आचार्य सार्की शेर्पा
बेनी–९, सोलु

मानव समाजको विकास आध्यात्मिक चिन्तन र विज्ञान तथा प्रविधिद्वारा हुदै आएको छ । आध्यात्मिक चिन्तन विना मानवको महत्व नै हुदैन भन्दा अत्युक्ति नहोला । आध्यात्मिक चिन्तनका शिखर पुरूषहरू मध्ये आज भन्दा करिब २५५८ औं वर्ष पूर्व नेपालको लुम्बिनीमा जन्मनु भएका मैत्री र करुणाले युक्त शान्तिका महानायक शाक्यमुनि बुद्धले विभिन्न प्रकारको दुःखबाट पीडित सम्पूर्ण प्राणीहरूको हितार्थ प्रतिपादन गर्नु भएका सिद्वान्त नै गोन्पा शिक्षा हो । शाक्यमुनि बुद्धले प्रतिपादन गर्नु भएका शिक्षाले सहज रुपमा जिवन जीउने कला सिकाउनुको साथै मानवको कठोर हृदयलाई परिवर्तन गरी प्रज्ञाको विकासको साथै मानवलाई नैतिकवान बनाउछ ।
प्राचीनकालदेखि नै नेपालको उत्तरी हिमाली भेगमा बसोबास गर्ने हिमाली बासीहरूले प्रायः प्रत्येक गाउँमा गोन्पा स्थापना गरी बौद्ध धर्म, दर्शन र सहित्य आदि विषयको अध्ययन, अध्यापन गुरु पराम्परा अनुसार गराउँनको साथै अभ्यास पनि हुदै आएको छ । गोन्पामा पठन–पाठनको अलावा धार्मिक कार्यहरू पनि हुने गर्दछन् । बौद्ध परम्परामा गुरुको धेरै महत्व छ । गुरुबाट नै शिष्यको लागि शिक्षा, दीक्षा लगायत गास, बास र कपासको व्यवस्था समेत गर्ने गरिन्छ । त्यसैले गुरुले मार्ग दर्शक र अविभावक, संरक्षक र कल्याणमित्रको भूमिका निर्वाह गर्दछन् । बौद्ध धर्म एवं दर्शनमा आधारित शिक्षा प्रदान गर्दै आएकाले गोन्पा एवं बौद्ध धर्मको बीचमा पारस्परिक सम्बन्ध रही आएको छ । विशेषतः बौद्ध धर्म भनेको बाह्य विषयप्रतिको अतिवादी र भोगलाई परित्याग गरी आन्तरिक चित्तको शुद्धीकरण गर्ने सिद्धान्त भएकाले जसको भावना गर्नुको निम्ति गोन्पा अर्थात् एकान्त स्थलको अपरिहार्य आवश्यक पर्दछ । सारमा भन्नु पर्दा गोन्पा भनेको शैक्षिक, धार्मिक, सास्कृतिक र सामाजिक कार्य गरिने मुख्य केन्द्र हो । तसर्थ प्राचीनकालदेखि गोन्पामा सञ्चालन गर्दै आएका गोन्पा शिक्षा वर्तमान समयमा पनि कायमै रहेकोले गोन्पा शिक्षाको आफ्नै विशिष्ट मौलिक परम्परा रहेको छ ।

नेपालमा परम्परागत बौद्ध शिक्षा
नेपालमा शिक्षा विकासको इतिहासलाई नियाल्ने हो भने प्राचीनकालदेखि समाजको प्रचलित रीति–रिवाज, चालचलन, परम्परागत रुपमा चल्दै आएका धार्मिक तथा सामाजिक मूल्य मान्यताहरू एक पिढीँबाट अर्को पिढीँमा हस्तान्तरण हुँदै आएको पाइन्छ । नेपालमा प्राचीनकालमा बौद्ध र संस्कृत शिक्षा परम्पराबाट अनुप्राणित शिक्षा व्यवस्था कायम रहेको पाइन्छ । “बौद्ध धर्म–दर्शनको प्रतिपादनपछि विहार, गुम्बा र भिक्षुहरूका संघहरू शिक्षा, शिक्षा–दीक्षाका केन्द्रका रुपमा स्थापित भए । विहार र गुम्बामा प्रदान गरिने बौद्ध शिक्षा गुरुकुलभन्दा संगठित रहेको देखिन्छ । प्राचीन नेपालका भृङ्गी, खर्जुरिका र गुम विहार बौद्ध धर्मका केन्द्रका रुपमा रहेका र त्यहाँबाटै शिक्षा–दीक्षा दिने गरेको पाइन्छ । बौद्ध शिक्षा बुद्धका उपदेश तथा बौद्ध दर्शनमा आधारित थियो । त्यहाँ प्राकृत तथा पाली भाषा, बौद्ध दर्शन तथा साहित्य, त्रिपिटक, जातक आदि विषयहरू पढाइ हुन्थे । भिक्षुहरूद्वारा नै यस्तो शिक्षा प्रदान गरिन्थ्यो । बौद्ध शिक्षा पारिवारिक बन्धनबाट मुक्त हुने पुरुष वा महिला दुवैले पाउन सक्तथे । यो शिक्षामा वर्णभेद थिएन ।”

नेपालमा बौद्ध शिक्षाको अध्ययन अध्ययापन परम्परा यसै कालदेखि शुरु भएको भन्न नसके पनि भोट देशमा बौद्ध धर्मको उदाय हुनु भन्दा पहिला नै नेपालमा बौद्ध शिक्षाको विकास भई सकेको अनुमान गर्न सकिन्छ । प्राचीनकालमा विभिन्न देशबाट बौद्ध शिक्षा अध्ययनको लागि बुद्ध अनुयायीहरू नेपालमा आउने गर्दथे । “चिनियाँ–तिब्बती भिक्षुहरूलगायत समेत भिक्षुहरू बौद्ध दर्शनको अध्ययन गर्न नेपाल आएको तथ्यले पनि नेपालमा बौद्ध शिक्षाको विकास राम्रोसँग भएको पुष्टि हुन्छ । पछि गएर यो बौद्ध शिक्षा विशेष गरेर नेपालको उत्तरी सीमा क्षेत्रतिर सीमित रहन गयो । केही विहार तथा गुम्बाहरूमा सीमित रुपमै भए पनि अहिलेसम्म पनि यो शिक्षा चलिरहेको पाइन्छ ।”
छौठौं शताब्दीको अन्त तथा सातौं शताब्दकिो पहिलो चरणतिर राजा अशुवर्माकी सुपुत्री भृकुटीले तत्कालिन भोट देशका राजा सोङ्चेन गोन्पोसँग विबाह गरिएको थियो । राजा अशुवर्माले दाइजोको रुपमा आफ्नो सुपुत्रीलाई अक्षोभ्य बुद्ध, बोधिसत्व र आर्यताराका मूर्तिहरू दिएर पठाएको इतिहास र बौद्ध धर्म प्रचार–प्रसारको लागि जति पनि भारतका बौद्ध विद्वान् महापण्डितहरू भोट देशमा जानु भएका थिए उनीहरू सबै नेपालको मार्ग हँदै जानु भएको इतिहासमा पाइन्छ । यस प्रकारको तथ्यले पनि भोट देशमा भन्दा नेपालमा पहिला बौद्ध धर्मको उदय भएको मान्न सकिन्छ । भोट देशका २८ औं राजा ल्हा थोथो री ञिन्चेन ई. ४२७ को राज्यकालमा पहिलो पटक भोट देशमा बौद्ध धर्मको प्रवेश भए तापनि ३८ औ राजा ठिसोङ देउचेनसम्म बौद्ध धर्मले व्यापकता पाउना सकेन । तत्पश्चात् राज ठिसोङ देउचेनले भारतका बौद्ध विद्वान् आचार्य शान्त रक्षित, गुरु पद्मसम्भाव जस्ता विद्वानहरू भोट देशमा निमन्त्रणा गरी संस्कृत भाषाबाट भोट भाषामा बौद्ध सूत्र र तन्त्रका ग्रन्थहरू अनुवाद गरेका थिए । त्यसपछि क्रमश भोट देशमा बौद्ध धर्मले व्यापकता पाएको देखिन्छ । जुन प्रकारले भोट देशमा बौद्ध धर्मले व्यापकता पायो त्यसको प्रभाव नेपालको हिमाली भेगमा पनि परेको थियो । संस्कृत भाषाबाट भोट भाषामा अनुदित बौद्ध धर्म, दर्शनका ग्रन्थहरू बौद्ध गोन्पाहरूमा अध्ययन अध्ययपन गर्न थालियो । त्यसै कारणले आजसम्म पनि सम्भोटा लिपिमा लेखिएका बौद्ध ग्रन्थलाई आधार मानेर मूलतः नेपालका हिमाली क्षेत्रका मानिसहरूले गोन्पा शिक्षा प्रणाली अवलम्बन गर्दै आएका छन् । बुद्धका उपदेश तथा बौद्ध दर्शनमा आधारित गोन्पा शिक्षा प्रणाली परापूर्वकालदेखि नेपालको एक प्रमुख शिक्षा प्रणालीका रूपमा रहिआएको छ ।

गोन्पा शिक्षा पाठ्यक्रम
बुद्धका उपदेश तथा बौद्ध दर्शनमा आधारित गोन्पा शिक्षा प्रणाली पनि परापूर्वकालदेखि नेपालको एक प्रमुख शिक्षा प्रणालीका रूपमा रहिआएको छ । प्रारम्भिक कालमा गोन्पा शिक्षा प्रणाली त्रिपिटकमा आधारित बौद्ध दर्शन, साहित्य विशेष गरी पाँच महाशास्त्र (प्रमाण, प्रज्ञापारमिता, मध्यमिक, अभिधर्म र विनय शास्त्र) का विषयहरूको अध्ययन हुने गर्दथ्यो । अतः प्राचीनकालदेखि नै गोन्पा, विहार आदि संस्थाहरू बौद्ध धर्मका प्रमुख शैक्षिक केन्द्रका रूपमा रहिआएका छन् ।
आजभन्दा २४ वर्षअगाडि सन् १९९० को मार्च ५ देखि ९ तारिखसम्म थाइल्यान्डको जोम्टिन भन्ने ठाउँमा सबैका लागि शिक्षा आधारभूत सिकाइ आवश्यकताको परिपूर्ति नामक विश्व सम्मेलन भएको थियो । त्यस सम्मेलनमा नेपालले पनि भाग लिएर सबैको लागि शिक्षा अन्तर्राष्ट्रिय अभियानको सदस्य ग्रहण गरिएको थियो । सन् १९९० देखि २००० सम्मको नेपालको प्रतिवेदनमा सबैका लागि शिक्षा तर्फ केही गर्न नसकेको दुःखदायी अवस्था उल्लेख गरिएको छ । सन् २००० मा सबैका लागि शिक्षाको सम्बन्धमा डकारमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल लगायत १६४ राष्ट्रका प्रतिनिधिहरूले सन् २०१५ सम्ममा सबैका लागि शिक्षा प्रदान गर्ने लक्ष्य लिए अनुरुप नेपालले पनि त्यसमा प्रतिबद्धता जनाएको थियो । जस अनुसार सन् २००४ जुलाईदेखि नयाँ अवधारणा लागु गरी नेपालका धार्मिक प्रकृतिका शिक्षालाई राज्यको मूलधारमा ल्याउने नीति लिएको छ । यस परिप्रेक्ष्यमा देशका सबै जात जाति, लिङ्ग, वर्ण र क्षेत्रका जनसमुदायलाई शिक्षा प्रदान गर्नका लागि शिक्षाको पहु“च बाहिर रहेका सबैलाई शिक्षाको मूलधारमा समाहित गर्नु राज्यको दायित्व हुन गएको छ । यस सन्दर्भमा आफ्नै स्रोत, साधन र शिक्षण प्रव्रिmयाका माध्यमबाट शिक्षा प्रदान गर्दै आएका गोन्पा शिक्षा प्रणालीलाई राष्ट्रिय शिक्षा प्रणालीमा समाहीकरण गर्नु राज्यको कर्तव्य भएको तथ्यलाई दृष्टिगत गरी नेपाल सरकारले गोन्पा शिक्षालाई राष्ट्रिय शिक्षा प्रणालीको मूलधारमा समाहीकरण गर्ने कार्यक्रम अगाडि सारेको छ । गोन्पा शिक्षाको मूल कार्ययोजनाको पाठ्यक्रममा आधारित पाठ्यपुस्तक हो । पाठ्यक्रम र पाठ्यपुस्तक बिना योजनाबद्ध शिक्षण गर्न सकिं“दैन । त्यसैले २०६५ सालदेखि हालसम्म नेपाल बौद्ध महासङ्घको अगुवाईमा पाठ्यक्रम विकास केन्द्रले कक्षा–१ देखि कक्षा १० सम्मको गोन्पा शिक्षा पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार गरी प्रकाशन भएर देशका विभिन्न गोन्पाहरूमा अध्ययन अध्यापन भैरहेको छ । साथै गत बैशाख १२ गते उच्चमाध्यमिक शिक्षा परिषद्, पाठ्यक्रम तथा प्रशिक्षण महाशाखा, सानोठिमी, भक्तपुरमा का. मु. महाशाखा प्रमुख, रामचन्द्र पाण्डेको अध्यक्षतामा बसेको बैठकले गोन्पा शिक्षा कक्षा–११ र १२ को पाठ्यक्रम निर्माण गर्ने निर्णय गरिएको थियो । सोहि निर्णाय अनुरुप कक्षा–११ मा अनिवार्य अङ्ग्रेजी, अनिवार्य नेपाली, भोट भाषा, बौद्ध शिक्षा, बौद्ध दर्शन गरी पाँच विषय ५०० पूर्णाङ्क र कक्षा–१२ मा अनिवार्य अङ्ग्रेजी, भोट भाषा, बौद्ध शिक्षा, बौद्ध दर्शन, आयुर्वेद पाँच विषय ५०० पूर्णाङ्क गरी जम्मा १००० पूर्णाङ्कको गोन्पा शिक्षा उच्चमाध्यमिक तहको पाठ्यक्रम हाल नेपाल बौद्ध महासङ्घको अगुवाईमा निर्माण भैरहेको छ ।

गोन्पा शिक्षा शिक्षक प्रशिक्षण
गोन्पा शिक्षालाई शिक्षाको राष्ट्रिय मूल प्रवाहीकरण गर्ने नेपाल सरकारको नीति अनुरुप पाठ्यक्रम विकास केन्द्रबाट गोन्पा शिक्षाको कक्षा १ देखि १० सम्मका पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार गरी अध्ययन अध्यापन भई रहेका छन् । गोन्पा विद्यालयहरूमा प्रदान गरिने शिक्षालाई गुणस्तरीय बनाउँनका लागि गोन्पामा अध्यापनरत शिक्षकहरूको शिक्षण सीप र पेसागत दक्षताको अभिवृद्धि गर्नको लागि शैक्षिक जनाशक्ति विकास केन्द्र आ.व. २०६७÷०६८ देखि १० दिने शिक्षकको पेसागत विकास तालिम (टि.पि.डी. मोडेल शैक्षिक तालिम केन्द्रहरूमा सञ्चालन गर्दै आएको छ । यसका लागि शैक्षिक तालिम केन्द्र, तनहूँ र शैक्षिक तालिम केन्द्र, काभ्रेलाई गोन्पा÷विहारमा अध्यापन गर्ने शिक्षकहरूको लागि टी.पी.डी. सञ्चालन गर्ने जिम्मेवारी ताकिएको छ । नेपाल सरकारको नियमित बजेटका अतिरिक्त नेपाल बौद्ध महासंघको आर्थिक सहयोग र शैक्षिक तालिम केन्द्रको संयोजनमा पनि गोन्पा÷विहारमा अध्यापन गर्ने शिक्षकहरूको लागि टी.पी.डी. सञ्चालन गर्ने गरिएको छ । उक्त तालिममा हालसम्म १९० जना शिक्षकहरूले तालिम प्राप्त गरिसकेका छन् ।

अनुमति वा स्वीकृति प्राप्त गरी सञ्चालनमा रहेका गोन्पाहरू
नेपाल सरकारले अनुमति तथा स्वीकृति प्राप्त गरी संचालित धार्मिक प्रकृतिका विद्यालयहरू गोन्पा, गुरुकुल र मदरसा शिक्षालाई शैक्षिक प्रणालीको मूलधारमा ल्याउन, परम्परागत शैक्षिक व्यवस्थालाई सुदृढ तथा संस्थागत गरी यी संस्थाहरूले दिने शिक्षालाई राष्ट्रिय मापदण्ड अनुसार औपचारिक शिक्षाको समकक्षी बनाउँनका लागि नेपाल सरकार, शिक्षा मन्त्रालयबाट “धार्मिक प्रकृतिका विद्यालयहरूलाई अध्यापन, व्यवस्थापन कार्यमा सहयोगका लागि एकमुष्ट अनुदान कार्यान्वयन (पहिलो संशोधन) निर्देशिका, २०६९” जारी गरिएको छ । हालसम्म २५ जिल्लाको २७५ वटा गोन्पाहरूमा गोन्पा विद्यालयहरू नेपाल सरकार, जिल्ला शिक्षा कार्यालयबाट अनुमति वा स्वीकृति प्राप्त गरी अध्ययन, अध्यापन भैरहेको छ ।
धार्मिक प्रकृतिका विद्यालयहरूको परम्परागत मौलिक स्वरूपलाई कायम राख्दै पठन–पाठन, पाठ्यक्रम, पाठ्यपुस्तक, परीक्षा आदिलाई सुव्यवस्थित राख्न, शिक्षक दरवन्दी, राहत अनुदान, प्रति विद्यार्थी एकाई लागत अनुदान र भौतिक सुविधाको अभावबाट विद्यार्थीको पठन–पाठनमा पर्ने प्रभावलाई कम गर्नका लागि निर्देशिका अनुसार अनुमति तथा स्वीकृत प्राप्त गरेर अध्ययन, अध्यापन भैरहेका धार्मिक प्रकृतिका विद्यालयहरूलाई वार्षिक रुपमा एकमुष्ट अनुदान प्रदान गरिरहेको छ । जसमा आधारभूत तह अन्तर्गत कक्षा १–५ को हकमा प्रतिविद्यालय÷संस्थालाई बार्षिक रूपमा एकमुष्ट रू. १,६८,०००।– (एकलाख अठसठ्ठी हजार), आधारभूत तह अन्तर्गत कक्षा ६–८ को हकमा प्रति विद्यालयलाई बार्षिक रूपमा एकमुष्ट रू. १,८९,०००।– (एकलाख उनानन्बे हजार), माध्यमिक तह अन्तर्गत कक्षा ९–१० को हकमा प्रति विद्यालयलाई वार्षिक रूपमा एकमुष्ट रू. २,४५,०००।– (दुईलाख पैंतालिस हजार) अनुदान प्रदान गर्ने निर्देशिकामा उल्लेख गरी प्रदान गर्दै आएको छ ।