नुभएको थियो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729