काठमाडौ – शेर्पा सञ्चार समूह नेपालले सञ्चालन गरेको १० दिने शेर्पा तथा नेपाली भाषा उदघोषण तालिम सम्पन्न भएको छ । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष डण्ड गुरुङको प्रमुख आतिथ्यमा तालिमको समापन गरिएको हो । तालिममा सहभागी २२ जनालाई प्रमाणपत्र वितरण गरिएको छ ।

शेर्पा सञ्चार समूहले तालिमको समापन समारोह सँगै २१४६ औं स मो फाग ल्होको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम पनि आयोजना गरेको थियो ।

तालिमको समापन गर्दै प्रमुख अतिथि एवं फोनिजका अध्यक्ष डण्ड गुरुङले उदघोषण तालिमले शेर्पा समुदायका युवाहरुमा बोल्ने क्षमताको विकास हुने बताउनुभयो । बेला बेलामा आयोजना हुने यसप्रकारका तालिमहरुले सञ्चारकर्मी उत्पादनमा पनि सहयोग पुग्ने उहाँको भनाइ थियो । ‘भोलिको दिनमा राम्रो उदघोषक यहीबाट उत्पादन हुन सक्छ, दिन प्रतिदिन खुल्दै गरेका मिडियाहरुमा जनजाति पत्रकारहरुको सहभागिता बढाउन पनि यस प्रकारका तालिमहरु आयोजना भइरहन आवश्यक छ’ अध्यक्ष गुरुङले भन्नुभयो ।

उहाँले २१४६ औं ग्याल्पो लोसारको शुभकामना पनि व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल महिला संघकी अध्यक्ष ङिमी शेर्पाले यस्ता तालिमहरु सञ्चालन गरेपछि शेर्पा समुदायका व्यक्तिहरुमा पहिलो भन्दा अहिले परिवर्तन आएको बताउनुभयो । यस्तै हिमालयन शेर्पा साँस्कृतिक केन्द्रका अध्यक्ष छिरिङ शेर्पाले उदघोषण तालिमले शेर्पा समुदायमा मात्र नभई अन्य कार्यक्रमहरु पनि सञ्चालन गर्न शेर्पा युवाहरु सक्षम हुने बताउनुभयो ।

शेर्पा सञ्चार समुह नेपालकी अध्यक्ष निम्लेकी शेर्पाले यस्ता तालिमहरु निरन्तर सञ्चालन गर्दै लगिने बताउनुभयो । उहाँले तालिम सञ्चालनका लागि सहयोग गर्ने संघसंस्था तथा व्यक्तिलाई धन्यबाद व्यक्त गर्नुभयो ।

तालिम सञ्चालनका लागि शेर्पा किदुक दोहा कतार र ई,बी,सी ट्रेकिङ एक्सपिडिसनले सहयोग गरेको थियो ।

तालिमको समापन सत्रमा हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका अध्यक्ष छिरिङ शेर्पा, शेर्पा सेवा केन्द्रका महासचिब आङ गेल्जेन शेर्पा, नेपाल महिला संघकी अध्यक्ष ङिमी शेर्पा, नेपाल शेर्पा विद्यार्थी संघका महासचिब डेमाछिरिङ शेर्पा, बरिष्ठ गायक लाक्पा शेर्पा, शेर्पा कलाकार संघका महासचिब दावा के शेर्पा, मिस शेर्पा दापुटी शेर्पा, मिस टीन मिङमार ल्हमु शेपार्, मिस्टर टिन शेर्पा तेन्जिङ शेर्पा लगायतको सहभागिता थियो ।