गणतन्त्र नेपालको पहिलो आमनिर्वाचनले मुलुकमा राजनीतिक स्थिरताको लागि बलियो सन्देश दिएको छ । निर्वाचनमा पाँच वटा राजनैतिक दलले मात्र राष्ट्रिय मान्यता प्राप्त गरेका छन् भने मुलुकको प्रमुख राजनीतिक शक्तिको रुपमा नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्र, राजपा र संघीय समाजवादी फोरम स्थापित भएका छन् । मेरा अघिल्ला आलेखहरुमा निर्वाचनपछि आधा दर्जन भन्दा कममात्र राजनीतिक दलहरु संसदमा स्थापित हुनेछन् भन्ने विश्लेषण थियो । जुन यतिबेला सत्य सावित भएको छ । पाँच वटा दलले मात्र राष्ट्रिय मान्यता प्राप्त गर्न सफल भएको छन् । सही रुपमा भन्ने हो नेपाल राजनीतिक रुपमा नयाँ युगमा प्रवेश गरेको छ ।

नेपालमा हरेक १०–१० बर्षमा राजनीतिक परिवर्तनको परिवेश देखा पर्दै आएको इतिहास औंल्याउने हो भने २०६४ सालमा सम्पन्न संविधान सभाको निर्वाचनपछि विभिन्न आरोहअबरोहहरु पार गर्दै २०७२ सालमा नेपालको संविधान २०७२ जारी भयो । त्यसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थापित गर्यो । त्यो संविधानको सफल कार्यान्वयन त्यति वेला मात्रै संभव थियो जतिवेला संविधानले परिकल्पना गरेको संघीय संरचना अन्तर्गतका तीनै तहको निर्वाचन सम्पन्न भई सरकारहरु निर्माण हुनु आवश्यक थियो । हामीले स्थानीय तहको निर्वाचन सम्पन्न गरेर स्थानीय सरकार निर्माण गर्न सफल भएका छौं । मंसिर १० र २१ गते सम्पन्न संघीय संसद प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको छ । सो निर्वाचनको समानुपातिक मतपरिमाण समेत घोषणा उन्मुख रहेको छ । यसरी हेर्दा नेपालको संविधान २०७२ अव सम्पूर्ण रुपमा कार्यान्वयन भएको छ । यसले अब नेपाललाई नयाँ युगमा प्रवेश गराएको छ ।

अब हाम्रा सबै खाले राजनीतिक मुद्दा र विमतीहरुको अन्त्य भएको छ । अबको नेपाल दिगो शान्ति, राजनीतिक स्थिरता र आर्थिक समृद्धीतर्फ उन्मूख हुनु जरुरी देखिन्छ । निर्वाचनको दौरानमा वाम गठवन्धन र लोकतान्त्रिक गठवन्धनवीच भएका आरोप प्रत्यारोप र वैमनश्याताहरुलाई अन्त्य गर्दै अब दलहरुले बलियो सरकार निर्माण गर्ने र अर्को पक्षले सशक्त प्रतिपक्षको भूमिकामा रुपान्तरित भई काम गर्ने छन् । नेपालको राजनीतिका वर्तमान शिखर पुरुषहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा वाली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई यो निर्वाचनमा नेपाली जनताले जनमतद्धारा मुलुकको आर्थिक समृद्धी गर्न तालाचावी सुम्पेका छन् । जनताले कसलाई किन जितायो–पराजित गर्यो भन्ने तर्फ लाग्नु भन्दापनि अब नयाँ जनादेश अनुसार अगाडी बढ्नु दलहरुको प्रमुख दायित्व रहन्छ ।

यो निर्वाचनमा जनताले धेरै ठूलो विवेकको प्रयोग गरेको पाइन्छ । नेपाली जनता संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढ र प्रतिबद्ध रहेको देखियो । २ नं. प्रदेश बाहेक अन्य सबै क्षेत्रमा जनताले नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसलाई नै चयन गरेर पठाएका छन् । परिवर्तन प्रति ढुलमुले नीति लिएका अन्य राजनीतिक दलहरुलाई जनताले अस्वीकृत गरिदिए भने हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था माग गर्ने पार्टीलाई जनताले राष्ट्रिय राजनीतिकको दृश्यबाट नै वाहिर पठाई दिए । नेपाली जनता प्रगती, परिवर्तन र अग्रगमनको पक्षमा अडिग छन् भन्ने सन्देश यो निर्वाचनले दिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा झण्डै ९७ प्रतिशत मतदान भएको अवस्था देखियो । जसले गणतन्त्रलाई आत्मसाथ गर्दै अघि बढेको छ तिनै पार्टीहरुलाई मात्र जनताले चयन गरी सरकार सञ्चालन र प्रतिपक्षको भूमिका निर्वाह गर्न पठाएको देखिन्छ । यसबाट पनि अब कुनैपनि खाले परम्परागत प्रतिगामी सोच वा चिन्तन लिएर नेपाली राजनीतिमा अघि बढ्न सकिँदैन भन्ने सन्देश यो आम निर्वाचनले दिएको छ । ती दलहरुले अब परिवर्तनलाई आत्मसाथ गर्दै नयाँ शिराबाट आफूलाई अघि बढाएर आगामी निर्वाचनको लागि तयार पार्न जरुरी देखिन्छ । यो निर्वाचनले विगत २८ बर्षदेखि नेपाली राजनीतिमा सत्ताको निर्णायक भूमिका समेत खेल्दै आएको राप्रपा प्रजातीका सबै दलहरुलाई जनताले रुचाएनन् । सत्ता लिप्सा र पार्टी विभाजन नै यी पार्टीहरु पराजयको मूख्य कारण वन्यो । अहिले राप्रपा प्रजातीका सबै दल राष्ट्रिय परिदृश्यबाट वाहिरिएका छन् । जनताले उनीहरु कसैलाई ३ प्रतिशत मतपनि दिएका छैनन् । यसबाट गम्भिर भएर ती तल र तिनका नेताहरुले आत्म समिक्षा र आत्मालोचना गर्दै अगाडी बढ्न सक्ने कोसिस र हिम्मत राख्नु पर्दछ । यसबारे धेरै चर्चा नगरौं ।

अब बन्ने सरकारले जनादेशको मर्म र भावना अनुसार पाँच बर्ष स्थिर सरकार सञ्चालन गर्ने र दशकौं देखि नेपालमा थाँती रहेको आर्थिक समृद्धी र विकासका अजेन्डालाई अगाडी बढाउनुपर्ने देखिन्छ । बाम गठवन्धनको नेतृत्वमा बन्ने सरकारले संविधानको अक्षरस् मर्म र भावना पालना गर्दै नेपाली जनताको मुहार परिवर्तन गर्न ठोस् सामाजिक र आर्थिक रुपान्तरणका कार्यक्रमहरु ल्याउनु जरुरी देखिन्छ । आज नेपाल जुन रुपमा विकासको गतिमा छ । त्यसलाई द्रुत रुपमा अगाडी बढाउन राष्ट्रिय र अन्तर्राष्ट्रिय सबै परिस्थितीलाई सन्तुलनमा राख्न जरुरी छ । यसका लागि बाम गठवन्धनले विजयीको उन्माद नलिई मुलुक भित्र सबैलाई समेट्ने र मुलुक बाहिर अन्तर्राष्ट्रिय शक्तिहरुसँग सन्तुलित सम्वन्ध विस्तार गरेर आर्थिक विकासको अजेन्डालाई अगाडी बढाउनु जरुरी हुन्छ ।

अबपनि राजनीतिक खिचातानी मुद्दा देखापर्ने छैनन् । संघियताको कार्यान्वयन, संघियता सञ्चालनमा वित्तिय व्यवस्थापन नै अब निर्माण हुने सरकारको प्रमुख चुनौती हुनेछ । यसलाई राष्ट्रियताको भावनाको उच्च सम्मान गर्दै ७ वटै प्रदेशलाई सन्तुलित र व्यवस्थित रुपमा स्रोत र साधनको वितरण र वित्तिय परिचालन गर्न सक्नु पर्दछ । यसको लागि सरकारसँग ठूलो आँट, हिम्मत र इमान्दारिता हुनु जरुरी छ । अब कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेशवादी दलहरुको आँखाबाट हैन नेपाली र नेपाल जनताको नजरबाट हेरिनुपर्दछ । यसैबाट मुलुकको हित हुनेदेखिन्छ ।

६ दशकदेखि जनताले चाहना गरेको आफ्नो संविधान आफैं निर्माण गर्ने चाहना संविधानसभाले २०७२ अशोज ३ गते पूरा गरिदिएको छ । अब यही राजनीतिक दस्तावेजको आधारमा लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापित गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरुलाई सम्मान गर्न वर्तमान सरकारपछि पर्ने छैन नै । निर्वाचनको बेला गरिएका आरोपप्रत्यारोप अनुसार कुनैपनि खालको अधिनायकवाद नेपालको संविधानले स्वीकार्दैन यो कुरालाई सरकारले आत्मसाथ गर्नैपर्दछ । २१ औं शताब्दी र आजको विश्वमा कुनैपनि खाले निरंकुशता र अधिनायकवादलाई जनताले स्वीकार गर्ने छैन र गर्दैनपनि । तसर्थ, अब मुलुकको थप उज्ज्वल भविष्यको लागि जनताको जनमतको सम्मान गर्दै बाम सरकारले समृद्धीको अजेन्डालाई प्रभावकारी र सर्वस्वीकार्य बनाउने तर्फ उन्मुख होस् । यसबाट नै सवैको हित हुनेछ ।

– पत्रकार तथा सह–प्रवक्ता राप्रपा (प्रजातान्त्रिक)

freelancerkiran@gmail.com