लाक्पा जी. शेर्पा
विश्वभर छरिएर रहेका शेर्पा समुदायहरुको सामुहिक भेटघाट अर्थात ‘विश्व शेर्पा सम्मेलन २०१७’ निकट सन्ध्यामा हामी छौं । शेर्पा समुदायको अवस्था थतथलो, वसोवास, निरन्तर विकास र परिस्थिती अनुसार रहेका छन् । ती सबैलाई एकै ठाउँमा भेला पार्ने र एउटा ठोस् विषयमाथि बहस चलाउँदै समुदायलाई निश्चित समयसिमा भित्र कुनै एक विन्दुमा पुर्याउनु नै सम्मेलनको मूल आशय हुनुपर्छ । सम्मेलनमा विश्वभरका २५ बढी राष्ट्रबाट आप्रवासी, मजदुरी, व्यापारका शिलसिलामा रहेकाहरु नेपाल आउँछन् र सम्मेलनमा भाग लिनेछन् । विशेष गरी नेपाल शेर्पा संघको अगुवाईमा विश्व शेर्पा सम्मेलनतय गरिएको छ । विश्व शेर्पा सम्मेलनको परिकल्पना विश्व शेर्पा संघको स्थापनाका लागि गरिएको देखिन्छ । अमेरिका, वेल्जीयममा वसोवास गर्ने शेर्पाहरुको विशेष पहल र क्रियाशिलतामा हुन लागेको यो सम्मेलनले समुदायलाई आगामी दिनमा ठोस दिशा निर्देश गर्दै एउटा विन्दुमा पुर्याउने नै छ भनेर विश्वास गर्न सकिन्छ ।
सम्मेलनले उठान गर्ने विषय, प्रस्तुत हुने एजेन्डा, छलफल तथा अन्य विषयगत शिर्षकहरुबाट सम्मेलनको औचित्य पुष्टि गर्दछ । सम्मेलनले समुदायको भाग्य र भविष्य नै निर्धाण गर्ने भनेर गरिएको प्रचारवाजीलाई मनन गर्ने हो भने यसलाई बढी उपयोगी र फराकिलो बनाउ जरुरी छ । त्यो हदसम्मको प्रस्तुती र तयारी भइरहेको छ या छैन भन्ने विषय भने अन्यौलपूर्ण नै देखिन्छ ।
विशेष गरी अनलाई (स्काईप) संवादका माध्यमबाट तय गरिएको विश्व शेर्पा सम्मेलन आफैमा ओझपूर्ण छँदैछ । यसले खेल्ने भूमिका, निभाउने दायित्व र समुदायमा पुग्ने फाइदाले सम्मेलनलाई बढी महत्व दिएर हेरिँदै छ । तर, पछिल्ला गतिविधी, सम्मेलनको उद्घाटन स्थान निर्धारण र खास विषय प्रकाशमा नआउँदा सम्मेलन बोझिलो मात्रै हुने त हैन भन्ने प्रश्नपनि खडा छ ।
सबैको आपनत्व र सहभागितासहित सम्मेलनलाई सफल पार्नु नै समुदायको लागि पहिलो दायित्व हुन आउँछ । समुदायको भाग्य र भविष्य निर्धारण गर्ने गरी आयोजना गरिएको सम्मेलनले सम्पन्न हुन पाउँदा नपाउँदै ‘एकराते मेला’ को संज्ञा नपाउन भन्ने तर्फ भने अगुवाहरु सचेत बन्नुपर्छ । अर्कोतर्फ, विश्व शेर्पा सम्मेलन जस्तो गौरवपूर्ण बिषय व्यक्तिमूखि, महत्वकांक्षी र दम्भयूक्त हुनुहुँदैन । प्रक्रियागत रुपमा विश्वभरबाट धनराशी खर्चिएर सम्मेलनमा भाग लिन आउनेहरुका लागि पनि यो क्षण ऐतिहासिक बन्न सक्नु पर्दछ । जु्न विषयहरु उठान गरिए त्यसले ठोस आकार ग्रहण गर्दा मात्रै सम्मेलनको औचित्य पुष्टि हुन्छ । सम्मेलनलाई बढी भड्कीलो बनाइनु हुन्न भन्नेमा हामी एकमत हुनुपर्दछ । तथापी, उद्घाटन नै होटल र्याडीसन अर्थात राजधानीको पाँचतारे होटलमा हुने भएपछि ‘मिताव्यायी’ कति हुने भन्ने प्रश्न अर्कोतिर अनुत्तरित नै छ ।
समग्रमा सम्पूर्ण शेर्पा अर्थात विश्वको गौरवका जातीले पहिलो पटक आयोजना गर्न लागेको विश्व शेर्पा सम्मेलनमा व्यक्तिगत इष्र्या, रिस, अन्तरकलह जोडिनु हुन्न भन्नेमा पनि सबैको जोड रहनुपर्दछ । सामाजिक, आर्थिक उपलब्धि र राजनैतिक अधिकारका खातिर सम्मेलनले ठोस रुपमा छलफल गरी दस्तावेजीकरण गर्दै लागू गर्न सकेमा सम्मेलनको औचित्य पुष्टि हुन्छ । अर्थ र सार्थकता देखिन्छ ।
छुटाउनै नहुने विषय ‘राजनैतिक अधिकार’
विश्व शेर्पा सम्मेलन सांस्कृतिक सम्मेलन मात्रै हो ? भन्ने प्रश्न सामाजिक सञ्जालमा पाइन्छ । यसको जवाफ दिन अगुवाहरुले खास तदारुकता दिएको देखिँदैन । कतिपय अवस्थामा सामान्य विषयमा समेत टिप्पणी गर्ने र विवादित वन्ने गरेको अगुवाहरुले यस्तो महत्वपूर्ण विषयमा किन मुख खोल्दैनन ? प्रश्न झनै थोपरिन्छ । वास्तवमा राजनैतिक अधिकारको विषयमा उठान गर्ने र एउटा स्पष्ट रोडम्यापसहित शेर्पा समुदायलाई निश्चित विन्दुमा पुर्याउने मार्गदर्शनको रुपमा सम्मेलन हुनुपर्दछ । सम्मेलनलाई सांस्कृतीक मात्रै बनाउने अर्थात सम्मेलनमा शेर्पा जातिको भाषा, धर्म, संस्कार, संस्कृती र वर्तमान अवस्थाका बारेमा मात्रै ‘कोरा’ छलफल हुने हो भने यसलाई सांस्कृतीक रुपमा रुपान्तरण, नामकरण गर्न सकिन्छ, बुझिन्छ । यता सम्मेलनमा राजनैतिक, सामाजिक, आर्थिकका साथै धार्मिक, सांस्कृतिक र वर्तमान अवस्था समेतमाथि छलफल, वहस हुन्छ ? लोकलयमा ‘मिल्ती’ हुन नसकेको र जवाफ खोजीरहेको विषय नै यही हो ।
तर, विशेष गरी राजनैतिक अधिकारको विषय सम्मेलनमा उठान नहुने हो भने सम्मेलनले खास औचित्य पुष्टि गर्न सक्दैन । शेर्पा स्वायत्त प्रदेश, राजनैतिक अग्राधिकार, राज्यको हरेक निकायमा पहुँचका विषयलाई विश्व शेर्पा सम्मेलनले भुल्नु हुने छैन । र, राजनैतिक अधिकार विना अन्य कुराहरु प्राप्तिको खास अर्थ राख्दैन भन्नेतर्फ हाम्रो बुझाई केन्द्रीत हुनुपर्दछ ।
सामाजिक, आर्थिक बहस
विशेष गरी ५ लाख बढी जनसंख्या भएको मानिने शेर्पा समुदायलाई राज्यले सामाजिक दृष्टिबाट बहिष्करणमा परेको जाति भन्दै सिमान्तकृतमा ‘वर्गिकरण’ गरेको छ । १ प्रतिशत भन्दाकम जनसंख्या भएको जातिलाई सिमान्तकृतमा राख्ने संविधानमा उल्लेख भए अनुसार नै शेर्पा समुदायलाई यो वर्गमा खुम्च्याईएको हो । जनसंख्यालाई हेर्ने हो भने राज्यसँग शेर्पाको एकिन तथ्याङ्क १ लाख ६० हजार मात्रै छ । वर्गिय उत्पीडनको एउटा उदाहरण ‘हामी आफ्नो जात, धर्म, सम्प्रादय लुकाएर अझैपनि खुलेर चिन्न सकिरहेको छैनौं ।’ सरकारी तथ्याङकहरुलाई हेर्ने हो भने हामी जातिय अस्तित्वलाई दिनानुदिन तिलाञ्जली दिँदै अघि बढ्दैछौं । यस्तो गम्भिर विषय विश्व शेर्पा सम्मेलनको छलफलको विषय बन्नु पर्दछ । सम्मेलनले राज्यबाट वेलावेलामा संकलन हुने जातिगत मिथ्याङ्कलाई तथ्याङको रुपमा प्रस्तुत गर्न दबाब दिँदै वास्तविक जनसंख्या प्रकाशमा ल्याउँदै राज्यको हरेक निकायमा स्थान सुरक्षित गर्न दवाव सिर्जना गर्नुपर्दछ ।
सामुदायलाई आर्थिक रुपमा आगामी दिनमा समृद्ध र अन्य जातिको तुलनामा अब्बल सावित गराउनका लागि समेत सम्मेलनले विशेष योजना निर्माण गरी लागू गर्नतर्फ ध्यान दिनु पर्दछ । विशेष हिमाली क्षेत्रको आर्थिक अवस्थालाई ध्यानमा राख्दै एजेन्डा अघि बढाउनुपर्ने हुन्छ ।
शैक्षिक, सांस्कृतीक विषय
समुदाय विकासको पहिलो एजेन्डा भनेकै शिक्षा हो । हामी अहिलेपनि शैक्षिक रुपमा निक्कै पछाडि छौं । शैक्षिक रुपमा पछि पर्दा हाम्रा चेतनावृद्धि हुन सकिरहेका छैनन । हामीले सोचे अनुसार क्रियाकलापमा क्रियाशिल हुन नसक्दा नै हामी बौद्धिक रुपमा पछि परिरहेका छन् । हामी कहाँ बौद्धिक वर्गको जमातको खाँचो खड्कीरहेको अवस्थामा शैक्षिक रुपमा समुदायलाई जागरण ल्याउने गरी विश्व शेर्पा सम्मेलनले विषय उठान गर्न सक्नुपर्दछ । हामीसँग भएका आर्थिक स्रोतहरुलाई शिक्षा क्षेत्रमा परिचालन गर्ने र शिक्षिक समुदाय निर्माण गर्ने अभियानलाई सार्थकता दिन सम्मेलनले नीतिगत व्यवस्था गर्नु अपरिहार्य छ । सांस्कृतीक, भाषिक, धर्म र पहिचान जन्य विषय छुटाउन नै नहुने विषयहरु हुन ।
सम्मेलनमा आमसञ्चार, मौलिक हक, प्राकृतिक स्रोतको उपयोगिता, शेर्पासँग जोडिएका अन्तर्राष्ट्रिय सन्धीअविसन्धीका विषयमा पनि छलफल गर्नु जरुरी छ ।
शेर्पा समुदायले नेतृत्व गरीरहेका पर्यटनसँग सम्वन्धीत संस्थाहरु र विशेष गरी शेर्पासँग जोडिएर चिनिने पेशा व्यवसायहरु समेत पछिल्लो दिनमा शेर्पा वाहेकबाट नेतृत्व लिने र हाबी हुँदै गएको देखिन्छ । यसतर्फ रणनीतितय गरी लागू गर्न विश्व सम्मेलन चुक्नु हुँदैन । त्यस्तै, समग्रमा शेर्पा समुदायको हितका लागि स्थापित संस्थाहरुलाई एकताको सुत्रमा बाँधेर जुनसुकै माग, मद्दा र जातिगत विकासको विषयमा एकताबद्ध भई अघि बढ्ने खालको ‘मन्त्र’ तय हुनु जरुरी छ । विश्व शेर्पा सम्मेलन सबै जम्मा भएर रमाइलो गर्ने, भेटघाट गरेर समय व्यातित् गर्ने र सस्तो लोकप्रियता आर्जन गर्ने थलो नबानोस् भन्नेतर्फ सचेत रहन सकेमा सम्मेलन सफल हुनेमा दुइमत छैन ।
(शेर्पा पत्रकार महासंघ ओखलढुंगाका सचिव हुन् ।)