शेर्पा संचार समूह नेपालद्वारा आयोजित ७ दिने शेर्पा तथा नेपाली भाषा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ ।
नारायणटारस्थित नेपाल शेर्पा संघको भवनमा आयोजित शेर्पा तथा नेपाली भाषा उद्घोषण तालिम समापन समारोह सोमबार सम्पन्न भएको हो ।
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) का अध्यक्ष गेल्जे लामा शेर्पा प्रमुख अतिथि रहनुभएको कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का अध्यक्ष लक्की चौधरी विशिष्ठ अतिथि रहनुभएको थियो ।
कार्यक्रममा संबोधन गर्नुहुँदै नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले बोल्ने क्षमता विकास गर्नु निकै महत्वपुर्ण कला भएका भनाई राख्नुभयो । उहाँले उद्घोषण कलालाई दुर्गम समुदायमाझ पुर्याउन सके प्रभावकारी हुने बताउनुभयो । यसैगरि फोनिजका अध्यक्ष लक्की चौधरीले उद्घोषणकला भनेको संचारको माध्यम भएको बताउनुभयो । उहाँले कार्यक्रमलाई राम्रो र आर्कषक बनाउने मुख्य हात कार्यक्रम संचालन गर्ने उद्घोषक, उद्घोषिकाको हुने जोडनुभयो । अध्यक्ष चौधरीले ७ दिने उद्घोषण तालिम निरधक्क भएर बोल्न सिक्ने पहिलो खुड्किलो भएकोले अवसर र स्थानका लागि ढोका खुलिसकेकोले निरन्तर लागि रहन सुझाव दिनुभयो ।

सातदिने शेर्पा तथा नेपाली भाषा उद्घोषण तालिमको सहजिकरण प्रशिक्षक द्वय धर्मगुरु खेन्पो नुर्बु शेर्पा र लामो समय देखि उद्घोषण तालिम प्रदान गर्दै आउनुभएका अनुभवि प्रशिक्षक अग्नीप्रसाद भट्टराईले तालिम अवधिभरका आफ्ना अनुभव राख्नुभएको थियो । प्रशिक्षक भट्टराईले शेर्पा संचार समूहले आफ्नो भाषा, संस्कारसंस्कृति संरक्षणका लागि विविध कार्यक्रमहरु गर्दै आईरहेकोमा प्रशंसा गर्नुहुँदै बोल्ने कलाले पनि व्यक्तिसंगै समुदायको ज्ञानका कुराहरु निरधक्कका साथ राख्न सक्ने भनाई राख्नुभयो ।
शेर्पा संचार समूह नेपालकी का. अध्यक्ष डोल्मा शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शेर्पा संघका अध्यक्ष लाक्पा ठिन्ले शेर्पा, धर्मगुरु तथा शेर्पा संचार समूह नेपालका सल्लाहकार आचार्य नुर्बु शेर्पा, हिमालयन शेर्पा सांस्कृति केन्द्रका अध्यक्ष डोमा शेर्पा, नेपाल शेर्पा विद्यार्थी संघका अध्यक्ष छिरिङ शेर्पा, नेपाल शेर्पा महिला संघका अध्यक्ष थाक्ची शेर्पालगायतले बोल्नुभएको थियो।
शेर्पा संचार समूह नेपालका महासचिव मिङ्मा शेर्पाले सहजिकरण गर्नुभएको कार्यक्रममा स्वागत मन्तब्य संस्थाका कोषाध्यक्ष दावा जङ्बु शेर्पाले दिनुभएको थियो ।
साउन १८ गते आईताबारदेखि २५ गते आईताबारसम्म भएको उद्घोषण तालिममा करिब ३३ जना प्रशिक्षर्तीहरुको उपस्थिति रहेको थियो । यसअगि शेर्पा भाषाको उद्घोषण तालिम जेष्ठमा सम्पन्न भएको थियो ।

तस्बिरः रेगन राई




