डिप्रेसनका कारण, लक्षण र समाधानका उपाय

काठमाडौँ,  चैत ९।  मनोरोग भनेको मनको रोग हो । जब हामीमाथि तनाव हावी भई त्यसले हाम्रो दैनिकीलाई असर पार्छ भने त्यो मनोरोग हो।

सामान्य तनाव सबैलाई हुन्छ । तनाव नहुने मानिस हँुदैन । तर, त्यही तनाव बढी हुनु भनेको रोग हो । कहिले विभिन्न कारणले मनोरोग हुनेगर्छ भने कहिलेकाहीँ बिनाकारण निराशापन छाउँछ ।
अझै पनि हाम्रो समाजमा तनाव वा निराशापन देखिएमा मानसिक रोगकै संज्ञा दिने गरिन्छ । तर, त्यसो होइन।
डिप्रेसन कम कडा खालको मानसिक रोग हो । हाम्रो मन मस्तिष्कले हामीलाई सामान्य तरिकाले चलाइरहेको हुन्छ । तर, कहिलेकाँही विशेष कारणले मन दुःखी भयो र त्यही दुःखको अवस्था लामो समयसम्म रहिरह्यो भने त्यसलाई डिप्रेसन भनिन्छ। मन दुःखी, उदास भयो भने केही समयमा सामान्य अवस्थामा फर्किहाल्छ । तर मन सामान्य रुपमा फर्किएन अनि दुई हप्तासम्म उदासी कायम रह्यो र अरु लक्ष्यण पनि देखिए भने डिप्रेसन भएको हुन सक्छ।

किन हुन्छ डिप्रेसन?
शरीरभित्रको रसायनमा कमी हुनासाथ त्यसले डिप्रेसन ल्याउँछ । हामीभित्र खुसी वा दुखी बनाउने ‘न्युरो ट्रान्समिट्स’ हुन्छ । मस्तिष्कमा पाइने ‘सेरोटोनिन’, ‘इपिनैफरिन’, ‘नौरडपिनैफरिन’, ‘डोपामिन’ जस्ता विभिन्न रसायनको कमीले गर्दा डिप्रेसनको अवस्था आउन सक्छ । ती रसायनहरुले हामीभित्रको भावना सन्तुलनमा राखेको हुन्छ । यिनै तत्वको कमी भयो वा तलमाथि भयो भने धेरै दुःख लाग्ने वा अत्याधिक खुसी हुने, मनमा निराशा छाउने, निद्रा नलाग्ने, चाहिनेभन्दा बढी जाँगर लाग्ने वा हराउने जस्ता व्यवहार देखिन थाल्छ। यो अवस्थालाई डिप्रेसन भएको मानिन्छ।

कसलाई बढी हुन्छ
डिप्रेसन हुन कुनै उमेर समूह भन्ने हुँदैन तर बढी युवा र महिलामा यो समस्या देखिन्छ । त्यसो त बालबालिका तथा प्रौढ मानिस पनि डिप्रेसनको सिकार हुने गर्छन् । अस्पतालमा अधिकांश महिला पारिवारिक समस्याले तनाव भएर आएको पाइन्छ । डिप्रेसनको समस्या लिएर मकहाँ आउनेमध्ये २५ देखि ४५ वर्ष उमेरका महिला–पुरुष अधिक छन्।

बच्चालाई पनि हुन्छ डिप्रेसन
बच्चालाई मनोरोग भएमा उनीहरु स्कुल जान नमान्ने, गृहकार्य नगर्ने, नखेल्ने, धेरै चकचक र झगडा गर्ने, धेरै मानिस भएको ठाउँमा जान नमान्ने, डराउनेजस्ता लक्षण देखिन्छ।

बच्चाले उमेर अनुसार सोच्ने कुरा सोच्न नसक्नु, धेरै रिसाउनु, उमेर अनुसार मानसिक र बौद्धिक विकास नहुनु र साधारणभन्दा भिन्न खालको व्यवहार देखाउनु बाल मनोरोगका लक्षण हुन्। बाल मनोरोगका लक्षण फरक–फरक हुन्छन् । उमेर अनुसार आफ्नो क्षमताले काम गर्न नसक्ने, आवश्यकभन्दा धेरै खुसी वा दुखी हुने, धेरै रिसाउने, एउटै कुरालाई पटकपटक दोहो¥याइरहने, खेल्न मन नगर्ने, एक्लै बस्छ रुचाउने जस्ता गतिविधिलाई बाल मनोरोगको लक्षणका रुपमा बुझ्नुपर्छ। यदि अभिभावकमध्ये कसैलाई डिप्रेसन छ भने बालबालिकालाई बाल मनोरोग हुने सम्भावना धेरै हुन्छ । अभिभावकलाई डिप्रेसन छ भने र स्कुलमा पनि बालमैत्री व्यवहार गरिँदैन भने बालबालिकामा मनोरोगको समस्या देखिने गर्छ। पारिवारिक अनबनले तनाव बढाउन सक्छ । तर, पहिलेभन्दा समय फेरिएको छ । आफूमा केही फरकपन आएमा मनोचिकित्सककहाँ परामर्श लिन आउनेहरुको संख्या बढेको छ । आफ्ना बच्चामा केही फरक व्यवहार देखेमा पनि सल्लाह लिन आउने परम्पराको विकास भइरहेको छ । तर, हामीकहाँ आउने सबै बिरामी नै भएका हुँदैनन् । आएकामध्ये केहीलाई मात्र औषधि चलाउनुपर्छ।