शेर्पासञ्चार काठमाडौँ ।  टिन्छेन फमा चलचित्र बारे प्रतिष्ठित पत्रकार लाक्पा जी शेर्पाले एउटा समिक्षा लेखे । त्यसले शेर्पा समुदायमा ‘ठूलै’ बहसको विषय बन्यो । चलचित्र निर्माण त भयो तर त्यसमाथि टिप्पणी गर्ने, सार्वजनिक रुपमा समिक्षा गर्ने उपर निर्माता, निर्देशक प्रत्यक्ष, परोक्ष रुपमा सक्दो खेदो गर्न लागि परे ? के शेर्पा समुदायमा सकरात्मक नकारात्मक विषयको समिक्षा नै गर्न नपाउने हो त ? के हामी राम्रोलाई राम्रो नराम्रोलाई सुधारका लागि सुझाव दिन पाउँदैनौं त ? यी र यस्तै प्रश्नहरुवीच पत्रकार शेर्पाले आफ्नो स्पष्टौती प्रेश नोट मार्फत सार्वजनिक गरेका छन् । जुन जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।

शेर्पा जातिको भनिएको चलचित्र ‘टिन्छेन फमा’ र ‘म’सँग जोडिएर केही विषयहरु सामाजिक सञ्जालमा व्यापक स्थान ओगाटेको पाएँ । ‘सहि र गलत’ छुट्याउने गरी समाज विकास हुनुपर्नेमा त्यो स्तरमा हामी पुगेको रहनेछौं भन्ने यसबाट पुष्टि भएको छ । तथ्यगत आधारहरुलाई मानेर सकारात्मक र नकारात्मक टिप्पणीलाई अपनत्व ग्रहण गर्ने संस्कारको विकास गर्न नसक्दासम्म हाम्रो अवस्था ज्यूँकात्यूँ रहन्छौं । प्रथमताः म चलचित्र निर्माण गर्ने र सामाजिक सञ्जालमा ‘आफ्नो औकात’ अनुसारको टिप्पणी गर्नुहुने सम्पूर्ण प्रति हार्दिक आभार व्यक्त गर्दछु । यस सन्दर्भमा, प्रदर्शित चलचित्र ‘चिन्छेन फमा’ का सम्वन्धमा मैले देखेको र आफूलाई लागेको कुरा स्वतन्त्र रुपमा चलचित्रको समिक्षा स्वरुप लेख्ने कार्य गरेँ । चलचित्र निर्माता, निर्देशक, कलाकार वा तत्सँग सम्बन्धित जोकोहीसँग कुनै आग्रहपूर्वाग्रह नराखी लेखिएको समिक्षाले चलचित्रको व्यापारवृद्धि र सुधारका लागि मार्ग प्रशस्त हुने विश्वास लिएको थिएँ तथापी हाम्रो हैसियत त्यस हदसम्म विकास नभएर या बुझाईको दरिद्रताले हो त्यो उद्देश्य विपरित व्याख्या भएको पाएँ । समाज रुपान्तरणका लागि चलचित्र वा अन्य कुनै न कुनै माध्यमबाट आफ्नो उपस्थिती देखाउने कुरालाई म सँधै सम्मान गर्छु । समुदायको विकासका लागि, हाम्रो भाषा, साहित्य, संस्कृती र परम्परागत मान्यताहरुलाई स्थापित गर्ने मामिलामा हामी सबै सचेत वर्ग यसरी नै क्रियाशिल भएर लागि पर्न पर्दछ भन्ने मान्यतामा म दृढ छु । प्रस्तुत चलचित्रमा ‘निर्माताले खेल्न नसकेका केही भूमिका’ माथि गरिएको टिप्पणीलाई सिंगो चलचित्र माथिको प्रहारको रुपमा चलचित्रको टिमको बुझाई हुन पुग्नु अर्को दुःखद पाटो हो । समग्रमा चलचित्र निर्माण, प्रदर्शन हुने र त्यसमाथि स्वतन्त्र रुपमा समिक्षा लेख्ने संस्कार छँदैछ । उसो त चलचित्रका पात्र, समग्रमा उनले पुर्याएको योगदानको सकारात्मक चर्चापनि समिक्षाले छुट्याएको छैन । हामीमा खाली जस्तोसुकै सामाग्री, प्रस्तुती आएपनि चुपचाप स्वीकार्नु पर्छ, केही कुराहरु नमिलेको छ भनेर खोट देखाउँदा कसैलाई अपठ्यारो पर्छ की ? भन्ने संस्कार छ । यसबाट हामी समाजलाई पछि धक्यालिरहेका छौं । वास्तवमा सकारात्मक सुझावहरुका आधारमा भएका कमजोरीहरुलाई केलाउँदै पारिस्कृत समाज निर्माण गर्नुपर्दछ भन्ने मेरो बुझाई हो । चलचित्रसँग जोडिएका विषय बाहेक विज्ञापन, टिकेट जस्ता विषयहरु सतहीमा आएका छन् । अहिले म व्यक्तिगत रुपमा कुनैपनि अनलाईनमा संलग्न नरहेको र अनलाईन समेत सञ्चालन नगरेकोले विज्ञापन बटुल्ने वा प्राप्त गर्ने भन्ने प्रश्नै उठ्दैन । अर्कोतर्फ चलचित्रको दुबै सोमा निर्माण पक्षले तोकिएकै अनुसार ‘केएल र गोपिकृष्ण’ को टिकट खरिद गरी साथमा साथीहरुको समेत टिकट खरिद गरी दिई चलचित्र हेर्न गएको हुँ । केहीले टिकट र विज्ञापनसँग जोडिएर गरिएको निष्कृष्ट टिप्पणीकोपनि म सम्मान गर्दछु । उप्रान्त सत्य, तथ्य, निष्ठाका साथ समाचार, विचार, समिक्षा लगायतका विषयमा कलम चलाउने मेरो अभियान अझ सशक्त रुपमा अघि बढ्ने नै छ । समाज रुपान्तरणमा मैले आफ्नो कदमलाई हरतवरले क्रियाशिल राख्ने पत्रकारिताको शुरुवात गर्दा गरेको प्रणलाई जीवनको अन्तिम क्षणसम्म जारी राख्नेछु । अतः सामाजिक सञ्जालमा गरिएका टिप्पणीहरुले आफ्नो बौद्धिकस्तर स्वतः प्रदर्शन हुने र समाजले मूल्याङ्कण गर्ने भएकाले थप टिप्पणी जरुरी छैन । विदेशी भूमिबाट हाम्रो समाज विकासका लागि चिन्ता लिनु स्वभाविक हो तर ‘आदर्श वाक्य’ र समुदायलाई ‘छेदविच्छेद’ पार्ने प्रबृत्तिले कति दीर्घजीवन पाउँछ ? भन्नेतर्फपनि सोच्नु पर्छ । मलाई सकारात्मक सुझाव र सल्लाहसहित पत्रकारितामा यहाँसम्म पुर्याउनु हुने, आत्मवल बढाउन मद्दत गर्नुहुने सम्पूर्ण प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । अन्तमा, प्रस्तुत चलचित्र ‘टिन्छेन फमा’को सफलताको शुभकामना व्यक्त गर्दछु । लाक्पा जी. शेर्पा

Image may contain: text