विश्व शेर्पा सम्मेलन र संप्रादायिक विभाजन

- लाक्पा जी. शेर्पा

प्रकाशित मिति : २० आश्विन २०७४, शुक्रबार १५:३०

विश्व शेर्पा सम्मेलन र संप्रादायिक विभाजन

निक्कै चासोपूर्वक हेरिएको विश्व शेर्पा सम्मेलनको मूल मर्म विश्व शेर्पा संघ गठन हो । विश्व शेर्पा संघ गठनका लागि तदर्थ समितिले विधानको मस्यौदा समेत तयार गरी सकेको छ । संभवत त्यही मस्यौदालाई सम्मेलनले पारित गर्दै लागू गर्ने छ । विधानले संयूक्त राष्ट्र संघको वडापत्रलाई आत्मसाथ गर्ने भनिएको छ । उसो त प्रस्तावनामै मानवअधिकार र विश्व भातृत्व विकासका लागि संघले कार्य गर्ने उल्लेख हुनुले यसको गरिमा बढ्न सक्छ । यसले सार्थकता पाउनु शेर्पाको लाग गर्वको विषय हो भन्ने एक खाले धारण छ भने अर्को थरी चाँही ‘विश्व शेर्पा संघको परिकल्पनालाई नै हाँस्यस्पद’ भन्दै टिप्पणी गर्न थालेका छन् । समग्रमा जे जस्तो भएपनि विश्वभरिबाट ‘सम्मुख उद्देश्य’ सहित विश्व शेर्पा सम्मेलनका लागि शेर्पाहरु उत्साहित रुपमा सहभागि हुनुले यसबाट ‘ठोस योजना’ बन्नेमा समुदाय भने ढुक्क छन् ।
शेर्पा समुदायले प्रथम पटक आयोजना गर्न लागेको विश्व शेर्पा सम्मेलनमा अनेकन विषयहरु उठान भइरहेका छन् । विषयलाई क्रमिक रुपमा संवोधन गर्दै योजना निर्माण गर्न तर्फ सम्मेलन केन्द्रित हुनुपर्नेमा दुइमत छैन । शेर्पा समुदायको स्थायी वसोवास रहेको क्षेत्रबाट र रोजगारीका लागि विश्वभर छरिएर रहेका शेर्पाहरुवीच आपसी चिनजान, सहकार्य र साझेदारीका लागि मार्ग प्रश्स्त गर्ने माध्यम सम्मेलन वन्नुपर्ने छ । सम्मेलनले आर्थिक, सामाजिक, राजनैतिक, सञ्चार लगायतको विषय उठानका लागि निश्चित समयभित्र समुदायलाई खास विन्दुमा पुर्यान योजना निर्माण गर्नुपर्ने हुन्छ । यी सबै जिम्मेवारीका साथ हुन गइरहेको सम्मेलनलाई विभिन्न कोणबाट हेरिँदै छ र व्यक्तिपिच्छे विश्लेषणपनि तत् अनुसार नै भइरहेको देखिन्छ ।
विशेष गरी सम्मेलन व्यवस्थापन, प्रवेश शुल्क, सहभागि देशका बारेमा केही विवादित भई अघि बढीरहेको बेला सम्प्रादायिक रुपमा पनि विवाद सतहीमा देखिँदैछ । विश्व शेर्पा सम्मेलन विशेष गरी ‘धार्मिक या जातीय’ भन्ने धार खुट्न नसक्दापनि समस्याहरु पैदा भएका छन् । ‘विश्व शेर्पा सम्मेलन अर्थात शेर्पाहरुको कुम्भ मेला’ भनेर छोटकरीमा बुझ्न सकिन्छ । सर्वसाधारणले समेत यसरी नै सिधा भाषामा बुझ्छन् । या अझ अघि बढेर भन्दा ‘बुझ्ने नै यति नै हो ।’ तर, सम्मेलनलाई यतिवेला सम्प्रादायिक विभाजन गरी विवादित बनाउने कार्य सामाजिक सञ्जालमा व्यप्त देखिन्छ । यस विषयमा सबै पक्ष गम्भिर र प्रष्ट हुनु जरुरी छ । यतिवेला सतहीमा देखिएको विषय भनेको ‘विश्व शेर्पा सम्मेलन बुद्धिष्ट शेर्पा मात्रै सहभागि हुन पाउने की अरु धर्म मान्ने शेर्पापनि ?’
यो प्रश्नका विषयमा खास सामाजिक सञ्जालमा विवाद गर्नु वाहेक ठोस रुपमा वहस वा निकासको खोजी कँही कतै, कोहीबाट पनि भएको पाइँदैन । विशेषताः आयोजक संस्था, जिम्मेवार निकाय नेपाल शेर्पा संघले समेत कुनै प्रतिक्रिया जनाएको देखिएन ।
विशेष गरी विश्व शेर्पा सम्मेलन भन्ने वित्तिकै ‘आम शेर्पाहरुको सम्मेलन’ भनेर बुझ्नुपर्ने हुन्छ । यसो भन्दा बुद्धिष्ट शेर्पा मात्रै सहभागि हुनुपर्छ भनेर तर्क अघि सार्ने मित्रहरुलाई कताकता चिसो पस्नु अस्वभाविक होइन । तर, पनि यो सम्मेलनलाई संप्रादायिक विभाजन उन्मूख बनाउनु हुन्न भन्नेमा भने सबै सहमत हुनुपर्दछ ।
सामाजिक सञ्जालमा विभिन्नमुलुकका किदुगका जिम्मेवार व्यक्तिबाट नै यो सम्मेलनलाई ‘संप्रादायिक विभाजनको विजारोपण उन्मूख गराउन खोजिएको’ हामी पाउँछौं । यस कार्यबाट विश्व शेर्पा सम्मेलनले उद्देश्य प्राप्त गर्दैन की भन्नेमा संशय उत्पन्न भएकोछ । ‘शेर्पा‘ अर्थात ‘जाति’ मात्रैको यो सम्मेलन भएको हुनाले यसमा धर्म अर्थात संप्रादायिकता नजोड्दै राम्रो हुन्छ भन्ने हो । धार्मिक, सामाजिक सद्भावलाई अझ प्रगाढ र स्थापित गर्नका लागि पनि सम्मेलनले भूमिका निर्वाह गर्नुपर्ने र विश्वव्यापी रुपमा धार्मिक स्वतन्त्रताको प्रत्याभूत भएको नाताले यो वा त्यो धार्मिक समूहले मात्रै विश्व शेर्पा सम्मेलनमा भाग लिन पाउनु पर्दछ भन्ने तर्कले खास अर्थ राख्दैन । यसले त उल्टै हामीवीच थप विभाजन ल्याउँछ र सम्मेलनको उद्देश्य समेत पूरा हुन दिँदैन ।
विश्व शेर्पा सम्मेलनलाई सम्प्रादायिक विभाजनको आधिकारीक थलोको रुपमा स्थापित हुन नदिनका लागि यतिवेला आयोजकहरु चनाखो हुनुपर्ने हुन्छ । शेर्पावीच जातीय एकता, समृद्धीको विषय उठीरहेको वेला सम्प्रादायिक विभाजन ‘धार्मिक समूहका झुण्डा’ ले मान्यता पाई स्थापित हुनु पुगे समुदाय झनै विभाजित हुन्छौं । हामी क्षतविक्षत् हुन्छौं । प्रथमतः हामी पहिला शेर्पा र त्यसपछि मात्रै धर्म अंगाल्ने भएकाले यो सम्मेलनलाई बुद्धिष्ट शेर्पा, हिन्दु शेर्पा, क्रिष्टीयन शेर्पा, किरात शेर्पा’ भनेर नाम दिइरहनुपर्ने र बुद्धिष्ट शेर्पाले मात्रै सहभागि जनाउनु पाउनु पर्छ भन्ने तर्क अघि सार्नु नै उचित हुँदैन ।
आखिरीमा हामी शेर्पा जातीवीच भाइचारा खोजीरहेका छौं । एकतामा बल हुन्छ यसबाटै हामीले समृद्धी र राज्यको उच्च निकायमा प्रतिनिधित्वको लागि दबाब दिन सक्छौं भनेर सम्मेलन र अनेक वाहनामा एकता र आन्दोलनहरु गरिरहेका छौं । विश्वभर धार्मिक स्वतन्त्रता भएकाले कोही न कोही धार्मिक रुपमा छुट्टै हुनुलाई अस्वभाविक मान्नु हुन्न र यो सम्मेलनले त्यसलाई कित्ता छुटाउन दिनपनि हुदैन ।
शेर्पा भन्ने वित्तिकै बौद्धमार्गीहरु भनेर बुझिन्छ र यसबाट पनि शेर्पा जाती बौद्ध धर्ममा आस्था राख्ने कुरामा दुइमत छैन । बहुसंख्यक शेर्पाहरु बौद्ध धर्म आस्था राख्ने भएकाले पनि केही शेर्पाहरुले धार्मिक रुपमा अर्को समूह छनौट या धार्मिक समूहसँग साँठगाँठ गर्दा बहुसंख्यक तर्फकालाई अचम्म लाग्नू ‘ठीकै’ हो । तर, आफू जुन धार्मिक समूहमा छन्, ‘त्यही नै ठीक अरु सबै गलत’ र ‘बुद्धिष्ट इतरको धर्म अंगालेकाले जातै त्याग्नुपर्छ’ वा अझ अगाडी बढेर भन्नु पर्दा नामको पछाडि जात हैन धर्म लेखिनुपर्दछ भन्ने कोणबाट हामी बहस अघि बढाउँदैछौं भने त्यो ‘मूर्खता र अशान्तिको खेती’ वाहेक अरु हुन सक्दैन ।
समग्रमा पहिलो ऐतिहासिक विश्व शेर्पा सम्मेलनलाई ‘शेर्पा’ जातिको सम्मेलनको रुपमा बुझ्ने र चित्रित गर्दा नै समग्र शेर्पाको हित हुने देखिन्छ । शेर्पा समुदायबाट नै संप्रादायिक विभाजनसहित सम्मेलनलाई अघि बढाउन खोज्नले विश्वमा राम्रो सन्देश जादैन । हामी सबै मिलेर सम्मेलनलाई समग्र शेर्पाको सम्मेलनको रुपमा बुझेर सफल पार्नुको विकल्प छैन । यसलाई धार्मिक रुपमा नहेर्नु नै बुद्धिमानी हुन्छ ।

 

 

Facebook Comments
  • मुख्य