काठमाडौँ – नेपाल शेर्पा संघले आयोजना गरेको २० दिने निःशुल्क लोकसेवा तयारी कक्षा सम्पन्न भएको छ । संघले शुक्रबार प्रतिनिधि सभाका सांसद जिपछिरिङ लामाको प्रमुख आतिथ्यतामा २० दिने लोकसेवा तयारी कक्षा सञ्चालन समापन गरेको हो ।

निजामती सेवामा शेर्पाहरूको उपस्थिति बढाउन लोकसेवा कक्षा संचालन गरेको नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पाले बताउनुभयो । शाखा अधिकृत तहको २० दिने तयारी कक्षामा विभिन्न जिल्लाका युवा सहभागी भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि लामाले राज्यले सबै आदिवासी–जनजातीहरूलाई एउटै बास्केटमा हालेको हुँदा निजामती क्षेत्रमा शेर्पा समुदायको कम सहभागी हुन पुगेको बताउनुभयो । उहाँले सुगम र विकसित क्षेत्रको जनजाती मात्रै निजामती क्षेत्रमा सहभागी हुने र दुर्गम र पिछडिएका क्षेत्रका व्यक्तिहरूको कम पहुँच रहेको बताउनुभयो । लामाले राज्यले सबै जनजातीहरूलाई प्रतिशतको आधारमा कोटा निर्धारण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल शेर्पा संघका केन्द्रीय अध्यक्ष गेल्जेन शेर्पा लामाले निजामती क्षेत्रमा नाम लेखाउन सफल शेर्पाहरूलाई संघले उचित सहयोग र सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले लोकसेवा नाम निकल्ने सम्पूर्ण युवाहरूलाई धैर्यता र मेहनतका साथ अघि बढ्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो–‘तपाईंको सफलता नै शेर्पा संघको सफलता हो, त्यसैले तपाईहरूको धैर्यता र मेहनतका साथ निजामती कर्मचारीको नाम निकाल्न सफल हुनुहोस्, हामी सम्मान र सहयोग गर्न सदैव रहने छौँ ।’

लोकसेवाको अन्य तहको कार्यक्रमसमेत तत्कालै सञ्चालन गर्ने जानकारी दिँदै उहाँले भन्नुभयो– ‘हामीले बार्षिक कार्यक्रम बनाएका छौँ । छिट्टै नायब सुब्बा र खरिदार तहको कार्यक्रम सञ्चालन गर्छौँ ।’ योग्यता पुगेका शेर्पा युवाहरूलाई आगामी वैशाखबाट केन्द्रीय कार्यालयमा खरिदार र नायब सुब्बा तहको तालिम सञ्चालन गर्ने केन्द्रीय सचिवालयले निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

प्रशिक्षार्थीहरुलाई यातायात, खाना, खाजा, वासको समेत व्यवस्थापन गरिएको कोषाध्यक्ष आङकाजी शेर्पाले जानकारी दिनुभयो । शेर्पा युवाहरूलाई निजामति सेवा प्रवेश गर्न हौसला प्रदान गर्दै निजामति क्षेत्रमा सहभागि बढाउने हेतुले कार्यक्रमको आयोजना गरिएको संघले जनाएको छ ।
२१ जुलाईबाट संचालन भएको निःशुल्क लोकसेवा कक्षामा सहभागीलाई समापन समारोहमा प्रमाणपत्र पनि वितरण गरिएको छ ।