वैदेशिक रोजगारीको सिलसिलामा साइप्रस, रसियालगायतका देशमा रहँदै बस्दै आएकी आङ ङिमा शेर्पा (कुङ्गा) चलचित्र निर्माणमा उत्रिइन् । उनको पहिलो प्रयास हो- ‘टिन्छेन फामा’ । शेर्पा भाषा, संस्कृतिलाई केन्द्रमा राखेर निर्माण भएको चलचित्रको हालै राजधानीमा ‘च्यारेटी सो’ भयो । तर, यसले सोचेअनुसार दर्शकको ‘वाहीवाही’ भने पाउन सकेन ।

राजधानीको चुचेपाटीस्थित केएल टावरको एफक्यूवमा भिआइपी र गोपिकृष्णमा सर्वसाधारणका लागि भनेर एकै दिन दुईवटा हलमा चलचित्र प्रर्दशन गरे । शेर्पा समुदायमा आधारित रहेर बनेको संभवतः यो तेस्रो चलचित्र हो ।

करीब २ घण्टा छेउछाउको यो चलचित्र सोलुखुम्बु क्षेत्रमा खिचिएको छ भने पात्रहरु पनि उतैका बटुलिएका छन् ।

ग्रामीण क्षेत्रमा शेर्पा समुदायको अवस्था चित्रण गर्न खोजिएको चलचित्रको शुरु वियोगान्त नाटकबाट शुरु हुन्छ । दुई सन्तानसहितको सुखी परिवारमा श्रीमान पर्वतारोहण पेशामा हुन्छन् । राजधानीतिर वस्दै आएकी केटी (निर्देशक) ले उही पार्वतारोहण पेशा गर्ने केटासँग बिहे गर्छिन् र गाउँमै आई जिविका चलाउँछिन् ।

सुखीका साथ बसेको परिवारमा एक दिन ठूलो बज्रपात हुन्छ । हिमाल चढ्न गएको श्रीमान् आरोहणकै क्रममा मृत्युबरण गर्न पुग्छ । र, श्रीमानको मृत्युको वियोगकै कारण श्रीमतीको पनि निधन हुन्छ र छोरा छोरी विचल्लीमा पर्छन् । छोराछोरीलाई गाउँकै काका नाता पर्नेले संरक्षण दिन्छ । टुहुरा छोराछोरीलाई चौरी गोठमा गोठला बस्न लगाइन्छ । विगतको कल्पना गर्दै छोरी ठूली हुन्छे र छोरा काठको काम गर्ने सिकर्मी भइसक्छ ।

उनीहरु गाउँमै वस्छन्, बाटोमा होटल खोलेर’ट्रेकिङ्ग’ जानेहरुलाई चियाखाजा खुवाउने, वास वसाउने काम गर्छन । होटल चलाउने जिम्मा वहिनी यन्छेन अर्थात छिरिङ शेर्पाले पाएकी हुन्छन् भने दाई रिन्छेन अर्थात आङ कुङ्गा शेर्पा भने काठकै काममा व्यस्त हुन्छ । यस्तैमा एकदिन ट्रेकिङ जाने एक जना युवासँग यन्छेनको आँखा जुध्छ, अनि कथाले अर्को मोड लिन्छ । उनीहरुवीचको भेटघाट र अन्तरसम्वादको लामै फेरिस्त यहाँ प्रस्तुत हुन्छ ।

यसवीचमा दाई रिन्छेन (जसले कपाल पालेको हुन्छ) उसलाई बाल्यकालदेखि नै मन पराउने एक जना गाउँकै शहरतिर बस्दै आएकी केटी भेट्न आउँछे । लामो समय शहर बसेकी ल्हमु अर्थात सोनाम याङजी शेर्पा मात्रै हैन, उनका बुबा नै छोरीका लागि ज्वाइँ खोज्दै यन्छेन र रिन्छेनको घरमा आइपुग्छ । यसले शेर्पा समुदायमा नारी सत्ता हाबी गर्न खोजेको भान गराउँछ ।

यन्छेनलाई त्यो ल्हमु मन पर्दैन । यन्छेनको स्वाभाव छुची र रिन्छेन चाँही सोझा इमान्दार हुन्छ । पटक पटक अनुरोध गर्दा पनि ल्हमुप्रति रिन्छेन आकषिर्त हुँदैन । तर, शहरीय केटीले भने लगातार पछ्याई रहेकी हुन्छे । र, वेला-वेलामा फोन पनि गर्छे । यता येन्छेन र रिन्छेनको गाउँमै एउटा ‘स्कूल’ खोल्ने सपना हुन्छ । उनीहरु नियमित यसैको लागि संघर्ष गरिरहेका हुन्छन् । यस्तैमा यन्छेनको उही ट्रेकिङवाला केटासँग विहे गर्ने कुरा हुन्छ । केटा पक्षबाट सोधनी ल्याइन्छ । रिन्छेनको शर्त चाँही ‘स्कूल’ बनाई सकेपछि मात्रै वहिनीको बिहे गराइदिने भन्ने हुन्छ ।

यस्तैमा उनीहरु ‘स्कूल’ निर्माणका लागि काठ ओसारिरहेका हुन्छन् । काठ ओसार्ने क्रममै जंगलमा लडेररिन्छेनको अकास्मत मृत्यु हुन्छ । दाइको अवस्था देखेर यन्छेन विलौना गरिरहेकी हुन्छे । यस्तैमा यन्छेनको हुनेवाला श्रीमान आइपुग्छ र सम्हाल्छ । उनीहरुले रिन्छेनको शेर्पा संस्कार अनुसार काजक्रिया गर्छ र विद्यालय बनाउने सपना पूरा गर्छु भनेर पुकारिन्छ । यस्तैमा कथा सकिन्छ र स्त्रिmनमा सहयोगीहरुको नाम आउन शुरु हुन्छ ।

नेपाली रंगक्षेत्र र टिन्छेन फामा

नेपाली चलचित्र उद्योगमै ‘स्तरीय’ चलचित्र बन्न नसकेको आरोप खेप्दै गर्दा ‘लुट’ चलचित्र निर्माण गरेर निर्देशक निश्चल बस्नेतले नेपाली रंगक्षेत्रको बाटो नै बदलिदियो । पछिल्ला चलचित्रहरु त्यही नयाँ बाटो पछ्याउँदै कुदिरहेका छन् । त्यस्तै, हास्यकलाकारहरुले समेत चलचित्र निर्माण गरेर सफलता हात परेका छन् । वडा नं. ६, ६ एकान ६, छक्का पञ्जा लगायत चलचित्र यसका उदाहरण हुन् ।
नेपाली चलचित्र बजारलाई नै मोड्ने खाले चलचित्रहरु निर्माण भइरहेका बेला शेर्पा समुदायमा बत्तासिएर आएकी निमात्रीले एउटा चलचित्र फ्याँकिन्-‘टिन्छेन फमा’ । निश्चल वस्नेतले जस्तै आङ ङमिा शेर्पाबाट शेर्पा समुदायमा चलचित्रको विषयवस्तु र परिस्थितिमा व्यापक परिवर्तन आउँछ भन्ने अपेक्षा त हैन, तथापि सुधारोन्मुख हुन्छ भन्ने अपेक्षा चाँहि दर्शकले गरेका थिए । तर, त्यसो हुन सकेन ।

भीआइपी र कथा

चलचित्रको च्यारिटी सोको लागि ‘भीआइपी र सर्वसाधारण गरी विभाजन गरेर’ प्रदर्शन गरियो । समुदायको भाषा, कलाको अवस्थालाई उठान गर्ने र शेर्पाको साहित्यको स्तर समेत उकास्ने आशा गरिएको यो चलचित्रले दर्शकलाई खास सन्तुष्टि दिन सकेन । धेरैले ‘टिकटको लगानी नउठेको’ प्रतिक्रिया दिए ।

समग्र चलचित्र वियोगान्तमा दौडिरहेको बेला अन्तमा रिन्छेन अर्थात दाजैको सपना पूरा गर्ने यन्छेन र उनको हुनेवाला श्रीमानको सामूहिक प्रतिवद्धता आउँदै गर्दा ‘टिन्छेन फमा २’ पनि आउने रैछ भन्ने धेरैले लाख काटेकै हो ।

पहिलो चलचित्रले दर्शकलाई न्याय दिन नसकेका प्रष्ट हुँदा दोस्रो आउनुले खास के अर्थ राख्ला र ? चलचित्रमा कथा कारुणिक बनाउने प्रयास भए पनि शिलशिलेवार रुपमा खुल्ला भएर अघि बढ्न नपाउनु अर्को अन्याय हो ।

विगत र अपेक्षा

चलचित्र खाङरी, कुसुमलाई शेर्पा भाषा, संस्कृतिको विकासका लागि निर्माण गरेको चलचित्र मानिन्छ । त्यसो त टिन्छेन फामा त्यसपछिको अर्को शसक्त चलचित्रका रुपमा स्थापित हुनुपर्ने हो । तर, यो चलचित्रले हाम्रो साहित्यिक र वौद्धिकस्तर छतछुल्ल बनाएको छ । यसलाई कसले कसरी सम्हाल्ने भन्ने प्रश्नैप्रश्नका वीच हामी उभिन पुगेका छौं । कथाका पात्रहरुले आफूले सकेको भूमिका निर्वाह गरेर ‘गर्न खोजेको हो कि’ भन्नेसम्म अनुभूत गराउँछ ।

गाउँले परिवेशमै नयाँ-नयाँ बख्खु, आङ्गीमा सजिएर मेलापात, चौँरीका पिछा गरेका दृश्य, के साँच्चै कथा वस्तुगत हो त ? भन्ने प्रश्न खडा हुन्छ । चलचित्रको सम्पूर्ण पक्षलाई सकारात्मक भनेर बुझाउने कुनै त्यस्तो तत्व नै छैन । ‘राम्रै भनौं’ भन्नुको विकल्प पनि रहँदैन ।

सम्हाल्न नसकेका कथा

कथामा निर्देशकले अलिकति पनि ख्याल गर्न सकेको भए उनी आलोचनको पात्र हुनुबाट केही मात्रमा भए पनि जोगिने थियो । तर, त्यो साख उनले जोगाउन सकेको देखिएन । केही उदाहरण यस्ता छन्ः ‘नयाँनयाँ ज्याकेट, बख्खु तर जुत्ता चाँही पुरानो अर्कैको मागेर लगाएजस्तो देखाउनु । रिन्छेन र यन्छेनको घरचाँही जस्तापाताले छाएको सानो कटेरो आँगुनुमा आगो पनि राम्ररी बाल्न नसक्ने तर यन्छेनको मगनीका बेला चाँही ठूलो वंगला तीनतले दरबार देखाइन्छ ।

त्यस्तै, ‘रिन्छेनलाई बिहेको प्रस्ताव गर्न आउने केटीहरु उही सानो कटेरोको दैलोमा यन्छेनले स्वागत गर्छन्, तर उनीहरुलाई व्यवस्थित रुपमा तले घरभित्र चिया पिलाइन्छ ।’ उता हिमालमा मरेका श्रीमानको लास कता लगियो, अत्तो छैन, यता मरेकी आमाको शवमाथि नै संस्कार सकिन्छ । त्यो लासलाई सद्गदसमेत गरिँदैन । यो त समयको कमीले नदेखाएका होलान् भन्ने थियो तर चौंरी खेदेको खेदै गर्ने ‘लेन्दी सिन’, अरु एउटै सिनलाई तन्काई तन्काई प्रस्तुत गरिएको छ ।

हिमाल चढ्न भन्दै जान्छ, तर हिमालमै घाँसहरु उमि्रएको, हावाले साना विरुवाहरु हल्लाई रहेको प्रस्टै देखिन्छ ।

चलचित्रमा देखाउन खोजिएको सांस्कृतिक पाटोले ‘न शीर छुन सक्यो, न त पुच्छर नै । गाउँमै जन्मिएको, हुर्किएको यन्छेनको गाला सw} रातै हुने अनि उनले बोल्ने शेर्पा भाषाचाँहि कण्ठस्थ पारिएको ‘शहरीय’ जस्तो । यन्छेनको शेर्पा लवजमा ग्रामीण शैली नै थिएन र यसले चलचित्रलाई खल्लो बनायो ।

ध्वनी प्रदुषण

प्राकृतिक ध्वनी अर्थात छायाँकन स्थलकै ‘आवाजहरु’ अनियन्त्रित ढंगले चलचित्रमा स्थान पाउनु रहर हो कि वाध्यता यसै भन्न सकिएन । त्यो प्राविधिकले नै जान्ने कुरा भयो । चलचित्रमा अधिकांश समय संवाद भन्दा पनि ‘कभर म्युजिक’ को वरिपरि घुम्नुलाई विश्व चलचित्रको परिभाषाले अथ्र्याएकै होला सायद ।

चलचित्रले ग्रामीण तथा शहरीय जीवनयापनलाई समेट्न खोजेको जस्तो भान हुन्छ । तर, त्यो महशुस दर्शकले गर्न पाउँदैनन् । गाउँले भनिएको छ, सधैं धानको चालमकै भातमात्रै खाएको देखाइन्छ । पहुनाका अगाडि पहिला खाली प्लेटसहितको कयू ‘चिया खाने भाँडा’ राखिन्छ पछि मात्रै चियाले भरिन्छ । चम्बा खानु भन्ने अनुरोध आउँछ, तर चम्बा भनेको के हो खाली भाँडामा चम्चा हल्लाएर खाएजस्तो गरिन्छ ।

यसरी कथावस्तुभित्रका विविधतालाई समग्रमा पस्कन नसक्नुले निर्देशकको ‘खुवी उदाङ्गो’ भएको देखियो ।

अब्बल अभिनय

उसो त बालकलाकारमध्ये छोरी अर्थात यन्छेनको अभिनय कलालाई सलाम गर्नैपर्छ । सायद उमेरले सानै भएर होला, बाल्यकालमा दाजु रिन्छेनको खास अभिनय गतिलो थिएन । एउटा उदाहरण ‘आमाको निधन भएर वहिनी विलौना गरिरहेकी हुन्छिन्, उचाँही दुई जना गाउँलेको विचमा झ्याल छेउमा उभिएर मुसुमुसु हाँसिरहेको हुन्छ ।’ तर, पछि हुर्किएपछि कपाल पालेर होला रिन्छेनको अभिनयमा खोट लगाउने ठाउँ छैन ।

सानोमा अभिनय र डाइलगहरु शेर्पा लवाजमा बोल्ने यन्छेनको रुपमात्रै हैन, लवज पनि एक्कासी परिवर्तन भएको देख्दा जोकोहीलाई अचम्म लाग्न सक्छ । तर, अभिनय कला भने दमदार नै छ । समग्रमा सबै कलाकारहरुले कथाले खोजे अनुसारको अभिनय गरेका छन् । तर, समग्रमा फेरि भन्नै पर्ने कुरा कथावस्तुको प्रस्तुतिमा निर्देशक चुकेकै हो । चलचित्रको समग्र अवधिमा एउटा पनि गीत नहुनुलाई गतिलै उदाहरणको रुपमा लिन सकिन्छ ।

चित्त बुझाउने पाटोः

चलचित्रको समग्र पाटो जे जस्तो भएपनि वैदेशिक रोजगारीका सिलशिलामा विदेशभूमिमा संघर्ष गर्ने एक नारीले शेर्पा, भाषा, साहित्यको क्षेत्रमा गरेको यो लगानी अतुलनीय र ऐतिहासिक नै हो । यसलाई कसैले पनि कुनै पनि हालतमा अस्वीकार वा इन्कार गर्न सक्दैन ।

उनले गरेको लगानी, त्याग र मिहिनेतको समुदायले मुक्तकण्ठले प्रशांस गर्नेछन् । अर्कोतर्फ, इतिहासले पनि निर्मात्री, निर्देशकलाई सम्झने नै छन् । कलाकारहरुका लागि त व्यवसायिक रुपमा अघि बढ्नका लागि एउटा ‘प्लेटर्फम’ आवश्यकता पर्दथ्यो त्यो उनीहरुले प्राप्त गरे । बाँकी, नाफाघाटा सबै निर्मात्री आङ ङमिा शेर्पालाई नै जान्छ ।

उनले पात्र चिनिन् तर कथालाई चिनिनन् । विषय फेला पारिन् तर गहिराईमा पुग्न सकिनन् । उनले अर्को चलचित्र निर्माण गर्दा धेरै सोच विचार, अध्ययन, चिन्तनको जरुरी छ भन्ने पाठ सिक्न जरुरी छ । चलचित्रमा लगानी गरेर तेन्जीङ शेर्पा, आङ कुङ्गा शेर्पा, आङ ङिमा शेर्पा (कुङ्गा)ले इतिहासमा आफ्नो नाम दर्ज गरेका छन् । यस क्रममा शेर्पा भाषा, कला, साहित्यको अवस्था, धर्म संस्कृतिलाई बचाउन खोजेर चलचित्रले ‘धर्म निर्वाह’ गरेको छ ।

युवा पुस्ताको शेर्पा संस्कार, संस्कृतिप्रतिको दृष्टिलाई उजागर गर्दै यस्तै चलचित्र वा अरु कुनै माध्यमबाट निरन्तर रुपमा समाजको हर पक्षको विकासका लागि क्रियाशिल रहन खोज्नु आफैमा गर्वको विषय हो । समग्रमा चलचित्रले शेर्पा समुदायमा कलाकारिता र रंगक्षेत्रमा अझै अध्ययन, चिन्तन, बहस र मसिनो गरी छलफलहरु जरुरी छ भन्ने पुष्टि गर्छ । चलचित्रमा देखिएका र देखाइएका अनुहारहरुप्रति हार्दिक सादुवाद । भाषिक चलचित्र निर्माण गर्ने साहस बटुलेर समुदायलाई जगाउने यी महान नारीप्रति नमन !
(लेखकः शेर्पा पत्रकार संघका संस्थापक अध्यक्ष हुन् )