काठमाडौँ – शेर्पा संघ बेलायतको अध्यक्षमा आङ दावा शेर्पा निर्विरोध निर्वाचित भएका छन् । कोरोना भाइरसका कारण संघका अध्यक्ष साना शेर्पाका निधन भएपछि विशेष अधिवेशन गरी सर्वसम्मत रूपमा अध्यक्ष चयन गरिएको हो ।
आठौँ अधिवेशनमार्फत चुनिएको नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्ष ङवाङ योन्तेन ग्याछो लामा शेर्पा, उपाध्यक्ष आङ लाक्पा शेर्पा, महासचिवमा रिन्जी शेर्पा लामा, सचिवमा डोल्मा शेर्पा, कोषाध्यक्षमा नुरी शेर्पा र सहकोषाध्यक्ष काजी शेर्पा छन् ।
विश्व शेर्पा संघका अध्यक्ष आङ दोर्जी शेर्पा लामाको प्रमुख अतिथि आतिथ्यमा भएको कार्यक्रममा नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे शेर्पा लामा, नेपाल शेर्पा महिला संघका अध्यक्ष ङिमी शेर्पा र विभिन्न देशका शेर्पा किदुगका अध्यक्ष अतिथि रहेका थिए ।
भर्चुअल रूपमा सम्पन्न विशेष अधिवेशनमा शेर्पा सँस्कृतिसँग सम्बन्धित नाचगान पनि प्रस्तुत गरिएको थियो । विशेष अधिवेशनमा वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र विधान संशोधन सर्वसम्मत रूपमा पारित गरिएको छ ।
नयाँ कार्यसमिति चयनका लागि काजी शेर्पा संयोजक, गोम्बा शेर्पा सदस्यसचिव र रिन्जी शेर्पा (आसफोर्ड) सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।