
सिङ्गो एउटा ठुलो ढुङ्गामाथि बनेको फुग्मोछे ङग्युर कर्मा छोलिङ गोन्पा सोलुखुम्बु जिल्लका सोलुदुधकुण्ड नगरपालिका, वडा नं. २, फुग्मोछेमा अवस्थित फुग्मोछे ङग्यूर कर्मा छ्योलिङ गोन्पा सोलुखुम्बु जिल्लकै प्राचीन ऐतिहासिक महत्त्व भोकेका गोन्पाहरू मध्ये एक गोन्पा हो ।
प्राचीनकालमा बौद्ध धर्मको प्रचार–प्रसारको क्रममा तिब्बतबाट धेरै प्रसिद्ध लामाहरू पाल्नु भई करिब १६ औँ शब्तादीदेखि यस स्थानमा ध्यान साधना गर्ने र बौद्ध शिक्षा दीक्षा दिने केन्द्रको रही आएको कुरा विभिन्न धार्मिक गरुपरम्पराको पुस्तकहरूमा पाइन्छ । विशेष गरी ञिङमा परम्पराको डकार अन्तर्गत शिठो रङसल (क्रोधि–शान्ता स्वप्रकाश) को साधना विधिका गुरु परम्पराका गुरुहरू ख्याप्दक कर्मा ङेतोन, उर्गेन साङक तेन्जीन, ङवाङ साङक तेन्जीन, ञयाग्री पेमा छेवाङ, ङवाङ योन्तेन ग्याछो आदि प्रसिद्ध साधक एवम् धर्म गुरुहरूले यस स्थानमा ध्यान साधना गर्नु भएको कुरा प्रस्ट रूपमा पाइन्छ ।
प्राचीनकालमा यस स्थानमा सानो गोन्पा र साधना गृह मात्र रहेता पनि सन् १९३८ मा लामा ङवाङ योन्तेन ग्याछोज्यूको अथक प्रयासमा ठुलो ढुङ्गा माथि सुन्दर तथा सुविधा सम्पन्न ठुलो आकारको गोन्पाको साथै ससानो दायाँ पट्टी भान्सा घर र बायाँ पट्टी आवास गृह पनि निर्माण गर्नुभएको अहिले पनि प्रस्ट रूपमा देख्न सकिन्छ । गोन्पाको परिसरमा परपूर्वकालमा भिक्षुहरूले ध्यान साधन गर्नु भएको ध्यान साधन केन्द्रहरू हाल भग्नावशेषको रूपमा देख्न सकिन्छ । सिङ्गो एउटा ठुलो ढुङ्गाको गुफामाथि गोन्पा निर्माण गरिएकोले ‘‘फुगमोछे गोन्पा’’ अर्थात् ठुलो गुफामाथिको गोन्पा भनी प्रसिद्ध रहेको छ । साथै यस स्थानका प्रथम गुरु ख्याप्दक कर्मा ङेतोनका नामलाई जोडी फुगमोछे ङग्यूर कर्मा छ्योलिङ नामकरण गर्नु भएको देखिन्छ । यस गोन्पाका प्रमुख धर्मगुरु श्रद्धेय लामा ङवाङ जिम्बा लामा शेर्पाज्यूको अथक प्रयासमा सन् १९९२ देखि आवासीय गोन्पा विद्यालय सञ्चालन गर्दै आउनु भएको छ ।
आधारभूत तह कक्षा १ देखि ८ सम्म सञ्चालनमा रहेको हिमालयन शेर्पा बुद्धिष्ट आधारभूत विद्यालय, फुग्मोछेमा हाल ८४ जना छात्रछात्राहरूलाई १२ जना शिक्षकहरूले अध्यापन गर्दै आउनु भएको छ । विद्यार्थीहरू कक्षा ८ उत्तीर्ण गरिसकेपछि माध्यमिक तह र उच्च शिक्षाको लागि देश विदेशका विभिन्न गोन्पा विद्यालय, विद्यालय तथा विश्वविद्यालयहरूमा अध्ययन गर्नका लागि जाने गरिन्छ । हालसम्म त्यस गोन्पा विद्यालयबाट सयौँको सङ्ख्यामा विद्यार्थीहरूले कक्षा ८ उत्तीर्ण गरी देश विदेशका गोन्पा तथा विश्वविद्यालयहरूमा अध्ययनरत रहेको छन् र केहीले आफ्नो उच्च शिक्षा अध्ययन सम्पन्न गरी शिक्षक, चिकित्सक आदि विभिन्न पेसको साथै समाज सेवाको क्षेत्रमा कार्यरत रहेका छन् ।
-धर्म गुरु आचार्य सार्की शेर्पाको फेसबुक बाट