0Shares

सोलुदुधकुण्ड नगरपालिका वडा नं. २ मा अवस्थित ङग्युर सेर्गोन लुङ रिग शेडुप लिङ (सेर्लो गोन्पा) को आयोजनामा काठमाडौंको बौद्धस्थित शेचेन गेस्ट हाउस परिसरमा शेर्पा समुदायका महान् विद्वान् तथा इतिहासकार खेन्पो साङ्गे तेन्जीन रिन्पोछेज्यूका कृतिहरूको विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

परम पूजनीय क्याब्जे शेचेन राब्जम रिन्पोछेज्यूको प्रमुख आतिथ्यता तथा सेर्लो गोन्पाका प्रमुख परम श्रद्धेय टुल्कु पेमा थारछिन रिन्पोछेज्यूको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा खेन्पो साङ्गे तेन्जीन रिन्पोछेद्वारा लिखित महत्वपूर्ण दुई वटा कृतिहरू सार्वजनिक गरिएको हो । चाडा फाउन्डेशनको सहयोगमा ङग्युर सेर्गोन लुङ रिग शेडुप लिङ (सेर्लो गोन्पा) ले रिन्पोछेका कृतिहरू संकलन तथा सम्पादन गरी पुस्तकका रूपमा प्रकाशन गर्ने योजना अन्तर्गत यस वर्ष शेर्पा वंशावली र इतिहास सम्बन्धी दुई वटा पुस्तक विमोचन गरिएको हो । बाँकी कृतिहरू वार्षिक रूपमा क्रमशः प्रकाशन गर्ने आयोजकले जनाएको छ ।

खेन्पो साङ्गे तेन्जीन रिन्पोछेज्यूले करिब १२ वर्ष तिब्बतका विभिन्न गोन्पाहरूमा बौद्ध धर्म, दर्शन तथा साहित्यको गहन अध्ययन गरेका थिए । अध्ययनपछि आफ्नै गाउँ फर्केर उनले गोन्पा स्थापना गरी विद्यार्थीहरूलाई अध्यापन गराउनुका साथै भोट व्याकरण, शेर्पा वंशावली, शेर्पाहरूको धार्मिक इतिहास तथा बौद्ध शास्त्रका टीकाहरू लगायतका विषयमा दर्जनौं महत्वपूर्ण ग्रन्थहरू लेखेका थिए ।

कार्यक्रममा विभिन्न रिन्पोछे, टुल्कु, खेन्पो, लोपोनहरूको उपस्थिति रहेको थियो । साथै नेपाल शेर्पा संघका प्रतिनिधि, नेपाल शेर्पा महिला संघका प्रतिनिधि, हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका अध्यक्ष, हिमालयन शेर्पा बौद्ध संस्कृति संरक्षण समाजका प्रतिनिधि, विभिन्न गोन्पा तथा शेर्पा संघसंस्थाका प्रतिनिधिहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो ।

खेन्पो साङ्गे तेन्जीन रिन्पोछेज्यूको संक्षिप्त जीवनी
बौद्ध सूत्र र तन्त्र तथा विविध विद्यामा अत्यन्त निपुण महान् गुरु खेन्पो साङ्ग्ये तेन्जीन रिन्पोछेको जन्म सन् १९२४ मा भोट चन्द्र पात्रो अनुसार सातौँ महिनाको १० गते सोलुदुधकुण्ड नगरपालिका–२, टाक्टोर गाउँमा भएको थियो । उहाँ पिता दावा तेन्पा शेर्पा र माता ङिमा पुटी शेर्पाका सुपुत्र हुनुहुन्थ्यो । बाल्यकालमा उहाँको नाम दावा तेन्जीन शेर्पा थियो । बाल्यकालदेखि नै उहाँ अत्यन्त मेधावी हुनुहुन्थ्यो । आफ्नै पिताबाट भोट भाषा सिक्दै उहाँले छिट्टै लेख्न, पढ्नमा दक्षता हासिल गर्नुभयो ।

मात्र आठ वर्षको उमेरमा उचेन लिपिमा प्रार्थना तथा सदाचारसम्बन्धी लेखहरू लेख्न सक्ने हुनुभयो । एघार वर्षको उमेरदेखि नेपाली भाषा पनि अध्ययन गरी त्यसमा समेत निपुण बन्नुभयो ।

सत्र वर्षको उमेरमा उहाँले सोलुका लामा योन्तेन ग्याछोबाट अभिषेक, आगम तथा धार्मिक शिक्षा लिनुभयो । बीस वर्षको उमेरमा तेङ्गबुछे गोन्पाका धर्मगुरु तोग्देन छुल्ठीमज्यूको सान्निध्यमा रहँदै सम्भोट उमेद् लिपि, व्याकरण, ज्योतिष तथा अन्य शास्त्रहरूको अध्ययन गर्नुभयो ।

सन् १९४१ मा, २१ वर्षको उमेरमा उहाँ तिब्बत प्रस्थान गर्नुभयो । त्यहाँ चिब्री छुजाङका लामा साङ्ग्ये छोफेलज्यूबाट श्रामणेर (गेछुल) को दीक्षा ग्रहण गरी उहाँको नाम ‘साङ्ग्ये दावा’ राखियो । त्यसपछि उहाँले डेपुङ, छम्दो, खामदेगे, पाल्पुङ, जोङ्सार, जोग्छेन, शेचेन आदि प्रसिद्ध गोन्पाहरूमा विभिन्न विद्वान् गुरु,खेन्पोहरूबाट भोट व्याकरण, काव्य, तर्कशास्त्र, ज्योतिष, चिकित्सा तथा विशेषगरी बौद्ध दर्शनका माध्यमिक, प्रज्ञापारमिता, विनय, अभिधर्म र तन्त्रमा गहन अध्ययन गरी पूर्ण दक्षता हासिल गर्नुभयो ।

उहाँले ज्यम्गोन लोटे थायेका शिष्य डिमे लेग्पी लोटोज्यूबाट बुद्ध वचनका आगम, रत्ननिधि लगायतका गूढ शिक्षाहरू तथा विभिन्न महान् गुरुहरूबाट तान्त्रिक दीक्षा र उपदेशहरू प्राप्त गर्नुभयो । ती शिक्षाहरूलाई उहाँले ध्यान, साधना र आध्यात्मिक अभ्यासमा उतार्नु भयो। २९ वर्षको उमेरमा मिन्लिङ रिन्पोछे ङवाङ छोडकज्यूबाट भिक्षु दीक्षा ग्रहण गरी गुह्य तन्त्रसम्बन्धी उच्च शिक्षा पनि प्राप्त गर्नुभइ ३३ वर्षको उमेरमा उहाँ आफ्नै जन्मभूमि फर्कनुभयो ।

सन् १९५७ मा उहाँले धर्म प्रवद्र्धनका उद्देश्यले “ङग्युर सेर्गोन लुङ रिग शेडुप लिङ” नामक गोन्पा स्थापना गर्नुभयो । ३५ वर्षको उमेरमा विद्यालय स्थापना गरी सयौँ विद्यार्थीहरूलाई बौद्ध धर्म, दर्शन तथा भाषा शिक्षा प्रदान गर्नुभयो । उहाँले भोट व्याकरण, शेर्पा वंशावली, शेर्पाहरूको धार्मिक इतिहास, बौद्ध शास्त्रका टीकाहरू लगायत विभिन्न विषयमा महत्वपूर्ण ग्रन्थहरू पनि रचना गर्नुभयो । यसरी उहाँले आफ्नो सम्पूर्ण जीवन धर्म तथा समस्त प्राणीहरूको कल्याणमा समर्पित गर्नुभयो । अन्ततः सन् १९९० जुलाई १२, बिहीबारका दिन ६७ वर्षको उमेरमा उहाँले महापरिनिर्वाण प्राप्त गर्नुभयो ।

उहाँको महापरिनिर्वाण पश्चात् उहाँका प्रमुख शिष्य परम श्रद्धेय टुल्कु पेमा थारछिन रिन्पोछेज्यूले गोन्पाको व्यवस्थापन सम्हाल्नुभयो । उहाँको नेतृत्वमा गोन्पामा विद्यार्थीहरूका लागि आवास, ध्यानकक्ष, पुस्तकालय लगायतका संरचनाहरू निर्माण गर्नुभइ निःशुल्क अध्ययन, अध्यापनको व्यवस्था गर्नुभयो । साथै, विभिन्न महान् रिन्पोछेहरूलाई आमन्त्रण गरी विद्यार्थी तथा स्थानीय श्रद्धालुहरूलाई आगम, अभिषेक, शिक्षा र दीक्षा प्रदान गर्ने कार्य निरन्तर जारी राखिएको छ । सन् २०१५ को विनाशकारी भूकम्पले गोन्पामा ठूलो क्षति पु¥याए पनि टुल्कु रिन्पोछेको पहलमा यसको पुनर्निर्माण सम्पन्न गरिएको छ । यसरी खेन्पो साङ्ग्ये तेन्जीन रिन्पोछेज्यूको धर्मसेवा र शिक्षाको परम्परा आज पनि निरन्तर रूपमा अघि बढिरहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729