प्रदेशको नाम ‘सगरमाथा’ होस्

‘सगरमाथा’ (चोमोलुङ्मा) सिंगो नेपालको सान र नाम हो भन्दा अतियुक्ति नहोला। संसारको सबैभन्दा अग्लो चुचुरो, जो कसैले आँटेर, चढ्ने र छुने त अलि परको विषय हो। यसलाई हेर्न मात्र पनि केही साहस नगरी सम्भव छैन । प्रत्यक्ष आफ्नै आँखाले सगरमाथा हेर्न केही न केही साहस र आँट गर्नै पर्दछ । यसको दृश्य अवलोकन गर्न खर्चिलो तर सजिलो उपाय भनेको काठमाडौंबाट दैनिक सञ्चालनमा रहेका माउन्टेन फ्लाइटबाट गर्न सकिन्छ तर यसमा पनि साहस र आँट नभई सम्भव छैन ।

पहिलो त रकम खर्च गर्ने आँट हुनु पर्यो । दोश्रो त्यो सानो जहाजमा एक घण्टा उडान भर्न साहस गर्न सक्नु पर्छ। यदि यी दुई आँट र साहस गरेपछि काठमाडौंबाट उडान हुन्छ । उडानले जमीन छाड्ने बित्तिकै विमान सकुशल फर्केर काठमाडौंमा अवतरण हुन्छ कि हुँदैन भनेर मनमा खुलदुली हुन्छ । हिमालमा सिधै ठोकिएला झैँ गरी उडेको विमान कहिलेकाँही टर्बुलेन्सको सामना गर्नु पर्दछ र विमान हल्लिन थाल्छ । अनि सातो जान थाल्छ । यदि धेरै आँट र साहस गरेपछि पनि सगरमाथा देखिने पक्का हुँदैन । मौसमले साथ दिनु पर्छ । यदि मौसमले साथ दिएन भने त्यतिकै फर्किनु पर्ने हुन्छ । तर मौसम सफा भए चाँदी झैँ टलटल टल्केका हिमालहरु लहरै देख्न सकिन्छ । साँझ सूर्यास्त समयमा सबै हिमाल सुनौलो हिमालमा परिणत हुन्छ। बिहान चाँदी र साँझमा सुनजस्तै देखिने हिमालसँगै सगरमाथालाई आफ्नो आँखाले हेर्न सकिन्छ । क्षमता हुने र चाहना राख्नेहरुको लागि हेलिकोप्टर रिजर्भ गरेर पनि सगरमाथा हेर्न जान सकिन्छ ।

हवाई मार्गबाहेक सगरमाथालाई प्रत्यक्ष आफ्नै आँखाले हेर्न काठमाडौंबाट कम्तीमा एक वा दुई दिनको मोटर यात्रा तय गर्नु पर्दछ। त्यसपछि सोलुखुम्बु पुगिन्छ र त्यहाँको केही निश्चित डाँडाबाट सगरमाथाको दृश्य अवलोकन गर्न सकिन्छ । सगरमाथाको आधार शिविर जाने हो भने काठमाडौंबाट करिब आधा घण्टा लुक्लाको हवाई उडानपश्चात् कम्तीमा १० देखि १२ दिनको पैदल यात्रा तय गर्नु पर्दछ । सगरमाथाको आधारशिविर भन्दा अगाडि गोरक्स्याप सम्म खाने र बस्नेको ठाउँको व्यवस्था छ। गोरक्स्यापबाट बेस क्याम्प एकै दिन गएर आउन सकिन्छ तर बेसक्याम्पबाट सगरमाथा देख्न सकिँदैन। गोरक्सयापबाट बेस क्याम्प प्रस्थान गर्दा देब्रेतिर उकालो लागेमा काला पत्थर जाने बाटो देखिन्छ ।

कालापत्थरको करिब नजिक पुग्दै गर्दा सगरमाथालाई आफ्नै आँखाले हेर्ने अवसर प्राप्त हुन्छ । यसका लागि करिब ५ हजार ५०० मिटर उचाई प्राप्त गर्नु पर्दछ । यात्रा गर्दा स्वास्थ्यमा कुनै समस्या नआए यात्रा पूरा गरी सगरमाथा हेर्न सकिन्छ, नत्र सगरमाथा आफ्ने आँखाले हेर्न असम्भव छ । त्यसैले यो ‘सगरमाथा’ आफैँमा साहासिक नाम हो ।

अहिले प्रदेश नम्बर १ को नामकरणबारे बहस र छलफल भएको विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालरुमा देखिएको छ । प्रदेशको नामसँग अलि बढी सरोकार राख्नेहरु आफ्नो चाहनाबमोजिम प्रदेश नम्बर १ को नाम राख्न आआफ्नो तर्क अघि सारेर बहस र छलफलमा व्यस्त देखिन्छन् । यो परिवेश र समयलाई मध्यनजर गर्ने हो भने प्रदेश नम्बर १ को नाम ‘सगरमाथा’ नामकरण गर्दा कसैलाई असर पर्दैन । सगरमाथाले कसैको पहिचानलाई पनि समाप्त गर्दैन । सगरमाथा नामकरण गर्दा संकीर्ण र साम्प्रदायिक नाम पनि हुँदैन । बरु यसले त सबैको पहिचानलाई सम्मान र नेतृत्व गर्छ । यो नामले मात्रै पनि सबैको शिर ठाडो पारिदिन्छ र हामी सबै गौरवको अनुभूति गर्छौँ । सगरमाथा नामले सिंगै राष्ट्र र नेपालीको पहिचानसमेत नेतृत्व गरेको छ । सिंगो पृथ्वीमा समेत अरु हिमाल भन्दा यसको आफ्नो छुट्टै पहिचान छ । सिंगै हिमालयको देवीमाता (चोमुलुंमा) सगरमाथाको महत्व र विशेषताबारे हामी सबै नेपाली जानकार छौँ । त्यसैले यो चानचुने नाम होइन । प्रदेशहरुको नामकरण भइसकेका प्रदेशले गरेका सही नामकरणबाट समेत शिक्षा लिँदै प्रदेश नम्बर १ मा ‘सगरमाथा प्रदेश’ नामकरण कन्जुस्याईं नगरौँ