माघ १, २०७३- विश्वमा छरिएका नेपालीहरुको संख्या दिनप्रतिदिन बढ्दो छ । जहाँ नेपालीको संख्या बढ्दो छ, त्यहाँ नेपाली कला संस्कृति र धर्मको जग पनि बस्दै गएका छन् ।
विदेशमै परिवारसहित वर्षौ बस्ने नेपालीहरुलाई जन्म मृत्युजस्ता धार्मिक संस्कार अनुशरण गर्न असहज स्थिति उत्पन्न हुने गर्छन् । त्यसैले जुन देशमा नेपालीहरुको संख्या हजारौं पुग्छन् त्यहाँ मन्दिर र गुम्बाहरु स्थापना हुन थालेका छन् । यसैक्रममा दक्षिण कोरियामा रहेका नेपालीहरुले पनि हालै सोल नेपाल गुम्बाको स्थापना गरेको छ । डेढ दशकभन्दा बढी कोरियामा बस्दै आएका बौद्ध लामा गुरु कुन्साङदोर्जे लामाको नेतृत्वमा गुम्बाको स्थापना भएको हो । २०१६ नोभेम्बर २६ तारिखबाट सञ्चालनमा ल्याएका गुम्बाको जनवरी ८ तारिख औपचारिक रुपमा उद्‌घाटन गरिएको छ । राजदूतावासका कार्यवाहक राजदूत किरण शाक्यको उपस्थितिमा गुम्बा उद्‌घाटन गरिएको थियो ।

बुद्ध धर्मका प्रवर्दक गौतम बुद्ध नेपालमा जन्मेको हो भन्ने प्रमाण दिन र नेपाली कला र संस्कृतिलाई कोरियामा पहिचान गराउन पनि गुम्बा स्थापना गरिएको प्रमुख लामा कुन्साङले बताए । साथै कोरियामा नेपाली चाप बढ्न थालेपछि नेपालीहरुको जन्म, मृत्यु र शान्तिपूजाजस्ता धार्मिक संस्कार पूरा गर्न गुम्बाको स्थापना गरिएको गुरु लामाले थपे ।
कोरियामा आपतविपदमा परेका नेपालीहरुलाई खान बस्नदेखिको सुविधा उपलब्ध गराउने लामाले बताए । कोरियामा गौतम बुद्ध जन्मेको देश कपिलवस्तु भारतमा पर्छ लेखिएको पुस्तक स्वयम् बौद्धमार्गीहरुले नै पढ्ने गरेको तीतो अनुभूति सुनाए लामाले ।

कोरियाका बौद्ध संघ संस्थाबाट सहयोग लिएर गुम्बा सञ्चालमा ल्याए पनि अब यसलाई अगाडि बढाउन र फैलाउन नेपाल सरकार र कोरियामा रहेका नेपाली समुदायहरुलाई सहयोग गर्न लामाले आग्रह गरेका छन् । गुम्बामा नेपाली कला झल्कने थान्का र मण्डलाको प्रचारप्रचार गर्ने र नेपाली कला र संस्कृतिअनुसार पूजापाठ गरिदिने लामाले थपे ।

हाल घर भाडामा लिएर सञ्चालनमा ल्याएको गुम्बामा ३ फिट ३६ इन्चको बुद्धको प्रतिमा राखिएको छ । गुम्बालाई कौरियन सरकारमा दर्ता गरी

एतिहासिक रेकर्ड राख्ने उद्देश्य लिएको उनले थपे । करिब ७ करोडवन (७ लाख रुपियाँ) को लागतमा गुम्बा सुरुवात गरिएको छ । कोरियामा रहेका विभिन्न नेपाली समितिहरुको प्रतिनिधिसहित ११ सदस्यीय गुम्बा सञ्चालक समिति बनाइएको छ ।

समितिको अध्यक्षमा ह्योल्मो सम्पर्क समितिका ङवाङ दोङपा, नेपाल बौद्ध परिवारका रमेश श्रेष्ठ उपाध्यक्ष, मनाङ परिवारका प्रकाश लामा सचिव, मुस्ताङ परिवारका ज्ञान गुरुङ कोषाध्यक्ष र सुरज गुरुङ सञ्चार विभाग हेर्छन् । सदस्यहरुमा नेपाल तामाङ संघका उइनासिंह तामाङ, तमुधिंका प्रदीप गुरुङ, शेर्पा संघका दावा रिन्जीङ शेर्पा, नेवा:पुचका निर्मल महर्जन, बुद्धीजीवी तामाङ संघका रविन तामाङ र नुप्री समाजका निमा धोन्डुप रहेका छन् ।

पछिल्लो समय वदैशिक रोजगार (इपिएस) मार्फत कोरिया आइपुगेका नेपालीहरुको संख्या ३५ हजार नाघेको छ । इपिएसमार्फत कौरिया प्रवेश गरेका नेपालीहरु पाँच वर्ष लगातार बस्न पाउने प्रावधान भएकाले पनि कोरियामा नेपालीहरुको चाप बढ्दो छ ।