सरकार-फोरम वार्ता : उपप्रधानमन्त्रीमा कुरो नमिलेपछि सहमति जुटेन

काठमाडौं फागुन १८ – संघीय समाजवादी फोरमलाई पनि सरकारमा ल्याउने पछिल्लो प्रयास उपप्रधानमन्त्री पदमा आएर रोकिएको छकेही दिनयता चलेको एमाले-माओवादी र फोरमबीचको वार्तामा संविधान संशोधनमा लगभग सहमति भइसके पनि फोरम अध्यक्ष यादवले आफूलाई उपप्रधानमन्त्री पनि बनाउन माग गरेपछि निष्कर्षविहिन भएको छलफलमा सहभागी एक नेताले बताए। फोरमलाई परराष्ट्रसहित अर्को एक मन्त्रालय दिन भने सत्ता पक्ष तयार रहँदै आएको छ। ‘म पहिले पनि उपप्रधानमन्त्री भइसकेको छु’, बैठकमा यादवले प्रश्न गरेका थिए, ‘हैसियत घटेर कसरी सरकारमा जानु?’  यादव झलनाथ खनाल नेतृत्वको सरकारमा यादव उपप्रधान तथा परराष्ट्रमन्त्री बनेका थिए। त्यसअघि प्रचण्ड नेतृत्वको सरकारमा भने उनी परराष्ट्रमन्त्री मात्रै थिए।अघिल्लो सरकारमा ६ जना उपप्रधानमन्त्री बनाएका प्रधानमन्त्री केपी शर्मा ओली यसपटक उपप्रधानमन्त्रीविहीन मन्त्रिपरिषद् बनाउने सोचमा छन्। त्यसैले उनले ईश्वर पोखरेललाई मन्त्रिपरिषद्मा दोस्रो वरीयता दिए पनि उपप्रधानमन्त्री बनाएनन्। माओवादीबाट सरकारमा नेतृत्व गरेका रामबहादुर थापा ‘बादल’ पनि गृहमन्त्री मात्रै हुन्। यादवलाई उपप्रधानमन्त्री दिनेबित्तिकै पोखरल र बादललाई पनि उपप्रधानमन्त्री बनाउनुपर्ने हुन्छ। उपप्रधानमन्त्रीविहीन मन्त्रिपरिषद् बनाउने सोचविपरीत ३ जना उपप्रधानमन्त्री हुनेछन्। मन्त्रिपरिषद् विस्तारबारे बाहिर सकारात्मक सन्देश गइरहेको बेला यादवले राखेको अडानले नकारात्मक बुझाइ जाने भएकाे प्रधानमन्त्रीले असहमति राखेको बैठकमा सहभागी ती नेताले बताए।

नेपाल लाइभ