काठमाडौँ – नेपाल शेर्पा संघले आगामी जनगरणा २०७८ को तथ्यांक विवरण भर्दा आफ्नो शेर्पा थर लेख्न नभूल्न अपिल गरेको छ ।
संघले १२ औँ राष्ट्रिय जनगणना २०७८ मा सोधिने प्रश्नको उत्तर सही रुपमा टिपाउन र टिप्न पनि अपिल गरेको हो ।

शेर्पा संघको शिक्षा, स्वास्थ्य तथा जनसंख्या विभागले जनगणना–२०७८ को सन्दर्भमा प्रस्ताव पत्र पेस गरे लगतै अपिल जारी गरेको जनाएको छ । आगामी जेठ २५ देखि असार ८ गतेसम्म हुने जनगणना लगत संकलनमा घरदैलो, टोलमा आउने गणकहरुद्धारा सोधिने प्रश्नावलीको सही जवाफ दिन समेत आग्रह गरेको छ । मूख्य बुँदाहरु ३.६, ३.७, ३.८, ३.९, र ३.१० को उत्तर ठीक–ठीक रुपमा दिन संघले आग्रह गरेको छ ।

‘जनगणनाबाट आउने तथ्याङले आर्थिक, सामाजिक, सांस्कृतिक, राजनैतिक लगायतका क्षेत्रमा महत्वपूर्ण भूमिका र प्रभाव पार्दछ ।’ अपिलमा भनिएको छ ‘यस महाअभियानमा सम्पूर्ण शेर्पा समूदायले अनिवार्य सहभागिता र सक्रियतापूर्वक भूमिका निर्वाह गर्नु नितान्त जरुरी छ ।’

आफ्नो जातीय पहिचान, भाषा, धर्मबारे स्पष्ट रुपमा टिपोट गर्न अनुरोध गर्दै बुँदा न. ३.६– प्रश्नः जाति÷जाति के हो ? को उत्तरः शेर्पा, बुँदा नं. ३.७– प्रश्नः पूर्खाको भाषा कुन हो ? उत्तरः शेर्पा, बुँदा न. ३.८ – प्रश्नः मातृभाषा कुन हो ? उत्तरः शेर्पा, बुँदा नं.३.९– प्रश्नः दोस्रो भाषा कुन हो ? उत्तरः नजिकैको कुनै आदिवासी समुदायले बोलिने भाषा वा नेपाली ।, बुँदा न. ३.१०– प्रश्नः धर्म कुन मान्नु हुन्छ ? उत्तरः बौद्ध÷बुद्ध भनेर उल्लेख गर्नुपर्ने भनिएको छ । त्यस्तै कतिपय शेर्पाहरुको थर मात्रै टिपाउने गरेकोमा आगामी जनगणनामा थरसँगै शेर्पा अनिवार्य लेख्न भनिएको छ । थरसँगै जात अनिवार्य लेख्नुपर्ने हुन्छ अन्यथा गलत हुने उल्लेख गर्दै संघका अध्यक्ष गेल्जे लामा शेर्पाले ‘कुनैको थर लामा हो भनेपनि लामा शेर्पा लेख्न लगाउनुपर्छ’ भनेका छन् । नागरिकतामा लामा मात्रै भएकाले पनि जनगणनामा शेर्पा लेख्नु पर्ने संघको सुझाव छ ।

संघले अपिलमा थप भनेको छ ‘कुनै द्धविधा भएमा स्थानीय जनप्रतिनिधी, शेर्पा शिक्षक कर्मचारी, राजनैतिककर्मी बुद्धिजिविहरुसँग सल्लाह लिनु हुन र सामाजिक अभियान्तहरुले आफ्नो गाउँटोल, छिमेकमा यसरी नै सही तथ्याङ संकलनमा सहयोग गरी दिन समेत आग्रह गरेको छ ।
संघले निकट भविष्यमा नै जनगणनाको सन्दर्भमा विभिन्न कार्यक्रम तयार गरी अघि बढाइएको समेत जनाएको छ ।

कार्यक्रम अन्तर्गत केन्द्र, प्रदेश र जिल्लास्तरमा अभिमूखिकरण कार्यक्रम, सचेतना गोष्ठि, श्रव्यदृप्य सामाग्री मार्फत व्यापक प्रचारप्रसार, रेडियोहरुमा सूचना प्रसारण, देशभर युवा स्वयमसेवक परिचालन लगायन गर्ने तयारी गरेको शिक्षा, स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख दावा शेर्पाले जानकारी दिनुभयो ।