ताप्लेजुङ–ताप्लेजुङका दुई बेग्लै स्थानमा भीरबाट लडेर दुईजनाको मृत्यु भएको छ । चौंरीलाई घाँस लिन जाँदा पापुङ गाविस– ३ निवासी ३१ बर्षीय सुङदाक्पा शेर्पाको ज्यान गएको हो।

व्यपारिक केन्द्र हान्दु्रङ बजारमा सामान लिन चौंरी लिएर आउदै गरेका शेर्पा भोकाएका चौंरीलाई घाँस संकलन गर्न खोज्दा पापुङ र नाल्बु बीचमा पर्ने भीरबाट लडेका थिए । भीरबाट लडेका शेर्पाको घटना स्थलमै मृत्युु भएको जिल्ला प्रहरी कार्याल ताप्लेजुङका प्रहरी प्रमुख, डिएसपी रामबहादुर केसीले जानकारी दिए। स्थानीय डण्डु शेर्पाले भीरबाट लडेका शेर्पाको तत्कालै ज्यान गएको र गाँउलेले थाहा पाएर प्रहरीलाई खबर गरेको बताए ।

उता तेल्लोक गाविस–१ मा भीरबाट लडेर अन्दाजी ४५ बर्षिय स्थानीय रामबहादुर मावोको ज्यान गएको छ । छिमेकीको बिवाह भोजमा सहभागी भएर घर फर्कने क्रमम फुन्द्रुवा भीरबाट लडेका मावोको पनि घटना स्थलमै ज्यान गएको स्थानीय काजी भट्टराईले जानकारी दिए । प्रहरीले यो घटनाका बारेमा भने आफूहरुलाई जानकारी नभएको बताएको छ ।

Source:nagarik News