काठमाडौँ – बौद्धमार्गीहरुको प्रसिद्ध तीर्थस्थल विश्व सम्पदामा सूचिकृत बौद्धनाथ स्तुपा अर्थात् ‘छोर्तेन ज्यरुङ खशोर’ बौद्धस्थित शेर्पा सेवा केन्द्रमा १३ औँ ‘ञिङमा मोन्लाम’ सुरु भएको छ ।
नेपाल बौद्ध ञिङमा संघको आयोजनामा १३औँ ञिङमा मोन्लाम (प्रणिधान पूजापाठ) आजबाट सुरु भएको हो । मोन्लाम २२ गतेसम्म सञ्चालन हुने नेपाल बौद्ध ञिङमा संघले जनाएको छ ।
नेपाल बौद्ध ञिङमा संघले २०६६ सालदेखि वार्षिक रुपमा पवित्र स्थल बौद्धनाथ चैत्य परिसरमा मोन्लाम कार्यक्रम आयोजना गर्दै आएको भए पनि बौद्धनाथ चैत्य दर्शन तथा परिक्रमा (कोरा) गन असहज हुने भएकोले आठौँ मोलामदेखि शेर्पा सेवा केन्द्र (शेर्पा गुम्बा)मा आयोजना गरिएको नेपाल बौद्ध ञिङका सदस्य आचार्य सर्की शेर्पाले जानकारी दिनुभयो । विभिन्न गुम्बाहरूका रिन्पोछे, टुल्कु, खेन्पो, लामा, लोपोनहरूको साथै उपसक उपसिकाहरूको सहभागितामा हुने मोन्लाम पूजापाठमा विश्वमै कुनै पनि प्रकारको रोग व्याधि, युद्ध, कलह र प्राकृतिक प्रकोप आदि विघ्न बाधा नभई दिगो शान्ति, सुख, समृद्धिको कामना गर्दै मोन्लाम पाठ गरिने शेर्पा बताउनुभयो ।
नेपालमा रहेका बौद्ध तीर्थहरूको प्रचारप्रसार, धार्मिक तथा सांस्कृतिक महत्वलाई अक्षुण राख्न र आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनको साथै नेपालमा दिगो शान्ति स्थापना गर्नका लागि मोन्लाम कार्यक्रम आयोजना गरिएको नेपाल बौद्ध ञिङमा संघका अध्यक्ष सेङ्डाक टुल्कु रिन्पोछेले बताउनु भयो ।
शेर्पाका अनुसार दैनिक विहान ७ः३० देखि अपह्रान ४ बजेसम्म हुने पाठपूजा कार्यक्रममा महायान बौद्ध परम्परा अनुसार विहान शरण गमन, बोधिचित्त उत्पाद, प्रज्ञापरामिता हृदय सूत्र, आचार्य पद्मसम्भवका सप्त परिच्छेद, आर्य भद्रचर्या प्रनिधान राजा, आर्य मञ्जुश्री नाम सांगीति, तारा स्तुति आदिको साथै मंगल परिणामनाको पाठ गरिने छ ।
व्यक्तिगत स्वार्थ र खुशीको सानो परिधिबाट माथि उठेर समस्त प्राणीहरूको हितार्थ बौद्धमार्गीहरूले सामूहिक रुपमा सम्पूर्ण प्राणीहरूको सुख, शान्ति र संवृद्धिको कामना गर्दै बौद्ध भिक्षु, श्रमणेर, श्रमणेरिका, उपसक, उपसिकाहरूले लयबद्ध रूपमा मोन्लाम मन्त्र पाठ गरिने संघले जनाएको छ ।
पूजा स्थलमा रंगीचंगी विभिन्न आकारमा निर्माण गरिएको तोर्माको साथै आठ प्रकारका पूजा र निर्मल जलले सजाइएको हुन्छ । मन्त्रपाठ गर्न नआए पनि रिन्पोछेहरूको दर्शन र लामाहरूले सामूहिक रुपमा पाठ गरेको देख्न र सुन्न पनि आफुहरु पूजामा सहभागी भएको उपस्थित श्रद्धालु भक्तजनहरूले बताएका छन् ।
पाठपूजा मोन्लाम कार्यक्रममा विशिष्ठ धर्म गुरुहरु
परम श्रद्धेय दिल्गो खेन्चे याङसी रिन्पोछे, परम पूज्य देफुक टुल्कु रिन्पोछे, परम पूज्य खेन्पो साङ्गे राङज्युङ रिन्पोछे, परम पूज्य गेटक रिन्पोछे साथै विभिन्न जिल्लका गुम्बाहरूबाट हजारौँ बौद्ध भिक्षु, श्रमणेर, श्रमणेरिकाहरूको साथै उपसक, उपसिकाहरूको व्यापक उपस्थिति रहेका छन् ।
६ दिनसम्म आयोजना हुने मोन्लाममा विभिन्न संघ-संस्थाहरूबाट स्वयं सेवाहरूले निस्वार्थ रुपमा सरसफाईदेखि मोन्लाममा उपस्थित भिक्षु, श्रमणेर, श्रमणेरिका, उपसक, उपसिका र श्रद्धालु भक्तजनहरूलाई चिया, खाजा, खाना वितरणमा सहयोग गरिरहेको संघले जनाएको छ ।
पासाङ शेर्पा(Yoho khabar)




