
मेरो गाउँको पत्ताले डाँडा सगरमाथा हेर्ने इफेल टावर हो । पेरिसका रङ हेर्ने संसारका पर्यटकहरू इफेल टावरमा चढ्छन् र धित मरुन्जेल पेरिस सहरको सौन्दर्य पिउँछन् । सोलुखुम्बु जिल्लाको केरुङमा रहेको पत्ताले डाँडा संसारको सबैभन्दा अग्लो भूगोल डाँडाको पूर्वपट्टि फर्कँदा विश्वको सर्वोच्च शिखर सगरमाथा धित मरुन्जेल हेर्ने प्राकृतिक इफेल टावर हो । यो मेरो मन–मुटु जोडिएको नेपाली इफेल टावर हो ।
यो टावर थोरै विदेशीले मात्रै चढेका छन् । थोरै नेपालीले मात्रै स्पर्श गर्न पाएका छन् । यो टावर पर्यटकहरूका लागि भिजन टावर हो । सबैलाई तान्ने तागत यसमा पाइन्छ । यो टावर सोलुखुम्बु र ओखलढुङ्गा जिल्लाको सिमानामा ठिङ्ग उभिएको छ । यो टावरको टुप्पामा पुगेर पश्चिमतिर फर्कँदा सगरमाथाको चिसो, मिठो बतासले विदेशी पाहुनाहरूलाई स्वागतका निम्ति पर्खिएर शरीर, मन ठन्डा बनाएर आनन्द दिन्छ । चुरे पहाडले मुसुक्क मुस्कुराएर पर्यटकहरूलाई स्वागत गर्दछ । टावरको टुप्पामा पुगेर पूर्वतिर फर्कियो भने मोतीको जलपले धपक्क बलेकी पार्वतीको माइतीघर हिमालय पर्वत देखिन्छ । म जब पत्ताले डाँडा निकै परिश्रम गरेर चढ्छु , चादी जस्ता सेता दाँत देखाएर पार्वती माताले स्वागत गरिरहे जस्तो लाग्छ । यस्तो सुन्दर र महान् सौन्दर्यको सागर पत्ताले डाँडालाई देखेर भारतीय पर्यटकहरू पार्वतीको दरवार देखेर मख्ख परेको अनुभूति गर्छन् । सगरमाथा चढ्न मन गरेका विदेशी तथा स्वदेशीहरू यो सौन्दर्य देखेर सगरमाथा पुगेर फर्केको अनुभुति गर्छन् ।
पत्ताले डाँडारुपी यो नेपाली टावर चैत वैशाखका राताम्य लालीगुराँस धित मरुन्जेल हेर्ने टावर हो । वास्तवमा मेरो पत्ताले डाँडा थोरै परिश्रम गरेर धेरै सौन्दर्य आर्जन गर्ने ठाउँ हो । प्रकृति प्रेमीका लागि हिमाली सौन्दर्य पुरापुर पिउने उत्तम स्थान हो । धार्मिक पर्यटकहरूका लागि शिवको ससुराली हिमालय पर्वतलाई नजिकदेखि भेट्ने सहि ठाउँ हो । संस्कृति प्रेमीहरूका लगि जनै लगाएर पवित्र हुने ठाउँ हो । त्यसैले पत्ताले डाँडा प्राकृतिक सौन्दर्य र संस्कृतिको अपार सौन्दर्य नियाल्ने नेपाली इफेल टावर हो ।

सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा आफ्नो उत्कृष्ट लेख बापत सर्टिफिकेट मेडल तथा पुरस्कार रकम लिँदै शान्ति कुलुङ
शान्ति कुलुङ
सोताङ गाउँपालिका ४ सोलुखुम्बु
सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले सगरमाथा दिवसको अवसरमा अयोजाना गरेको खुल्ला अनलाइन लेख तथा रचना प्रतिस्पर्धात्मक कार्यक्रम बाट उत्कृष्ट भएका लेख, सस्थाले प्रकाशित स्मारिका २०७९ बाट साभार