0Shares

दोलखा — चीनसँग सीमा जोडिएको दुर्गम बिगु गाउँपालिका–१ लप्चीकी लमु दावा शेर्पालाई गाउँमा उम्मेदवार पुगेको भए धेरै कुरा सुनाउने मन थियो । ८३ वर्षीय शेर्पालाई अहिलेसम्म लप्चीमा उम्मेदवार पुगेर भोट मागेको र जितेपछि पनि आएको थाहा छैन । आफूले भोग्न नपाए पनि तल्लो पुस्ताले परिवर्तन आत्मसात् गर्न पाउने आशामा हरेक निर्वाचनमा उनले मत दिन भने छाडेकी छैनन् ।

‘कोही चुनावमा उठेको मान्छे आएको भए लप्चीका धेरै कुरा सुनाउने रहर थियो,’ उनले भनिन्, ‘तर कोही आउँदैन । लप्चीका समस्या सुनाउने सपना यो पटक पनि अधुरै भयो । उमेरले नेटो काटिसक्यो, खोइ अब त त्यो आशा पनि छैन ।’

बर्खा र हिउँद गरी ६ महिनाभन्दा बढी समय लप्ची गुमनाम हुन्छ । गाउँमा कोही बिरामी परे आफन्तलाई खबर गर्न फोन गर्नकै लागि तामाकोसी भीरको कहालीलाग्दो बाटो एक दिनसम्म हिँड्नुपर्छ । त्यसकारण पनि बिरामी परे हेलिकप्टरको विकल्प छैन । आर्थिक अवस्था बलियो हुनेले हेलिकप्टर चार्टर गरेर उपचार गर्न काठमाडौं लैजान्छन् । नहुनेले मृत्यु कुरेरै बस्नुपर्ने अवस्था रहेको शेर्पाले सुनाइन् ।

स्वास्थ्य, शिक्षा, बिजुली, बाटो कुनै पूर्वाधार छैन गाउँमा । लप्चीवासीको मुख्य आम्दानीको स्रोत हो याक र चौंरीपालन । करिब ५ सयजति याक र चौंरीपालन भइरहेको छ । चौंरीबाटै एक परिवारले वर्षमा ५ लाखदेखि १५ लाख रुपैयाँसम्म आम्दानी गर्छन् । मुख्य बजार चीनको फलाक हो । कोरोना महामारीका कारण ३ वर्षदेखि सीमा बन्द भएर चौंरीको दूधको छुर्पी, घिउ तथा बाच्छा बेच्न नपाएको बताउँछन्, ६० वर्षीय फुजुङ शेर्पा । ‘मुख्य बजारसम्म पुग्नै ठप्प भएपछि आम्दानी छैन, साँझ–बिहानको छाक टार्नै सकस भइसक्यो,’ उनले भने, ‘उम्मेदवार एक पटक गाउँ आएका भए सीमा बन्द भएपछि हामीलाई परेका समस्या देख्ने थिए ।’

हरेक निर्वाचनमा जितेर गएकाहरूले पनि यहाँका समस्याबारे नबोलेकामा उनीहरू असन्तुष्ट छन् । ‘यो ठाउँ त राज्यविहीन जस्तो भएको छ,’ उनले भने, ‘तर सीमामा बसेर हामीले गरेको रेखदेख कसले देख्ने ?’ लप्चीमा ४६ परिवारका १ सय ५० जनाको बसोबास छ । जसमध्ये ६१ जना मतदाता छन् । नेपालकै नागरिक भएकाले कोही उम्मेदवारले नसम्झे पनि गाउँलेबीचमा सल्लाह गरी मतदान गर्ने तयारीमा रहेको अर्का स्थानीय नातार शेर्पाले बताए ।

२०७२ वैशाखको भूकम्पले यहाँस्थित विद्यालय भवन भत्कियो । पठनपाठन ठप्प भयो । स्थानीयले आफ्ना सन्तानलाई काठमाडौंमा राखेर पढाइरहेका छन् । पढ्नका लागि २ दिनसम्म हिँडेर लामाबगर आउनुपर्ने भएपछि लप्ची गुम्बा व्यवस्थापन समितिले गाउँका सबै बालबालिकालाई काठमाडौंका विद्यालयमा भर्ना गरिदिएको हो । फोनसमेत नलाग्ने भएका कारण अभिभावकले महिनौंदेखि आफ्ना छोराछोरीको हालखबरसमेत बुझन् नपाएको बताउँछिन्, डोमा शेर्पा ।

नाका बन्द भएपछि लप्चीवासी खाद्यान्न लिन पनि लामाबगर झर्ने गरेका छन् । गएको भदौमा कान्तिपुरले ‘लप्चीमा भोकमारीको डर’ शीर्षकको समाचार प्रकाशन गरेपछि सरकारले असोजमा २ सय बोरा चामल पठाएको थियो । ‘नाका बन्द हुँदा ३ वर्षदेखि एक रुपैयाँ आम्दानी छैन,’ डोमाले भनिन्, ‘हाम्रो समस्या सुन्न न चुनावमा उठेका मान्छे आउँछन्, न सरकारका, लप्चीको समस्या कसले देख्छ ?’ सरकारले पठाएको खाद्यान्न सकिनै लागेको उनले सुनाइन् ।

सीमा बन्द भएपछि आम्दानीको मुख्य स्रोत गुमेकाले धेरैले लप्ची छोडेको अर्की स्थानीय छिरिङ डोमा शेर्पाले सुनाइन् । ‘आर्थिक अवस्था राम्रा भएकाहरूले गाउँ छाडे,’ उनले सुनाइन्, ‘हामी कमजोर मान्छे कता जाने के गर्ने ?’

माथिल्लो भेगमा हिमपात हुन थालेपछि याक, चौंरी धपाएर लप्चीवासी लुम्नाङ झर्छन् । खाद्यान्न ढुवानी गर्नका लागि पनि आकाश हेर्नुपर्ने अवस्था रहेको आङदावा शेर्पाले बताए । ‘खाद्यान्न किन्न पनि औल झर्ने सोचमा छौं । हामी त जेनतेन बाच्छौं तर याक, चौंरी बचाउनै मुस्किल पर्छ,’ उनले भने ।

अझै पनि उम्मेदवार गाउँमा आउनेमा उनले आशा मारिसकेका छैनन् । ‘चुनाव आउन अझै १०–१२ दिन बाँकी नै छ, कोही त आउलान् नि भोट माग्न,’ उनले भने, ‘हरेक पटक मतपत्र त समयमै आउँछ तर उम्मेदवार किन नआउने हुन् कुन्नि !’

सरकारले आफूहरूको दैनिकी सहज बनाइदिन कुनै पहल नगरेको बताउँछन्, कर्मा वाइसर शेर्पा । ‘लामाबगरबाट आफैं प्रतिकेजी सय रुपैयाँ भाडा तिरेर खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘सरकारले चाह्यो भने त यो गाउँमै पुर्‍याइदिन सक्थ्यो नि ! तर हामी भए–नभएको उसलाई थाहै छैन ।’ आफूहरूले चिनियाँ पक्षको समेत दुर्व्यवहार खेप्नुपरेको उनले गुनासो गरे ।

बेदिङमा पनि उस्तै हाल

लप्चीकै जस्तो गौरीशंकर गाउँपालिका–९ स्थित बेदिङमा पनि हालसम्म भएका कुनै पनि निर्वाचनमा उम्मेदवारहरु पुगेका छैनन् । रोल्वालिङ उपत्यका, च्छो–राल्पा हिमतालदेखि पर्यटनका अनेकौं सम्भावना बोकेको गाउँ हो बेदिङ । तर, यहाँको विकास र सम्भावनबारे सरोकारवाला बेखबरजस्तै छन् ।

‘आरोहीको गाउँ’ भनेर चिनिने बेदिङमा विभिन्न मुलुकबाट पर्यटक आइपुग्छन् तर निर्वाचनमा भोट माग्न भने कोही आउँदैनन् । ‘गाउँमा ९१ जना मतदाता छौं । तर, बेदिङ उम्मेदवारले पाइला नटेक्ने गाउँ बनेको छ,’ दावाछिरिङ शेर्पाले भने ।

लप्चीमा जस्तो टेलिफोन र विद्युत्को समस्या यहाँ छैन । तर, अन्य पूर्वाधार अभाव र विद्यालय नहुँदा बालबालिकाको शिक्षाकै लागि गाउँ छाड्नेको संख्या बर्सेनि बढ्दो रहेको उनले सुनाए । ‘बेदिङका अधिकांश स्थानीयको काठमाडौंमा घर छ । यही कारण उम्मेदवार गाउँ आउनभन्दा भोट माग्न काठमाडौं नै पुग्ने गर्छन्,’ उनले भने, ‘अहिलेसम्म हामी भोट बैंकका रूपमा मात्रै प्रयोग भयौं । विकासको नाममा कसैले सिन्कोसमेत भाँचेनन् । राजनीतिक रूपमा पनि हामीलाई उपेक्षा भयो ।’ बेदिङ जिल्लाकै पर्यटकीय गाउँ हो भनेर नथाक्ने नेताले निर्वाचनपछि भने चटक्कै बिर्सने गरेको उनको आरोप छ ।

-कान्तिपुर दैनिक बाट साभार 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729