नेपाल शेर्पा संघको आयोजनामा नवनिर्वाचित प्रतिनिधि सभा शेर्पा सांसदहरू, नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)का पदाधिकारी तथा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका प्रतिनिधिहरूलाई बधाईसहित सम्मान गरेको छ ।
शुक्रबार आज नेपाल शेर्पा संघको सभाहलमा नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरु, सुम्निमा उदास शेर्पा, मिङ्मा डेभिड शेर्पा, डा. ओजस्वी सेरचन शेर्पा, नेपाल आदिवासी जनजाति महासंघको ११ औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष निमा लामा ह्योल्मो सहितका पदधिकारीहरु र राष्ट्रिय आदिवासी जनजाति महिला महसंघका अध्यक्ष शोभा सुनुवार तथा पदधिकारीहरुलाई बधाई शुभकामनासहित सम्मान गरेको हो ।
नेपाल शेर्पा संघका अध्यक्ष लाक्पा ठिलेन शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष लाक्पा शेर्पाले हिमाली क्षेत्रमा विद्यमान संरचनागत विभेदका कारण त्यहाँबाट प्रतिनिधित्व हुन कठिन रहेको उल्लेख गर्नुभयो । उहाँले एकात्मक राज्य व्यवस्थाका कारण हिमाली क्षेत्र राज्यविहीन जस्तो अवस्थामा रहेको बताउँनुहुँदै नवनिर्वाचित शेर्पा सांसदहरुले नीति निर्माणका क्रममा हिमाली क्षेत्रका मुद्दाहरूलाई प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँका अनुसार राज्यले हिमाली क्षेत्रमा आधारभूत सेवा–सुविधा पु¥याउन नसक्दा स्थानीय बासिन्दा काठमाडौं लगायत तल्लो भूभागतर्फ बसाइँ सर्ने क्रम बढिरहेको छ । परम्परागत चौँरी व्यवसाय समेत कमजोर बन्दै गएको उल्लेख गर्दै उहाँले पहिलेको तुलनामा अहिले अवस्था निकै नाजुक बनेको बताउनुयभो ।
कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष शोभा सुनुवारले आदिवासी महिलाको हकअधिकारका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनहरूको कार्यान्वयनमा महासंघले निरन्तर पहल गर्दै आएको बताउनुभयो । उहाँले ५० वटा आदिवासी महिला संघसंस्था महासंघमा आबद्ध रहेको जानकारी दिँदै नेफिन र महिला महासंघबीच थप सहकार्य आवश्यक रहेको धारणा राखिनुभयो ।
त्यस्तै, नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)का अध्यक्ष निमा लामा ह्योल्मोले शेर्पा संघले उठाएका मागहरू पूरा गर्न महासंघ प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले पहिचान र अधिकारका मुद्दामा सबै जातीय संघसंस्थाहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । साथै, २०७२ सालको संविधानले सुनिश्चित गरेका आदिवासी जनजातिका अधिकारहरूको संरक्षण गर्दै संसदमा आदिवासी सांसदहरू एकजुट भएर कार्यान्वयनमा लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो
प्रतिनिधिसभा सदस्य सुनिमा उदास शेर्पा र डा. उजस्वी संस्थन शेर्पाले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा समावेशी नीति आवश्यक रहेको उल्लेख गर्दै राज्यका सबै संरचनामा आदिवासी समुदायको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने बताउनुभयो ।
त्यसैगरी, सांसद मिङ्मा ग्याबु शेर्पा (डेमिट)ले आफू ताप्लेजुङको विकट क्षेत्रबाट पर्यटन क्षेत्रमा भरिया हुँदै संसदसम्म पुगेको अनुभव सुनाउँदै अब अधिकारसँगै आर्थिक समृद्धितर्फ उन्मुख हुनुपर्ने बताउनुभयो । उहाँले हिमाली क्षेत्रको समग्र विकास अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष पासाङ शेर्पा, नेपाल शेर्पा महिला संघककी अध्यक्ष तथा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी सचिव थाक्ची शेर्पालगायतले पनि बोल्नुभएको थियो ।




