काठमाडौँ – सोलुखुम्बुको तेङबोचे गुम्बाका चौथो अवतारप्राप्त धर्मगुरु रिम्पोर्छेको निधन भएको छ । सगरमाथाको काखमा रहेको विश्वप्रसिद्ध तेङबोचे गुम्बाका प्रमुख लामा ङवाङ तेन्जिङ जाङपोको निधन भएको छ । ८५ वर्षको उमेरमा उहाँले सोलुखुम्बुकै नाम्चे बजारमा शनिबार राति प्राण त्याग्नु भएको हो । उहाँ तेङबोचे गुम्बाको चौथो अवतार प्राप्त रिम्पोर्छे लामा हो । बौद्धधर्ममा तेङबोचे गुम्बा नेपालकै महत्त्वपूर्ण गुम्बामध्ये एक हो । यस गुम्बामा उहाँले ५ वर्षको उमेर देखिनै प्रमुखको भूमिका निर्वाह गर्नुभएको थियो । अर्थात् उहाँ ८१ वर्षसम्म यस गुम्बामा रहनुभयो ।

बुबा पासाङ नामग्याल र आमा पाल्जो दिकीबाट वि.स.१९९२ मा शरणनायक अवतारी ङवाङ तेन्जिङ जाङपो रिन्पोछेको जन्म भएको थियो । बाल्यकालदेखि धार्मिक आचरण अपनाउने स्वभावका लामा यस गुम्बाका तेस्रो अवतारी लामा तेङबोछे वी लामा ८५ वर्षमा निधन भएपछि चौथो अवतारको ङवाङ तेन्जिङ जाङपोले पुनर्जन्म प्राप्त गर्नुभएको थियो । उहाँको निधनले खुम्बु क्षेत्र र बौद्धमार्गी शोकमा छन् । उहाँको पाँचौँ पुनर्जन्म अर्थात् अवतारको कामना गर्दै पूजापाठ पनि भइरहेको छ । गुम्बा विकास समितिका पूर्व अध्यक्ष तथा लुम्बिनी विकास कोषका पूर्वसदस्य साथै विभिन्न संघ संस्थामा उहाँको भूमिका सक्रिय थियो ।

उहाँ शुभराज्याभिषेक पदक २०३१, सेवा पदक २०३४, गोरखा दक्षिणबाहु चौथो, त्रिशक्तिपट्ट मानपदवी २०५७, को राष्ट्रिय मानपदवी र विश्व वन्यजन्तु कोषको अन्तर्राष्ट्रिय पुरस्कार २०५७ आदि पुरस्कारबाट सम्मानित हुनुभएको थियो ।
उहाँको पार्थिव शरीरलाई अहिले नाम्चे बजारमा राखिएको छ । आगामी सोमबार नाम्चेबाट तेङबोचे गुम्बासम्म शवयात्रा गरी लैजाने तयारी छ । त्यसपछि अन्त्येष्टि गर्ने वा स्तुपा निर्माण गरी राख्ने भन्नेबारे यकिन भएको छैन ।

७२ वर्षको उमेरमा उहाँलाई पेटको क्यान्सर थियो । उपचारपछि उहाँको शरीर सामान्य अवस्थामा थियो । चौथो अवतारी रिम्पोर्छे तीन दाजुभाइमध्ये जेठो हुनुहुन्छ भने उहाँका दुई दिदी हुनुहुन्थ्यो । एक भाइबाहेक सबैको निधन भइसकेको छ । बौद्धधर्म परम्परामा पटकपटक पुनर्जन्म अर्थात् अवतार प्राप्त भएका रिम्पोर्छेलाई ठूलो धर्मगुरुको रूपमा पुज्ने गरिन्छ ।