शेर्पाहरुको पहिचानको कुरा गर्दा यसलाई पहिला हामी शेर्पाहरु कै दृस्टीकोणबाट विश्लेषण गर्नु पर्दछ । यसो गर्नको लागि पहिले पहिचानको अर्थ थाह पाउन आवस्यक छ । पहिचान भन्नाले कुनै व्यक्ति वा बस्तुको निश्चित अवस्था हुनुलाई बुझिन्छ । कुनै व्यक्ति, जाती वा बस्तुहरुलाई चिन्नको लागि उसमा कुनै अनुपम बिशेषताहरु छन्, जुन अरु व्यक्ति, जाती वा बस्तुहरुमा हुदैन । अर्को शब्दमा कुनै व्यक्ति, जाती वा बस्तुहरुको निर्धारित गुण वा बिशेषताहरुको आधारमा त्यस व्यक्ति, जाती वा बस्तुहरुलाई निश्चित रुपमा चिन्नयोग्य बनाउछ अथवा त्यस व्यक्ति, जाती वा बस्तुहरुलाई परिचित गराउछ भने त्यसलाई त्यस व्यक्ति, जाती वा बस्तुहरुको पहिचान भनिन्छ । त्यसैले कुनै व्यक्ति वा जातीहरुको निर्धारित गुण वा बिशेषताहरुमा त्यस व्यक्ति, वा जातीको आकृति, रंग, उसको व्यवहार, स्वभाब, भावनात्मक र मानसिक अवस्था र उसको भाषा, धर्म, संस्कृति, परम्परा र रितिरिवाजहरुको अनुपमता अनुसार हुन्छ ।

 

हामी शेर्पाहरु एक्काइसौ शताब्दीसम्म आइपुग्दा पनि आफ्नै पहिचानको खोजी गरिरहेको छौ । यस पहिचानलाई सबभन्दा पहिले हामी शेर्पाहरु भित्रैबाट खोज्नु पर्ने देखिन्छ । हामी भित्रको पहिचान भन्नाले शेर्पाहरुको परिभाषा, रुवी, भाषा, धर्म,संस्कृति, परम्परा र रितिरिवाजहरु हुन् र त्यसैको आधारमा गहनरुपमा हेर्नु पर्ने हुन्छ । पहिले हामी शेर्पाहरुको परिभाषालाई तीन फरक परिभाषाबाट हेरौं ।

प्रथमत, अधिमकालमा त्रिटोंन निमा ओसेरका सन्ततिहरुलाई शेर्वा भनिन्थियो । त्यहि त्रिटोंन निमा ओसेरका सन्ततिहरुले पछि शेर्वा गोत्र निर्माण गरयो । यो शेर्वा गोत्र अहिलेको शेर्पाहरुको चार मूलगोत्र मध्ये एक मुलगोत्र हो । यही शेर्वा मूलगोत्रको शेर्वाबाट नै पछि आप्रभंश भएर शेर्पा भएको हुन सक्छ । दोस्रोमा, श्यर भन्नाले पुर्ब र वा भन्नाले बासीबाट श्यर्वा र पछि त्यहि श्यर्वा आप्रभंश भएर शेर्वा हुँदै शेर्पा भएको भन्ने भनाई इतिहासकारहरुको छ । त्यस्तै गरी तेस्रोमा, शेर्पाको पर्यबाची अर्थ नै हिमालयको उच्च पर्वतारोही भएकोले यही उच्च पर्वतारोहीलाई शेर्पा भनिन्छ ।

दोस्रो, हामीले एउटा अति महत्वपुर्ण पहिचानको रुपमा शेर्पाहरुको रुलाई हेर्न सकिन्छ । शेर्पाहरुको रु भनेको के हो त्यसलाई हेरौ । शेर्पाहरुको रु अथवा रुवा भन्नाले हाम्रो भाषामा हाड वा हड्डी भन्ने बुझिन्छ । रु भन्नाले बिस्तृत रुपमा त्यसलाई बुझाउछ जसको सन्तानहरुको पुरुष लाईन् अटुट्ररुपमा उनीहरुको सामुहिक पुरुष पुर्खाहरुबाट भएको छ । साधारणतय रु अन्तर रुवी इकाईमा निर्माण हुन्छ । अर्को शब्दमा शेर्पाहरुको रु सधै उसको बाबुबाट छोराछोरीहरुमा सर्दछ । रु भन्नाले छोराको पनि छोराहरुको शुरु देखिको क्रमिक सन्तानहरु भन्ने जनाउछ । परम्परा अनुसार एउटै रु भित्र शारीरिक तथा बैबाहिक सम्बन्ध राख्न पूर्णरुपमा प्रतिबन्ध लगाईएको छ र यदि कथामकदाचित त्यसो हुन गए त्यसलाई जघन्य अपराधको रुपमा हेरिन्छ । त्यस जघन्य अपराधलाई शेर्पा भाषामा स्यामडेन् र नेपालीमा हाडनाताकरनी भनिन्छ ।

यसरी यहि रुको आधारमा हामी शेर्पाहरुलाई चार मुलगोत्रहरु र अन्य दुई गोत्रहरुमा बिभाजन गर्न सकिन्छ । पहिलोमा मिन्याग मुलगोत्र (Proto-Clan) जसमा ठाक्तोक, पिनासा, गर्जा, गोले, युल्खोङ्गमा, पाङ्गकरमा र सिरे गरी सात गोत्रहरु (Clans) पर्दछन् । दोस्रोमा थिमी मुलगोत्र जसमा सालाका, खम्बाचे, गोपर्मा, पल्दुर्चे र ल्हाकसिन्दो गरी पाँच गोत्रहरु पर्दछन् । तेस्रोमा शेर्वा मुलगोत्र जसमा लामा शेर्वा र लामा गोन्पा गरी दुई गोत्रहरु पर्दछन् । चौथोमा चक्पा मुलगोत्र जसमा चियवा नक्पू र चियवा लुक्पा गरी दुई गोत्रहरु पर्दछन् । यी चार मुलगोत्रहरु आफुलाई शुद्ध शेर्पा ठान्दछन् । अन्यमा नया र स्वतन्त्र गोत्रहरु जसमा नावा, ल्हुक्पा, छुसेर्वा, पेनाक्पा, जुङ्गदोम्बा, मेन्देवा, डोक्पा, मिल्हासा, डोतुवा, शङ्गगु, मिनाक्पा,
शिगाचेवा, मुर्मिन्चोवा, मप्चा, होजाङ्गगा, रोङ्ग्शेर आदि, आदि… । अन्तमा मिथ्या गोत्रहरु जसमा तामाङ्ग, नेवार, गुरुङ रछेत्री शेर्पाहरु पर्दछन् ।

यहाँ अर्को महत्वपुर्ण कुरा हामी शेर्पाहरुले के प्रस्ट हुनु पर्ने देखिन्छ भने धेरै शेर्पाहरुलाई खापा भनेको छुट्टै गोत्र हो र यो गोत्र मिन्याग मुलगोत्रमा पर्छ भनेर । तर त्यसो नभई खापा एउटा उसले अंगालेको ब्यबसाय मात्र हो । यो गोत्र कदापी होइन । जस्तो पाङ्गकारमाका खापाहरु सालाकाहरु हुन् भने चिवाङ्ग खोपका खापाहरु लामा शेर्वाहरु र पाङ्गखोङ्गमाको खापाहरु
पिनासा हुन् । त्यसैले खापा छुट्टै गोत्र होइन । त्यस्तै गरी मिल्ल्हासा र डोतुवा स्वतन्त्र गोत्रलाई मिन्याग मूलगोत्र समूहमा राखेको देखिएको छ । यदि यस स्वतन्त्र गोत्रका शेर्पाहरुले हामी मिन्याग मुलगोत्रमा पर्छु भन्छ भने हामीले उनीहरुलाई कुन गोत्र भित्र पर्छ भनेर सोध्न वा बुझ्न जरुरी छ । यदि कसैले म गोले भित्र पर्छु तर मेरो रु डोतुवा हो भन्छ भने उ गोले नै हो र उसलाई गोले गोत्र भित्र राख्नु पर्छ र अर्को नया गोत्र निर्माण गर्न आवस्यक छैन । त्यस्तै गरी छुशेरवा र मेन्देवा नया गोत्रलाई पनि थिमी मुलगोत्र समूहमा राखेको पाईएको छ । यी गोत्रहरुलाई हामीले स्वतन्त्र वा नया गोत्र समुहमा नै राख्नु पर्ने हुन्छ । अर्को शब्दमा यदि कसैले म मिन्याग अथवा थिमी मुलगोत्रमा पर्छु भन्छ भने हामीले उनीहरुलाई कुन गोत्रमा पर्छ भनेर राम्ररी अध्ययन तथा अनुसन्धान गरी सोही गोत्रहरुमा राख्नु पर्छ अथवा उसको पुर्खाको जरा पत्ता लगाई किटान गर्नु अति आवस्यक पर्दछ । नत्र यसले भविष्यमा हाम्रो शेर्पा समाजमा अझ धेरै बढी अप्ठ्यारो स्थितिहरु शिर्जना गर्न सक्ने देखिन्छ ।

यसरी दोस्रोमा, माथि उल्लेखित मुलगोत्र र गोत्रहरु भित्र यदि कोहि पर्छ भने उनीहरुलाई हामीले शेर्पा मान्नु पर्दछ र शेर्पाको पहिचान भित्र राख्नु पर्दछ । तेस्रो, यदि अरु कुनै जाती नै भए पनि त्यो जातीले शेर्पाहरुको भाषा प्रस्टरुपमा बोल्छ, निंगमापा धर्मलाई अङ्गगिकार गरेको छ र हामी शेर्पाहरुले जसरी नै जन्मदा, बच्चाको न्वारन गर्दा, घरको पुजापाठ, बिबाह र
मृत्युको बेला गर्नु पर्ने सम्पूर्ण बिधिहरु पुरयाउछ र शेर्पाहरुको मूलपरबहमा आएको छ भने त्यस्तो जातीहरुलाई हामीले शेर्पाको पहिचान भित्र नै राख्नु पर्ने हुन्छ । अर्को भाषामा शेर्पाहरुले बोल्ने भाषा, मान्ने धर्म, संस्कृति, परम्परा र रितिरिवाजहरुलाई अंगिकार गरेको छ भने हामीले उनीहरुलाई त्यसैको आधारमा मिथ्या गोत्रको रुपमा नै मान्यता दिनु आवस्यक पर्दछ । उदाहरणको लागि मिथ्या गोत्र समुहमा रहेको नाउचे र सल्लारेको गुरुङ शेर्पाहरु, चौरिखार्कको नेवार, तामाङ्ग र छेत्री शेर्पाहरुलाई लिन सकिन्छ । यो मिथ्या शेर्पाका पुर्खाहरु करिब चार पाँच पुस्ता अगाडी कुनै ब्यापारी अथवा गोठालाको रुपमा फरक र खुम्बु क्षेत्रमा आउदा त्यहाका स्थानीय शेर्पिनीसंग शारीरिक वा बैबाहिक सम्बन्ध भएर सोहि गाउहरुमा वा ससुराली गाउहरुमा बसोबास गर्न थाले । यसरी ससुराली गाउमा स्थायी बसोबास भएर त्यसबाट जन्मेका छोराछोरीहरुले त्यंहाकै शेर्पा भाषा, धर्म, संस्कृति, परम्परा र रितिरिवाजलाई ग्रहण गरे र पछि सम्बन्धित जातका रोङ्गबाहरुले त्यही जातको गोत्र राख्न शुरु गरे । त्यसैले हामीले त्यसलाई मिथ्या गोत्र भन्नु पर्दछ र त्यही मिथ्या गोत्रमा उनीहरुलाई राख्नु पर्दछ ।

यसको अलावा हाम्रो शेर्पा समाजको कुनै गहन अध्ययन तथा अनुसन्धान नै नगरी अन्दाजको भरमा उपयुक्त वा अनुपयुक्त प्रश्नहरु धेरै उठाएको पाईएको छु । त्यसरी उठाएको प्रश्नहरुमा म यहाँ केहि उल्लेख गर्न चाहन्छु । जस्तो खासे कसरी शेर्पा भयो ? खामिन्दुवा वा येन्बालाई किन शेर्पा भनिएन अथवा किन दोस्रो दर्जामा राखियो ? हेलम्बुको योल्मो र ताप्लेजुंगको भोटे कसरी शेर्पा भएन ? उत्तरी सिमानामा बसोबास गर्ने सबै शेर्पा हुनु पर्ने आदि इत्यादी ।

यो माथिको प्रश्नहरुको पहिलो जवाफमा मोटामोटी रुपमा मैले त्यो भन्दा माथि नै प्रस्ट परेता पनि छोटकरीमा भन्नु पर्दा कुनै पुरुष खासे वा छेत्रीको शारीरिक वा बैबाहिक सम्बन्ध कुनै शेर्पा स्त्रीसंग भएर त्यो छेत्री र शेर्पिनीबाट जन्मेको छोराछोरीहरुले शेर्पा भाषा प्रस्ट बोल्छ, शेर्पाको लुगा र गरगहना लगाउछ, जसको नाम शेर्पामा छ र जसले निङ्गमापा धर्मको अनुसरण गर्छ भने उनीहरुलाई हामीले शेर्पा नै मान्नु पर्छ र मिथ्या गोत्रमा राख्नु पर्छ । दोस्रो खामिन्डुवा भनेको हाम्रो शेर्पा समाजमा त्यसलाई भनिन्छ, जसको समाजबाट कुनै समयमा कुनै प्रकारको जघन्य अपराधको कारण उसलाई शेर्पा समाजबाट निकालिएको छ । यो खामिन्डुवालाई शेर्पाहरुले यावा पनि भन्ने गरिन्छ । त्यस्तै गरी येन्बा पनि कुनै समयमा शेर्पा समाजमा जघन्य अपराध वा स्यामडेन् गरे बापत त्यस्तालाई सात डांडा र सात खोला कटाएर खेदिएको हुनाले उसलाई पनि सजाय स्वरुप शेर्पा समाजबाट टाढा राखिएको
हो र उसलाई येन्बा भनिएको हो भन्ने भनाई हाम्रो इतिहास र पुर्खाहरुको छ । तर अहिले स्याम्डेन् वा हाडनाताकरनी गरेमा त्यस्तालाई नेपालमा कडा कानुनी कार्यबाही गरिन्छ र लामो समयसम्म जेल सजाय दिईन्छ । यसरी उनीहरुको जघन्य अपराध कै कारण उनीहरुको गोत्र समेत लोप भै खामिन्दुवा र येन्बा भएको हो । यिनै कारणहरुले खामिन्डुवा वा यावा र येन्बाहरुलाई शेर्पाको पहिचान नदिई समाजबाट टाडा राखिएको हो । त्यसको साथै हामी शेर्पाहरुको उनीहरुसंग कुनै पनि धर्म र कर्म संगै चलाउने चलन आजतक छैन ।

तेस्रोमा हेलम्बुको योल्मो र ताप्लेजुङ्गका भोटेहरू हामी शेर्पाहरुको माथिको चार मुलगोत्रहरुमा पर्दैन । त्यती मात्र नभै उनीहरुको भाषा, संस्कृति, परम्परा र रितिरिवाज पनि हामी शेर्पाहरुसंग केहि मेल खादैन । त्यसैले हेलम्बुको योल्मो र ताप्लेजुङ्गका भोटेहरुलाई शेर्पा नभनिएको हो । तसर्थ माथि उल्लेखित तीनवटा उत्तरहरुबाट के प्रस्ट हुन्छ भने हामीले सम्पूर्ण
उत्तरी सिमानामा बसोबास गर्ने नेपालीहरुलाई शेर्पाको पहिचान भित्र राख्न मिल्दैन र शेर्पा मान्न पनि सकिदैन । मैले माथिका उत्तरहरु दिएर हामी उत्तरी सिमानामा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुमा बिभाजन ल्याउन खोजेको किमार्थ होइन । मैले मात्र हामी शेर्पाहरुको पहिचानको कुरा गर्दा सबै उत्तरी भेगमा बसोबास गर्ने सबै नेपालीहरुलाई एउतै ठाउमा मिसाउनु हुँदैन भन्ने मात्र हो ।

अझ अगाडी भन्नु पर्दा हामी सम्पूर्ण शेर्पाहरुले हरेक समयमा आफ्नो मन मस्तिस्कमा राख्नु पर्ने महत्वपुर्ण कुरा के भने आफ्नो मुलगोत्र कुन हो र त्यस मुलगोत्रमा कुन कुन गोत्र पर्दछ र आफु कुन गोत्रको हो भन्ने कुराहरु । त्यस्तै अर्को महत्वपुर्ण कुरा खुम्बुको ठाक्तोक र दोलखाको ठाक्तोक, ठाक्तोक नै हो । उनीहरु एउतै बाबुका छोराछोरीहरु हुन् । त्यस्तै गरी खरिखोलाको सालाका र काठमाडौँको सालाका सालाका नै हो । त्यस्तै गरी कुरीमाको ठाक्तोक र मेराङ्ग गाङ्गदोकको पीनासा पनि एउटै पुर्खाका सन्तानहरु नै हुन् । बेल्जियमको पल्दुर्चे र न्युयोर्क, अमेरीकाको गोपर्मा एउतै पुर्खाका छोराछोरीहरु हुन् र उनीहरुको बिचमा शारीरिक तथा बैबाहिक सम्बन्ध राख्नु महा अपराध हो । यी कुराहरु हाम्रो रुवीमा उल्लेख भएका देवबाणीहरु हुन् र यसलाई हजारौ वर्ष देखि हाम्रा पुर्खाहरुले पालन गरी बचाई राखेको प्रथा हो र यसलाई त्यहि तहको शुध्दतामा बचाई राख्नु हामी सम्पूर्ण शेर्पाहरुको कर्तब्य हो । यसरी हामी शुध्द शेर्पाहरुको रुवी प्रथालाई अर्को हजारौ बर्ससम्म बचाई शेर्पाहरुको शुध्दतालाई जीवितै राखौ ।

अन्तमा, हामी शुद्ध शेर्पाहरुको आफ्नै ऐतिहासिक अर्थ तथा परिभाषाहरु छन् । हाम्रो आफ्नै रूहरु छन् र त्यसै रुलाई आधार मानेर शेर्पा को हो भन्ने छुट्याउने हो । यसरी रुको आधारमा शेर्पाहरु छुट्याउनु भन्नुको मूल अर्थ नै हामी शेर्पाहरुको बिचमा भएको अस्पस्टतालाई अर्थको अनर्थ र अनर्थको अर्थ नलगाई हाम्रो रुलाई अतिनै शुद्धसंग बचाएर त्यस रुवी प्रथालाई भबिष्यसम्म बचाई राख्नु हो । त्यसैले गर्दा हामी शेर्पाहरुले आफ्नो पहिचान खोज्दा पहिला आफै भित्र आफ्नो परिभाषा, रुवी, भाषा, धर्म, संस्कृति, परम्परा र रितिरिवाज अनुसार हेर्नु पर्दछ । यो नै हाम्रो अनुपम बिशेषताहरु हुन् र यसैको आधारमा हामी भित्रको पहिचान खोज्नु पर्दछ । त्यस संसगै (राजनैतिक पहिचान ?) राज्यसंग खोजि हामी शेर्पाहरुको पहिचानलाई अझ फराकिलो बनाई पूर्णता दिनु पर्ने देखिन्छ । यसको लागि मुख्य गरी हामी शेर्पाहरुको एक मात्र अधिकारिक संस्था यम्बु शेर्वा चिछोगले मुख्य भूमिका निभाउनु पर्ने टट्कारो रुपमा देखिन्छ ।

पुनश्च: लेखक यम्बु शेर्वा चिछोगको संस्थापक सदस्य पनि हो ।

source:The Minyag/Thaktok Sherpa Family