सदा भन्दा अलि छिट्टै निन्द्राले छाडेपनि विछ्यौनामाथि नै पल्टी नै रहेको थिएँ । जसोतसो ५ः३० बजेको समयमा उठेँ । नित्यकर्म सकेर ६ बज्न लाग्दा विहान ‘पुरानो रेडियो पत्रिका कायकैरन’ स्ुन्ने भनि मोवाइल खोलेँ । समाचार बज्न केही समय बाँकी रहेकोले केही समय सामाजिक सञ्जालमा मन डुलाउँ भन्ने लाग्यो र फेसबुक खोँले । सरसर्ति ‘नोटिफिकेसन’, न्यूज, न्यूफिडहरु हेर्ने क्रममा अचानक असोचनिय स्टाटस्मा आँखा पर्यो । पत्याउनै गाह्रो त्यो अपडेटले एकछिन सारा संसार नै फनफन्ती घुम्न थाल्यो । मलेसिया शेर्पा किदुगका अध्यक्ष समेत रहेका जिल्लावासी मित्र ङावाङ नुरी शेर्पाले निक्कै दुःखद खबर ‘पोष्ट’ गर्नु भएका रहेछ । ‘सदाका लागि हामीलाई छोडेर जानू भयो मिङमा दाईले उफ ! ओम मानी पद्मे हुँ ।’ स्टाटससहित सामाजिक सञ्जालबाटै तीन बर्षअघि देखि परिचित मित्र मिङमा शेर्पाको तस्वीर समेत राखिएको थियो । तस्वीरमा नै मृतकको शवसहित राखिएकाले स्टाटस अपत्यारिलो लाग्दा लाग्दै विश्वास गर्न वाध्य हुनुपर्यो । विहानीको शुरुवात नै दुःखद खबरबाट शुरु भएकाले मोवाइल चलाउने समेत जाँगर हराउँदै गयो ।
मलेसिया शेर्पा किदुगका संस्थापक महासचिव समेत रहेका स्व. मिङमासँग औपचारिक चिनजान नै सामाजिक सञ्जालमार्फत भएपनि उनको सामाजिक क्षेत्रमा खेलेको भूमिका, देखाएको क्रियाशिलताले छोटो समयमा नै निकट भइसकेको थिएँ । उनीसँग बारम्बर अनलाईन र कुनैवेला टेलिफोनमा संवाद समेत भए । आफ्नो भाषा, धर्म, संस्कार प्रति निक्कै सचेत स्व. मिङमा कै क्रियाशिलतामा मलेसियामा रहेका शेर्पाहरुको हकहितका लागि किदुग स्थापना भए ।
त्यस्तै, उनकै क्रियाशिलतामा ताप्लेजुङको विभिन्न रेडियोबाट शेर्पा भाषाको कार्यक्रम अहिलेपनि सञ्चालनमा छ । समुदायको हितका लागि कदम चाल्नु पर्छ । आफ्नो ठाउँबाट कुनै न कुनै भूमिका मार्फत समुदायको श्रीबृद्धिका लागि कृयाशिलता रहनुपर्छ भन्ने मान्यता राख्ने स्व. शेर्पाले ताप्लेजुङको हितका लागि गरेका कार्यहरु अविष्मरणीय छ । सञ्चार क्षेत्रमार्फत समुदायको हितका लागि उनले विभिन्न सञ्चार संस्थाहरुको स्थापनाका लागि जोड गरे । उनले सामाजिक क्षेत्रमा चालेका पाइलाहरुले ताप्लेजुङको एक क्षेत्रको युवाहरुमा व्यापक चेतनावृद्धिमा सहयोग त पुगेकै भने अर्को तर्फ वैदेशिक रोजगारीको क्रममा प्रवासमा रहेका शेर्पा युवाहरुमा पनि छुट्टै खाले उर्जा पैदा गर्ने कार्यमा उनी क्रियाशिल थिए ।
मजदुरीसँगै उनी सामाजिक रुपान्तरणमा क्रियाशिल एक आदर्श युवा थिए । आफ्नो नियमित ‘ड्यूटी’ का वाहेक उनी बढी समय समुदायको हितमा के गर्न सक्रिन्छ भन्नेमा चिन्तीत देखिन्थे । यसको धेरै उदाहरणको रुपमा हामी उनले सामाजिक सञ्जालमा ‘अपडेट’ गरेका सामाग्रीहरुबाट समेत बुझ्न सक्छौं । नेपालमा भरखरै संविधानसभा मार्फत नयाँ संविधान जारी भएको छ । संविधानमा आम आदिवासी जनजाति, उत्पीडित वर्ग, शेर्पा समुदाय, सिमान्तकृत समुदाय, दलित, मधेशी, मुस्लिमका असन्तुष्टिका विषयहरु छन् । अन्तर्राष्ट्रिय श्रम संगठनले निर्माण गरेका कानून र नेपाल पक्ष राष्ट्र रहेको सन्धी कार्यान्वयनका क्रममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने आदिवासी जनजाति महासंघको मलेसिया शाखाका समेत उनी अध्यक्ष हुन् । आम आदिवासी जनजातिको हित र अधिकारका खातिर उनका अनेक योजनाहरु थिए । कति प्रकाशमा आएका त कति बाँकी तथापी ती योजनाहरु कति पूरा भए कति अधुरै रह्यो । भाषा, धर्म, संस्कारको विकास, समुदायका समृद्धका क्षेत्रमा उनले देखेका सपनाहरु पूरा हुने क्रममा थियो । तर, धेरै अधुरा नै रह्यो मित्र मिङमाका सपनाहरु ।
ताप्लेजुङमा जन्मिएका मिङमा उत्पीडिनको शिरबाट उठ्नका लागि जोडबल लगाउँदै थिए । अन्यायका विरुद्ध संघर्षको बलमा बल मिलाउँदै थिए । राज्यको निकायमा समानुपातिक प्रतिनिधित्वका कुरा उठाउँदै समग्र शेर्पा समुदायका हितका लागि उनी आफ्नो जीवनको महत्वपूर्ण क्षण गुजार्दै थिए । सायद ! राम्रा मान्छे सबैको नजरमा प्यारो हुन्छ भने झैं उनीपनि ‘इश्वर’को नजरमा प्यारो भयो र एक विहानै हामी माझबाट सुटुक्क लिएर गए । यो क्षण अत्यन्तै मर्महत, अविष्मरणीय र दुःखदायीपूर्ण रह्यो ।
खबरलाई प्रकाशमा ल्याउने किदुगका अध्यक्ष शेर्पाले केही समयमा नै मृतकको शवलाई शवजाँचका लागि अस्पताल लैजादै गरेको भन्ने पोष्ट अपलोड गरे । यसबाट स्व. शेर्पा हामी माझ नरहेको थप पुष्टि भयो । एकाएक सामाजिक सञ्जालमा शोकका शब्दहरुले भरिन थाले । देशविदेशका शुभचिन्तक, सामाजिक संस्थाहरुले ‘श्रद्धाशुमन’ को ओइरो लाग्यो । हेर्दा हेर्दै अध्यक्ष शेर्पाको अर्को पोष्ट आयो ‘मिङमा दाईको ‘पोष्टमार्टम’ रिपोर्टको प्रतिक्षामा ।’
विहानैको दुःखद समाचारले मनस्पटलमा अनेक प्रश्नहरु, परिकल्पनाहरु आन्दोलित हुन थाले । अरु केही सोच्नै सकिएन । शेर्पा आबद्ध सामाजिक संस्थाका पदाधिकारीहरुले भटाभट पोष्टहरु हाल्न थाले । कतिपय पोष्टहरु पढ्नपनि नसकिने गरी भावपूर्ण शब्दमा लेखिएका थिए । अनेकनले उनको मृत्युलाई जिज्ञासापूर्वक हेरेको पाइयो ।
विहानीको समय अत्यन्तै सकसपूर्ण रह्यो । नयाँ कुनै कुरा सोच्न सक्ने अवस्था रहने । वास्तवमा जन्मपछि मृत्यु प्राकृतिकको नियम त हो तर यस्तो वज्रपातलाई भने सहनै समेत गाह्रो हुने रहेछ ।
सामाजिक सञ्जालमा उनीप्रति दिनभरि नै श्रद्धाशुमनका शब्दहरुले रंगिन भयो । उनका विगतका तस्वीर र क्रियाकलापले सामाजिक सञ्जाल र मिडिया भावुक भएर तात्यो । हामी निरही भएर टुलुटुलु हेर्नुको विकल्प थिएन ।
वैदेशिक रोजगारीका क्रममा विदेशीने कयौं नेपाली युवाहरु विदेशी भूमिका नै आफ्नो पसिनासँगै देह त्याग गर्नुपर्ने वाध्यात्मक अवस्था छ । यस सम्वन्धमा न राज्यको ध्यान नै गएको छ न हामीले बहस नै उठान सकेका छौं । हामी निरही भएर हेर्नु र सहनुको विकल्प थिएन । आज मिङमा शेर्पा एउटा एउटा पात्रको रुपमा देखिएका छन्, उनी जस्ता कयौंले श्रम वेच्दावेच्दै जीवन नै सुम्पनु परेको हामीले कयौं अखबरहरुमा पढेका छौं । टेलिभिजनका स्कृनहरुमा देखेका छौं । सामाजिक क्षेत्रमा क्रियाशिल भएका नाताले आज सामाजिक सञ्जाल र मिडियामा ‘मिङमाको मृत्यु’ चर्चा भएको छ तर रोजगारीका क्रममा वाहिरिने लाखौं युवाहरुको यस्तै दुरदशाका वारेमा हामीले चुँसम्म बोल्ने आँट गरेका छैनौं । यस्तो विडम्बनाकावीच सामाजिक क्षेत्रका एक नक्षत्र मिङमा शेर्पालाई समुदायले गुमाउनु परेको छ । मिङमाको मृत्युसँग व्यक्तिमात्रै जोडिएको छैन । यो समग्र राष्ट्रको समस्या हो यसतर्फ हामी सबैको ध्यान जानू जरुरी छ ।
साँझपखा सामाजिक सञ्जालमा अर्को पोष्ट आयो ‘मिङमा शेर्पाको ‘कोरोनरी आर्टिनरी डिजिज’का कारण मृत्यु भएको र उनको शवलाई चाँडै नेपाल पठाइने ।’
यस्तो दुःखद घटनाहरुलाई दोहोर्याउन नदिन राज्यबाट ठोस नीति जरुरी छ । अब सरकार अन्तर्राष्ट्रिय विमानस्थलमा शव प्याक गरेको रातो बकस बुझ्नका लागि मात्रै सँधै तयार हुने की विकल्पपनि खोज्ने भन्ने प्रश्न खड्कीएको छ । आत्मिय मित्र स्व. शेर्पाको आत्मले शान्ति पाओस्, सुखावतीमा उनको पुनः जन्म होउन्, भन्नेर कामना गर्नुको विकल्प रहने । हार्दिक श्रद्धाञ्जली !