कुलुङ्ग शेर्वी किदुकले शैक्षिक सत्र २०८१-८२ मा SEE उत्तीर्ण गरी नर्सिङ विषय अध्ययन गरिरहेका शेर्पा महिला विद्यार्थीलाई लक्षित गर्दै छात्रवृत्ति पुरस्कार प्रदान गर्ने भएको छ ।
किदुकले नेपालको कुनै पनि मान्यता प्राप्त शैक्षिक संस्थामा PCL वा सो सरहको तहमा नर्सिङ विषय लिई अध्ययनरत शेर्पा महिला विद्यार्थीहरूमध्ये १ जनालाई “स्व. फुरनिमा शेर्पा स्मृति विद्या पुरस्कार” अन्तर्गत छात्रवृत्ति प्रदान गर्न लागेको हो ।
उक्त पुरस्कारका प्रायोजक नावाड पाल्देन शेर्पा (चेरेम) रहनु भएको छ भने पुरस्कार राशि रु. ५०,००० रहेको छ । छात्रवृत्तिका लागि आवेदन दिने विद्यार्थीले शैक्षिक सत्र २०८१-८२ मा SEE परीक्षा उत्तीर्ण गरी हाल नर्सिङ विषय अध्ययनरत हुनुपर्नेछ ।
छात्रवृत्ति छनोटको प्रमुख आधार SEE मा प्राप्त गरेको अङ्कलाई मानिने किदुकले जनाएको छ । SEE मा सबैभन्दा धेरै अङ्क प्राप्त गर्ने १ जनालाई छात्रवृत्ति प्रदान गरिनेछ । यदि दुई वा सोभन्दा बढी आवेदकको प्राप्ताङ्क समान र उच्च भएमा गोलाप्रथामार्फत छनोट गरिनेछ ।
आवेदन दिन इच्छुक विद्यार्थीले छात्रवृत्ति उप-समिति संयोजक, राखी कुलुङ्ग शेर्वी किदुकलाई सम्बोधन गरी नेपाली वा अंग्रेजी भाषामा निवेदन पेश गर्नुपर्नेछ । निवेदनसँगै हाल अध्ययनरत शैक्षिक संस्थाबाट नर्सिङ विषय अध्ययन गरिरहेको सिफारिस पत्र, SEE को शैक्षिक प्रमाणपत्र र प्रवेशपत्रको प्रतिलिपि, नेपाली नागरिकता वा जन्मदर्ता प्रमाणपत्र, आमाबुबाको नागरिकताको प्रतिलिपि तथा एक प्रति पासपोर्ट साइजको रंगीन फोटो अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।
छात्रवृत्तिका लागि आवेदन दिने अन्तिम म्याद वि.सं. २०८२ माघ मसान्त रहेको आयोजकले जनाएको छ । तोकिएको समयभित्र आवेदन पेश गरेका विद्यार्थीहरूलाई मात्र छनोट प्रक्रियामा सहभागी गराइने किदुकले स्पष्ट पारेको छ ।
आवेदन किदुक कार्यसमितिका कुनै पनि पदाधिकारी वा सदस्यलाई भौतिक रूपमा बुझाउन सकिनेछ । साथै, सम्पूर्ण आवश्यक कागजातहरूको डिजिटल प्रतिलिपि किदुकको आधिकारिक इमेल kulungsherpasociety@gmail.com मा पठाएर पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
कुलुङ्ग शेर्वी किदुकले यो छात्रवृत्ति कार्यक्रमले शेर्पा समुदायका महिला विद्यार्थीहरूलाई नर्सिङ शिक्षा अध्ययनमा थप हौसला र सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।






