संसारका सबै मानिसहरु समान हुन् तर यस समानता भित्र पनि अनेकता छ । उनीहरु विभिन्न धर्ममा विभाजित छन् । यस विभाजनका सकारात्मक र नकारात्मक पक्षहरु छन्, त्यता नजाउँ । तर यो सत्य हो कि हामी विभाजित छौं अनि राज्यले यो यथार्थलाई स्वीकार्छ । त्यसैले जगणनामार्फत आफ्नो देशका जनता मध्ये कतिले कुन धर्म अँगालेको छ भनेर हेरिन्छ ।

नेपालमा हरेक दश वर्षमा एक पटक जनगणना गरिन्छ । त्यसको परिणाम प्रतिवेदनमा अन्य थुप्रै विषयहरुका साथै नेपालमा प्रमुख धर्म मान्नेहरु मध्ये कुन धर्म मान्ने कति छन् भनेर पनि देखाउँछ । संसारमा धर्म भनेको अनावश्यक वा यसलाई लिखितमा ल्याउन अनावश्यक भन्ने चलन आइसक्यो तर नेपालमा भने जनगणनमा यस विभाजनलाई कहिल्यै छोड्दैन । देशको सर्वाङ्गीण विकासका लागि योजना बनाउँदा कुन धर्म मान्ने मानिस कति छ भनेर थाहा पाउनुपर्ने भएकोले राज्यको लागि यो महत्वपूर्ण आँकडा हो भनेर हामीले बुझ्नुपर्दछ । त्यस जनगणनाको प्रतिवेदनमा बुद्ध जन्म भएको भनेर विश्वय् जोडतोडका साथ प्रचार प्रसार गरिने देश नेपालमा बौद्धहरुको संख्या दशजनामा एक जना पनि छैन भनेर देखाउँछ । हालै सरकारले प्रकाशित गरेको परिणाम अनुसार नेपालमा बौद्धहरुको जनसंख्या ८.२ प्रतिशत मात्र देखिन्छ, जुन १० वर्ष अघिको तथ्याङ्क भन्दा कम छ । के यही भयो त नेपालको परिचय ? यो प्रश्नले अहिले राज्य, बुद्ध नेपालमा जन्मेको भनेर उफ्रिने र विदेशमा प्रचार गर्न मन पराउनेहरुलाई गिज्याइरहेको छ ।

सन् १९११ देखि नेपालमा औपचारिक रुपमा जनगणना गर्ने चलन शुरु भएको थियो । यसरी हेर्दा राज्यले नेपालको जनसंख्याका विविध पक्षलाई लिएर अनुसन्धान गर्न थालेको पनि शय वर्ष भइसक्यों । यस्तो अनुसन्धानले राज्यले बनाउने थरी थरीका योजनामा कसरी असर पार्छ, अथवा राज्यले योजना बनाउने बेलामा यसको परिणमालाई कहाँ कसरी प्रयोगु गर्छ त्यो स्पष्ट छैन । तर पनि यसरी जनगणना लिने क्रम भने जारी छ ।

सन् १९११को जनगणनामा नेपालका बौद्धहरुको जनसंख्या ९.०४ प्रतिशत देखाइएको थियो । सन् १९६१मा यो ९.२५ प्रतिशत पुग्यो । सन् १९७१मा यो फेरि ७.२५ प्रतिशतमा झर्यो । सन् १९८१ सम्म पुग्दा तयो ५.३२ प्रतिशत मात्र देखायो । पछि सन् १९९१मा यो ७.७८ प्रतिशत पुग्यो भने सन् २००१मा त यो बढेर १०.७४ प्रतिशतसम्म पुग्यो । तर २०११मा पुग्दा भने फोरि यो ९.०४मा झर्यो । अहिलेको पछिल्लो जनगणनाको परिणाममा त यो ८ .२१ प्रतिशत मात्र छ भनेर सरकारी तथ्याङ्कले देखाएको छ । यसरी हेर्दा राज्यले अर्बौं खर्च गरेर गरिरहेको जनगणनामा वर्षेनी बौद्धहरुको जनसंख्या कम हुँदै गइरहेको देखिन्छ । यसरी सरकारले विश्वसामु बौद्धहरुको कस्तो चित्र देखाउँदैछ ? यसबारे नेपालका बौद्धहरु सजग हुन जरुरी छ ।

नेपालमा अहिलेको अवस्थामा पहिले जस्तोें बौद्धहरुलाई हिन्दुहरुकहाँ आएर बुद्ध धर्मको प्रचार गर्यो भनेर पक्राउ गर्ने, जरिवाना तिराउने वा देश निकाला गर्ने जस्ता क्रुर शासकहरु छैनन् । तर पनि हिन्दुहरु बौद्धमा अथवा बौद्धहरु हिन्दुमा धर्म परिवर्तन गर्नुपर्ने जस्तो कुनै कारण देखिँदैन । कतै कतै बौद्धहरु इशाइ बने भन्ने समाचार त आउँछ तर यो एक दुइ सयको संख्यामा मात्र हुने अनि समारोह विशेषमा मात्र हुन्छ भन्ने पनि सुनिन्छ । यो धर्म परिवर्तन देशकै जनसंख्याको बनावटमा प्रभाव पार्ने एकाईमा भएको देखिँदैन । बरु वर्तमान समाजमा देखिएको परिदृष्य त यो होकि यहाँ बाहुन छेत्रीहरु बाहेक अरु बुद्ध धर्म मान्ने समुदायहरु, जस्तै तामाङ, मगर, गुरुङ, शेर्पा, राइ, लिम्बू थारु आदिले आफ्नो धर्म नछोडी पनि हिन्दू मन्दिरहरुमा भ्रमण गर्ने अनि हिन्दू चाडपर्व पनि मनाउने गरिआएका भए तापनि अहिले उनीहरुले आफ्नो पहिचानको महत्व बुझेपछि आफ्नो मौलिक धर्म नै लेखाउनु पर्छ भनेर लेखाउन थालेका छन् । यस्तो अवस्थामा हिन्दुहरुको संख्या उल्लेखनीय रुपमा घट्नु पर्ने थियो, तर त्यस्तो भएको देखिँदैन ।

यहाँ स्मरणीय कुरा यो छ कि विभिन्न राजनीतिक कारणले पनि जनसंख्या प्रतिवेदनलाई प्रभाव पारेको देखिन्छ । सन् १९८१ (विसं २०३८साल) भनेको पञ्चायत काल निकै ख्यातीमा रहँदा बौद्धहरुको जनसंख्या ५.३२ प्रतिशत मात्रै देखायो तर सन् १९९१(विसं २०४८साल), जुनबेला प्रजातान्त्रिक वातावरणया समय थियो, धर्मनिरेपेक्षता भनेर संविधानमा लेखिनुपर्ने आन्दोलका लागि देशभरका बौद्धहरुमा जनगणनामा बौद्ध लेखाउने जागरण आएको थियो, यसबेला बौद्ध जनसंख्या ७.६७ प्रतिशत भयो र फेरि सन् २००१ (२०५८ साल) मा यो १०.७४ प्रतिशतसम्म पुग्यो । यो वृद्धि भनेको जनतामा आएको जागरण र यस्तो बेलामा सरकारले जालझेल गर्न सकिँदैन भनेर नै यस्तो प्रतिवेदन निकालेकोले होला भनेर अनुमान गर्न सकिन्छ । यसको एक दशक पछि बौद्धहरुमा त्यस्तो आन्दोलन कमाजोर भयो, जागरणमा खिया लाग्यो । अर्कोतर्फ भारतमा हिन्दुवादी पार्टीको प्रभाव बढ्ने बित्तिकै त्यसको प्रभाव नेपालका नेताहरुमा पर्यो र उनीहरुले भारतको आशिर्वाद पाउनका लागि मन पराएर वा मन नपराइकन पनि हिन्दुवादी चरित्र देखाउन थाल्यो वा हिन्दुधर्मलाई राज्यले काखी च्याप्यो । यसैबेला अमेरिकाले नेपालका पार्टीहरु र नेताहरु भारतको सहयोग लिएर नेपालमा हिन्दुराज्यको कुरा गर्न थालेको भन्ने प्रतिवेदन निकालेको पनि सान्दर्भिक हुन आउँछ । यसो भन्दा नेपालमा धार्मिक स्वतन्त्रताको वातावरण भयो भने र बौद्धहरुले जागरण अभियान चलायो भने यहाँ बौद्धहरुको जनसंख्या बढी देखिने अनि हिन्दुवादीहरु सक्रिय भयो कि बौद्धहरुको जनसंख्या कम देखिने भनेर बुझ्नु पर्ने अवस्था छ ।

यसै पृष्ठभूमिमा अहिलेको अवस्थामा जनगणनाको अनुसार नेपालमा बौद्ध जनसंख्याको बारेमा सरकारले निकालेको प्रतिवेदनका सम्बन्धमा केही कुराहरु बुँदागत रुपमा राख्ने अनुमति चाहन्छु ।

१) सबैभन्दा पहिला नेपालमा हिन्दु ८१.१९ तथा बौद्ध ८.२१ प्रतिशत छ भन्ने तथ्याङ्क स्वीकार्य छैन । यसले नेपालको धार्मिक जनसंख्याको चित्रण सही ढंगले गर्न सकिरहेको छैन । हो, विभिन्न कारणले नेपालमा बुद्ध धर्मको प्रचार प्रसार राम्रोसँग हुनसकिरहेको छैन, सयौं वा हजारौं वर्षदेखि बुद्ध धर्म अँगालेर आइरकहेका समुदायमा पनि धार्मिक विचलन आइरहेको छ, विकृति भित्रिएका छन् । बुद्ध धर्म नै नबुझेको समुदायमा गएर बुद्धको शिक्षा दिन त सकिरहेको छैन नैm बुझेकाहरुलाई पनि सही मार्गमा डोर्याउने मार्गदर्शको कमी छ । त्यसैले जतिले जस्तो किसिमको भएपनि बुद्ध धर्म अँगालिरहेका छन्, उनीहरु अल्पमतमा छन् । तर पनि नेपालको धार्मिक, सामाजिक र जातीय संरचनाका बारे सामान्य जानकारी राख्नेहरुले पनि यसलाई स्वभाविक भनेर लिन सक्ने अवस्था छैन ।
हिन्दु धर्म भनेको जन्म वा वंशको आधारमा मानिने धर्म हो । यसले यस्तो समाजको मात्र कल्पना गरेको छ, जहाँ मानिसहरु कि व्राम्हण क्षेत्री, वैश्य वा क्षुद्र मात्र हुन सक्छन् । यस भन्दा बाहिरका मानिसहरुले उनीहरुको अनुमति लिएर मन्दिरमा ढोग्न जान सक्छन्, व्राम्हण जजमान राखेर संस्कार किन्ने ग्राहक त बन्न सक्छन् तर हिन्दु समाजको अङ्ग बन्न सक्दैन । नेपालमा यी हिन्दुहरु जताबाट तानेपनि ४५ प्रतिशत भन्दा बढी देखाउन सकिने अवस्था छैन । अझ हिन्दु समाज भित्रका दलित भनिएकाहरुमा त्यहीँ भित्रको अमानवीय विभेदका कारण हिन्दु धर्म त्याग्ने लहर चलेको छ । यस बाहेकका हिमाली शेर्पा, मानाङ्गे, पहाडका मगर, गुरुङ, तामाङ, नेवार, राई, लिम्बुभित्र आफु हिन्दुभित्र पर्न नसक्ने भएकोले आफ्नो संस्कार अनुसारको मौलिक धर्म अथवा कि बौद्ध धर्म कि अन्य धर्ममा औपचारिक रुपमा जाने क्रम बढ्दो छ । त्यसमा पनि विशेष गरी पहिला हिन्दु बन्न रुचाउने मगरहरु अहिले सक्रिय ढंगले बौद्ध भनेर चिनाउन अघि बढिरहेका छन् । अर्कोतिर थोरै भएपनि व्राम्हण वा छेत्री परिवारमा जन्मेर पनि कोही कोही बुद्ध धर्मको अध्ययन गरेर धर्मको प्रचारमा समेत सक्रिय छन्, उनीहरुका चेलाहरु संगठनात्मक रुपमा नै सक्रिय छन् । यस्ता कुराहरुले नेपालको धार्मिक मानचित्रमा परिवर्तन देखाउँछ कि देखाउँदैन ?

२) अहिलेको जनगणनाले दिएको तथ्याङ्क सही होइन । यसका पनि तीनवटा पक्ष छन् ।
क) औसत नेपाली बौद्धहरु जनगणनामा बौद्ध टिपाउनु पर्छ, यो गंभीर विषय हो भन्ने चेतना राख्दैनन् ।
ख) केन्द्रीय तथ्याङ्क विभागबाट नै जनगणनामा बौद्धहरु कम देखाउने काम भएको छ । यसका कारण विभिन्न हुन सक्छन्, जस्तै — राज्यले नै नीति बनाएर वा केन्द्रिय तथ्याङ्क विभागका हाकिमहरुको तजबिजमा वा गणकहरुको बहुलठ्ठेपनका कारण । धेरैले उत्तरदातालाई नसोधी गणकले हिन्दु भनेर चढाएको बताएका छन् (व्यक्तिगत कुरा गर्नुपर्दा १२ वर्ष अगाडि मकहाँ आएका गणकले मेरो अगाडि फारम भर्दा मलाई नसोधी हिन्दु लेखे र मैले भनेपछि सच्याएर बौद्ध बनाए । दुइ वर्ष अगाडि मकहाँ गणक नै आएन ।) राजधानीमा यस्तो हाल छ भने मोफसल र दुर्गम गाउँहरुमा अवस्था कस्तो होला ? अनि शिशाकलमले लेखेर लगेको कुरा कहाँ कहिले फेरिन्छ भनेर कसैलाई थाहा छैन । त्यसैले उत्तरदातालाई देखाउन नपर्ने, सही गराउन नपर्ने, सकैको दावी विरोध पर्न नसक्ने यो औपचारिकताका लागि मात्र गरिने जनगणनामा मानिसहरुको विश्वसनीयता नै नरही सक्यो ।
ग) जनगणनामा बौद्धहरुलाई हिन्दु भनेर जनाउने काम भइरहेको छ भनेर यसबारे धेरै कुरा भइरहे । जनचेतना ल्याउने काम हुन थालेको बिसौं वर्ष भइसक्यो । तर अहिले यो काम आफै कर्मकाण्डी खालको मात्र हुन थालेको यथार्थ हामीसँग छ । २०७५ चैतमा लमजुङमा भएको १२औं राष्ट्रिय बौद्ध सम्मेलनको एक प्रमुख मुद्दा जनगणनामा बौद्धहरुलाई कसरी बौद्ध लेख्न लगाउने भन्ने थियो । खुब भासन, तामmभम, साँस्कृतिक रयाली भयो तर त्यसपछिका दिनहरुमा गाउँ गाउँमा शहर शहरमा बौद्धहरुलाई यसबारे शिक्षा र जनचेतना फैलाउने काम जति हुनुपर्ने थियो त्यति भएन । जसरी हिन्दुहरुले आफ्नो संख्या बढी लेखाउन रणनीति बनाएर अगाडि बढे बौद्धहरुले सही तथ्याङ्क लेखाउने काम पनि गर्न सकेन । त्यसको परिणाम हालै सरकारले प्रकाशित गरेको प्रतिवेदन हो । यस्ता बौद्ध विद्वानहरु र संस्थाहरुको काम नै साडे नौ वर्ष सुत्ने अनि प्रतिवेदन निस्केपछि त्यो मिथ्याङ्क हो भनेर दायित्व पुरा गर्ने भएको छ ।

३) औसत बौद्धहरुले जनगणनालाई महत्व दिइरहेका छैनन् । उनीहरुले बौद्धहरु कति प्रतिशत देखाउँदा सही हुन्छ वा कति देखाउँदा गलत भन्नु पर्छ भनेर सरोकार नै देखाइरहेका छैनन् । अझ भन्नु पर्दा उनीहरुले आफु बौद्ध हौं भन्ने कुरा पनि बुझेका छैनन् । उनीहरुका गुरुहरुले तिमीहरु बौद्ध हौ भनेर पनि सिकाएको वा सम्झाएको छैन होला । उनीहरुलाई त कर्मकाण्ड गर्नलाई के के सामान चाहिन्छ वा कति पैसा दान दिनुपर्छ भनेर मात्र घोटाएको हुनसक्छ । अझ ती मध्ये धेरैलाई त धर्म भनेको एउटै हो, हिन्दु बौद्ध भनेर भेद गर्ने वा युद्ध गर्ने कुरा गर्न हुँदैन भनेर पाठ पढाइराखेको हुन्छ । त्यसकारण उनीहरु यस विषयमा विचार शुन्य छन् ।

४) जनगणनामा बौद्ध जनसंख्या कम देखाएको छ भनेर बुझेका बौद्धहरु पनि असन्तुष्ट छैनन् । उनीहरुका गुरुहरुले धार्मिक पहिचान भनेको महत्वपूर्ण कुरा हो, यो अस्तित्व हो भनेर बुझाएकै छैनन् । त्यसकारण बौद्ध समुदाय कति ठुलो छ भन्ने बारे उनीहरुलाई परवाह छैन । उनीहरु हरदम हरेक अवस्थामा सन्तुष्ट छन् । उनीहरुलाई सिकाएकैे शान्ति र क्षान्ति मात्रै । त्यसकारण त राज्यद्वारा नै विभेदमा पारिएपनि उनीहरु हँसिला छन्, धर्मका नाममा नाचगाना र जात्रापर्वमै व्यस्त छन् । अझ त्यहाँ भित्रका कोही कोही “सरकारले भनेर हुन्छ ? हामी यति छौं उति छौं” भनेर कोठामा साथीभाइ बिच गफ लडाइराख्छन् । यस्तो खोक्रो चिन्तनलाई नै आफ्नो बौद्धिकता भनेर प्रदर्शन गरेर उनीहरु थाक्दैनन् । यसमा बुद्ध धर्म पढेर यसलाई जागिर खाने माध्यम मात्र बनाइरहेका विद्वानहरु पर्दैनन्, उनीहरुलाई त यसलाई केही फरक नै पार्दैन ।

५) असन्तुष्ट भएका बौद्धहरु पनि यो असन्तुष्टी प्रदर्शन गर्न जान्दैनन् । यो यथार्थ हैन भनेर बुझेर पनि यो त सही भएन भनेर साथीभाइ बसेर निधार खुम्च्याएर बस्ने वा पुर्पुरोमा हात राखेर चुप लागेर बस्न बाहेक केही जान्दैनन् । उनीहरु राज्य कहाँ छ, कहाँ गएर कसरी आफ्नो कुरा राखेमा राज्यले सुन्छ भन्ने समेत जानकारी राख्दैनन् ।
६) नेपालमा केही समुदाय भित्रका बौद्धहरुलाई आफु बौद्ध हौं जस्तो नै लागेको छैन । उनीहरु खुब परम्पराको कुरा गर्छन् र परम्पराले दिएको भनेर बौद्ध मूर्ति पूजा गर्छन्, तर भगवान बुद्धको मूर्तिलाई हिन्दु देवीदेवता सरह पूजा गर्छन् । उनीहरु बौद्ध स्तोत्रहरु पाठ गर्छन्, ग्रन्थहरु पढ्छन् तर यथार्थमा उनीहरुले बुद्धको शिक्षा अपनाइरहेका छैनन्, उनीहरुको जीवनशैली बौद्ध दर्शनसँग मेल पनि खाँदैन । अझ उनीहरु हिन्दु देवीदेवतालाई बौद्ध नै हो भनेर तर्क गर्दै पूजा गर्छन् । उनीहरुलाई बौद्ध हुनुमा कुनै रुची छैन र खुलेआम हिन्दु र बुद्ध धर्म एउटै हो भनेर प्रवचन दिएर हिँड्छन् । बरु जताबाट राज्यको नजिक हुन सकिन्छ उतै ढल्किन्छन् । उनीहरु बौद्ध भएर पनि जनगणनामा बौद्ध लेखाउन उत्साहित छैनन् ।

७) नेपालमा बौद्धहरुको संस्थाहरु सयौं मात्र हैन हजारौं छन् । उनीहरुको काम बुद्ध धर्म संरक्षण गर्ने, बुद्ध शिक्षा बाँड्ने तथा आफ्नो धार्मिक समुदायको पहिचानका लागि सरकारसमक्ष आफ्नो आवाज राख्ने भनेर सामान्य बुझाइले भन्छ । तर नेपालका अधिकांश बौद्ध संस्थाहरु कसैकसैले राजनीतिक पार्टीसँग सामिप्य राख्न, समाजमा आफ्नो व्यक्तिगत छवि बनाउन वा विदेश भ्रमणको अवसर जुटाउनका लागि मात्र बनाएका हुन् कि जस्तो लाग्छ । यस्तो भन्नु पर्ने कारण यो हो कि ती जब जब आफ्नो धार्मिक अवस्था र अस्तित्वमाथि संकट आउँछ, संस्थाका पदाधिकारीहरु मौन भइदिन्छन् (स्मरणीय छ, केही महिना अगाडि मात्र बुद्ध जन्मस्थल लुम्बिनीमा भारतका एक हिन्दु गुरुलाई रामायण कथा सुनाउन ल्याइयो । लुम्बिनी विकास कोषले यो सही हो भन्ने वक्तव्य दियो, केही बौद्ध संस्थाहरुले विज्ञप्ति निकालेर औपचारिकता पुरा गरे । बौद्धसमाज यो सही हो र गलत हो भन्नेमा विभाजित भए, केही बौद्धहरुले यसको विरोधमा आवाज उठाउँदा स्थानीय भएर आएका मानिसहरुले यो हाम्रो भूमि हो, गर्न दिनुपर्छ भनेर ह्रिंसक प्रतिकारमा उत्रे । यस्तो बेलामा तथाकथित बौद्ध विद्वानहरु मौन नै रहेर आफ्नो पद जोगाए) ।

अहिले जनगणनाको प्रतिवेदन पछिको वातावरण पनि त्यस्तै छ । दश वर्षमा एक चोटी बोल्नु पर्ने विषयमा पनि बोल्नलाई ती संस्थाहरुले अवसर वा हिम्मत जुटाउन सकिरहेको छैन । तिनीहरु अहिले पनि रहस्यमय ढंगले चुप लागेर बसेका छन् । सडकमा जनसागर ओराल्ने त कुरै छोडौं, एक दुइ दर्जन बौद्ध संस्थाहरु पनि एकजुट भएर विरोध प्रदर्शन गरेको देख्न पाइएन । केन्द्रीय तथ्याङ्क विभागमा विरोध पत्र दिन जाने र दबाव सिर्जना गर्ने त टाढाको कुरा भयो, कोठामा बसेर निकाल्न सकिने विज्ञप्ति समेत निकालेको देख्न पाइएन । स्पष्ट छ, यसरी पदमा बस्नेहरु कतै न कतै कुनै न कुनै राजनीति पार्टीसँग आवद्ध छन् । यसरी धर्मको बारेमा केही बोल्यो वा सरकारको विरोध गर्यो भने भोलि कुनै पद नपाइएला, विदेश घुम्न जाने मौका गुम्ला भनेर चुपलागेर बसेको भनेर बुझ्न हामीलाई कठिन छैन । अझ कतिपय बौद्धहरुले संस्थागत रुपमै गुप्त रुपमा हिन्दुराष्ट्र भन्ने राजनीतिक पार्टीहरुलाई समर्थन गरेको भन्ने कुराहरु आइरहेको पनि आधारहिन होइन भन्ने कुराहरु निस्किरहन्छन् ।

अन्तमा, नेपालमा बुद्ध धर्मको भविष्य धेरै लामो देखिँदैन । देशमा बुद्ध धर्मको नाममा कर्मकाण्ड धर्म ब्याप्त भएको छ, जसमा रुढीवादी, भक्तिमार्गी तथा अन्धविश्वासीहरुको अधिक्यता छ । मानिसहरुलाई अध्ययन गरेर सिक्ने र सद्धर्म बुझ्ने चाह नै छैन । अझ कतिपयलाई आफुलाई बौद्ध नभनिदिए वा हिन्दु बन्न पाए धेरै सत्कार गौरव वा आर्थिक लाभ नै होला जस्तो लागेको पनि होला । यस्तो अवस्थामा हिन्दुहरु मात्र मिलेर बनेको सरकारले बौद्धहरुलाई अलग अस्तीत्व भएको धार्मिक समुदायको रुपमा स्वीकार गर्ने कुरै भएन । अहिले ८.२ प्रतिशत भएकोमा आपत्ति जनाउँ, वा मौन रहुँ यो ठुलो कुरा भएन । ठुलो कुरा त तब हुन्छ जब नेपालको भूमिबाट बौद्धहरु खरायोको सिङ्ग जस्तै हुनेछ र केही शताब्दी पछि यहाँको माटोभित्र बुद्धको मूर्ति निस्कियो भनेर समाचार पत्रहरुले समाचार लेख्ने दिन आउनेछ । सबैको मंगल होस् ।

Published in Buddhist monthly “Anandabhoomi” June 2023 Ashadh Purnima.

बौद्ध मासिक आनन्दभूमि पत्रिकामा प्रकाशित २०८० असार पूर्णिमा

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729