सोलुखुम्बु : लामो समयसम्म पानी नपर्दा सोलुखुम्बुमा हिउँदे बाली गहुँ र जौं सुक्न थालेपछि कृषकहरू चिन्तित भएका छन् । खेत बारीमा लगाइएका गहुँले बाला हाल्न सुरु गर्नुपर्ने बेला भएपनि यस वर्ष गहुँ लगाएपछि पानी नपर्दा कृषक निरास बनेका छन् ।
लामो समयदेखि खडेरी हुँदा गहुँ सुक्न थालेपछि कृषक चिन्तित बनेका हुन् । वर्षा नहुँदा र गहुँ सुक्न थालेपछि कृषकलाई भोकमरी हुने चिन्ता बढेको छ । जिल्लाका अधिकांश क्षेत्रमा आकाशे पानीकै भरमा खेतीपाती गरिंदै आएको छ । गहुँ लगाउँदादेखि अहिलेसम्म वर्षा नहुँदा गहुँ सुक्न थालेको सोलु दुधकुण्ड नगरपालिका ११ का सरस्वती कार्कीले बताउँनुभयो ।
बारीको मकै भित्र्याएर गहुँ छरेपछि रोकिएको वर्षा अहिलेसम्म नहुँदा बीउ समेत उत्पादन नहुने चिन्ता कृषकहरूमा परेको छ । हिउँदामा पानी नपरेपछि गहुँको बीउ पनि नआउने भएकाले कृषकलाई पिरोलेको छ । यस वर्ष समयमा पानी नपर्दा गहुँ उत्पादनमा गिरावट आउने कृषि ज्ञान केन्द्र सोलुखुम्बुले आँकलन गरेको छ ।




