काठमाडौँ – शेर्पा सञ्चार समूह नेपालको अध्यक्षमा पासाङ शेर्पा सर्वसम्मत निर्वाचित हुनुभएको छ । राजधानीमा शनिबार भएको छैटौँ महाधिवेशनबाट उहाँ सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको प्रमुख अतिथ्यतमा शनिबार नेपाल शेर्पा संघको हलमा सम्पन्न छैटौँ महाधिवेशनबाट पासाङ शेर्पा अध्यक्षतमा १५ सदस्य नयाँ कार्यसमिति चयन भएकोे छ ।
वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, उपाध्यक्षमा ङिमा तेण्डी शेर्पा, महासचिवमा डोल्मा शेर्पा, सहसचिवमा मिङमा शेर्पा, कोषध्यक्षमा ल्हमु शेर्पा, सहकोषाध्यक्ष दिकु शेर्पा निर्वाचित हुनुभएको छ । सदस्यहरूमा डोमा शेर्पा, दिकी डोल्मा शेर्पा, सोनाम शेर्पा, डोल्मा शेर्पा, तेन्जिङ शेर्पा र दिकी शेर्पा निर्वाचित हुनुभएको छ ।

छैटौँ महाधिवेशन तथा १२ औँ साधारणसभाको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गर्नुभएको थियो । मन्त्री गुरुङले सञ्चार क्षेत्रको विकासका निम्ति आफुले सक्ने सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । शेर्पा समुदायको विकासमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण बताउँदै उहाँले सदैव सहयोग रहने विश्वास दिलाउनुभयो ।

कार्यक्रममा हिमाली बौद्धधर्मलम्बीहरुको राष्ट्रिय चाड तथा नयाँ वर्ष च्याक् मो लाङ लो २१४८ ग्याल्पो लोसारको शुभकामान आदानप्रदान समेत भएको संस्थाका महासचिव डोल्मा शेर्पाले बताउनुभयो ।

सञ्चार क्षेत्रमा शेर्पाहरुको सहभागिता र उत्प्रेरण साथै संगठित गराउन एकदशक अघि स्थापना भएको शेर्पा सञ्चार समूह नेपाल अहिले संस्थाको लक्ष्य प्राप्तीमा निरन्तर सफल भइरहेको नवनिर्वाचित अध्यक्ष शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो ‘विधि र विधान अनुरुप निर्वाचित भएको कार्यसमितिले समुदायको संगसंगै संस्थाको विकास तथा विस्तारमा निश्पक्ष र तटस्थ भएर संस्थाका पदाधिकारीहरुले आ–आफ्नो भूमिका निर्वाह गर्नेछौँ ।’ शेर्पा सञ्चार समूहले समाचारलेखन, उद्घोषण, फोटो पत्रकारितालगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले ६ जिल्लामा शाखा विस्तार समेत गरिसकेको छ ।