काठमाडौं,भदौ २०/
सामाजिक सञ्जाललाई ठगी गर्नेहरूले भरमग्दुर उपयोग गर्न थालेका छन् ।
सोलुखुम्बु घर भई काठमाडौंको बौद्ध बस्ने ३३ वर्षीया आङ्लेमी शेर्पाले फेसबुकमार्फत् नयाँ-नयाँ साथी बनाउने र महँगा उपहार आएको भन्दै त्यसवापत् लाग्ने करका नाममा ठग्दै आएको खुलासा भएको हो ।

गत विहीबार भदौ १५ गते प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सीआईबी) ले पक्राउ गरेको हो । विदेशीसँग मिलेर ३४ जनाबाट ४३ लाख ठगी गरिसकेको सिआईबीले जनाएको छ ।

नयाँ-नयाँ व्यक्तिसँग फेसबुकमार्फत् चिनजान गर्ने र महँगा उपहार आएको भनेर झुक्याउँदै त्यसवापत् लाग्ने करका नाममा उनले ठगी गर्दे आएको खुलासा भएको हो ।

यसरी गर्थिन् ठगी !
ठगी गर्न फेसबुकमा शेर्पासहितको गिरोह नै सक्रिय रहेको प्रहरीको भनाई छ। गिरोह सदस्यले फेसबुकमा विदेशी नाम राख्ने गरेको पीडितहरूले बताएका छन् ।

`विदेशी नामबाट फ्रेण्ड रिक्वेष्ट पठाउने, सम्बन्ध विस्तार भएपछि ठग्ने क्रम सुरू हुने रहेछ’ अनुसन्धानमा संलग्न एक प्रहरीअधिकृत बताउँछन् ।
ठग्नका लागि उनीहरूले भारतीय नम्बरबाट फोन गरी पार्सल भारतमा आइपुगेको र त्यसका लागि केही कर लाग्ने भन्दै पैसा मागेर ठगी गर्ने गरेका थिए।

कोही कोहीलाई हिराको हार, आई-फोन लगायतको बहुमूल्य पार्सल पठाउँछु ट्याक्स क्लियरेन्स तपाईले गर्नुपर्छ भनेर पार्सलको फोटोसमेत पठाएर प्रलोभनमा पार्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

ठगिएकामध्येका धेरैले मनी ट्रान्सफरमार्फत् पैसा पठाएका थिए । त्यो पैसा शेर्पाले बुझ्ने गरेकी थिइन् ।

कसरी पक्राउ परिन् त ?
ठगी आरोपमा पक्राउ परेकी शेर्पा काठमाडौंको एक सहकारीमा काम गर्थिन् । तर, उनको रवाफ भने सहकारीमा काम गर्ने स्तरको भन्दा उच्चस्तरको थियो ।

यसलाई नै आधार मानेर प्रहरीले उनको पिछा गर्न सुरू गरेको थियो । आफू धनी भएको भ्रममा पारी गिफ्ट पठाइदिने लोभमा उनीहरूको समूहले थुप्रैलाई एकपछि अर्को गरी आफ्नो फन्दामा पार्ने गरेको प्रमाण जुटाएपछि प्रहरीले शेर्पालाई पक्राउ गरेको हो ।

शेर्पाले पार्सलका लागि भनेर विभिन्न व्यक्तिले पठाएको पैसा लिएर विदेश पठाउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । अमेरिकामा बस्दा चिनजान भएका व्यक्तिको आग्रहमा आफूले पैसा लिने गरेको उनले बताएकी छन् ।

व्युरोले काठमाडौ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ।

फेसबुकमा चिनजान भएको साथीबाट उपहार लिने प्रलोभनमा ५० भन्दा धेरै व्यक्ति ठगिएका छन् । बहुमूल्य सामग्रीको प्रलोभनमा परेर ५० हजारदेखि छ लाख ७५ हजारसम्म बैंक डिपोजिट गरिएको पीडितहरूले ऊजुरीमा उल्लेख गरेका छन् ।

Source: baahra khari