लोसार शुरु हुनु दुई दिन अघि, अर्थात १२ औँ महिनाको औँसीको अघिल्लो दिन यस वर्षको फागुन ७ गते वा ङिश्यु गु कृष्णपक्षको चर्तुदसीका दिन आफ्नो घरभित्र र घर वरिपरि सरसफाइ गरि निस्किएको फोहोर र पुराना लुगा कपडा केहि सिक्का नुन खुर्सानी नाङलोमा राखि तीन वटा बाटोको संगम भएको स्थानमा लागि फाल्दा दशाग्रह जाने र घरमा शुभ–लक्षण भित्रने विश्वास गरिन्छ । साथै त्यसदिन गुम्बाहरूमा लामाद्धारा पूजापाठ गर्ने चलन छ । त्यस दिनको साँझमा एक विशेष प्रकारको परिकार गुथक खाने चलन छ ।
‘गुथुक’ को शाव्दिक अर्थ गु नौ थुक मिश्रण अर्थात नौ प्रकारको विभिन्न खाद्यवस्तु मिश्रण गरि बनाइएको एक प्रकारको खाना हो । यो परिकारमा नौ प्रकारको खाद्यवस्तु विभिन्न आकृतिमा र विभिन्न प्रतिकका रुपमा बनाइएको हुन्छ । जसलाई नयाँ वर्षको भाग्य परिक्षणका रुपमा लिइन्छ । जसको भागमा जुन प्रतीक पर्छ सोहीअनुसार फल मिल्छ भन्ने मान्यता छ । जस्तै सूर्यको प्रतीमा तेज, चन्द्रमाको प्रतीकमा प्रसिद्धी, तोर्माको प्रतीकमा इमान्दार, धर्मशास्त्रको ठेलीको प्रतीकमा विवेकशील, चारपाटे आशनको प्रतीकमा आन्नदित हुने विश्वास गरिन्छ । यस्तै, ताराको प्रतीकमा छुच्चो, खुर्सानीको प्रतीकमा चलाख, कोइलाको प्रतीकमा कालोमन, डमरुको प्रतीकमा चञ्चल हुने विश्वासका साथ मनोरञ्जन पूर्वक पुरानो वर्षलाई बिदा गर्ने चलन छ ।
भोलिपल्ट नयाँ सालको पहिलो दिन विहान सवेरै चराचुरुङ्गी अथवा कोही नउठिसकेको समयमा २/३ बजे उठेर पानी पधेरामा गई हातमुख धोइ पानी लिन जाने र पानी लिने धारामा पूजा गरी धारामा करक्याङ (घ्यू), खादा धुपले पूजा पाठ गरी ल्याएको चोखो पानी भगवानलाई चढाउने, पुजापाठ गरी सकेपछि प्रसाद भगवानलाई चढाउने गरिन्छ । त्यस पछि घरका ठुलावडाबाट अशिर्वाद लिइ चिया, खप्सा लगायत प्रसाद खाने र विशेष गरी ‘छ्याङगुल’ (जाँडमा छोर्पी, बदाम, नरिवल किसमिस आदि मिसाएर एक परिकार) खाँदै घर परिवारमा एकआपसमा रमाइलो गर्ने चलन छ । लोसारमा अशुद्धलाई चोख्याउनको लागि नयाँ सालको पहिलो दिन धुपवत्ती बाली साङ सेरङिम् पुजा पनि गर्ने गरिन्छ ।
लोसारका लागि तयार पारेर राखिएका परिकारहरू छिमार, खप्से, लगायतका प्रसाद भगवानलाई चढाउने र घरका सवै परिवार सम्भव भए नयाँ लुगा लगाउने नभए पनि सफा लुगा लगाउने, र मान्यजनको हातबाट आशिर्वाद लिने गरिन्छ । त्यसपश्चात आफ्नो जन्मदिन अनुसारको शुभतिथि हेरि घरको दुरी, आगँन अथवा डाडाँहरूमा गएर दीर्घायु सु–स्वास्थ्यको कामना सहित घरका सबै परिवारको सुख शान्तिको कामना गर्दै ध्वाजा (लुङ्दार) टाग्ने गरिन्छ र आफ्नो घर–छरछिमेकमा लप्सो मनाउने गरिन्छ । लामाबाट (रम्ने) अभिषेक गरेरमात्र लुङ्दार टाग्नुपर्ने हुन्छ । परिवारबीच लोसार मनाई सकेपछि छिमेकीलाई घरमा बोलाएर अहिले शहरीय क्षेत्रमा पिकनिक (बनभोज) आयोजना तथा विभिन्न तरिकाबाट पनि लोसार मनाउने गरिन्छ ।
-पासाङ शेर्पा




